नेपाली समय: ११:५२:११ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल आउँदैः कनेक्टिभिटीमा युगीन सम्झौताको तयारी !

निर्माण सञ्चार, ३ असोज, ०७६, काठमाडौं । विगत झन्डै साँढे २ दशकदेखिको उच्चस्तरीय भ्रमणको शून्यतालाई चिर्दै चिनियाँ राष्ट्रपतिद्वारा नेपाल भ्रमण हुने भएको छ ।

चिनियाँ राष्ट्रपति सी निजपिङ दशैं लगतै अर्थात् असोज २७ गते नेपाल भ्रमणमा आउने पक्का भएको हो । दक्षिण एसिया अन्तर्गत भारत भ्रमण निस्कने राष्ट्रपति सी भारत भ्रमण पछि नेपाल आउने पक्का भएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

नेपाल हुँदै राष्ट्रपति सी बेइजिङ फर्कने कार्यक्रम रहेको छ । चीनबाट राष्ट्रपतीय स्तरको नेपाल भ्रमण २३ वर्षपछि हुने भएको हो ।

लामो अन्तरालमा हुन लागेको उक्त उच्चस्तरीय औपचारिक भ्रमणको तयारीका लागि नेपाली र चिनियाँ दुवै पक्ष तयारीमा जुटेका छन् । सुरक्षा संवेदनशीलताका कारण भ्रमणको मिति र तालिका औपचारिक रूपमा सार्वजनिक भने गरिएको छैन। 

राष्ट्रपति  सीको भ्रमणमा नेपाल र चीनबीच कनेक्टिभिटीमा युगीन सम्झौता हुने बताइएको छ । बहुचर्चित नेपाल र चीन जोड्ने रेलमार्गमा पहिलो पटक औपचारिक सहमति गर्ने तयारीमा नेपाल पक्ष जुटेको छ ।

मात्र २ दिनका लागि नेपाल आउन लागेका सीको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्ग लगायत विभिन्न विषयमा सम्झौता हुने भएको छ ।

०००

सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जाने छन् । मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने पक्का भएको स्रोतको दाबी छ ।

सीको भ्रमण तयारीका लागि भ्रमण पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख टोली सहित नेपाल आउँदैछ । 
केही दिन अघि मात्र भएको चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण क्रममा छलफल भएको काठमाडौं केरुङ रेल मदनभण्डारी विश्वविद्यालय आदि विषयहरु नेपालका तर्फबाट किस्तीका रुपमा सजाइने तयारी छ ।


०००



प्रकाशित: २०७६ आश्विन ३
September 20th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार