नेपाली समय: ११:४९:४० राती
वि.सं २०७६ कार्तिक २   शनिवार

ज्योति विहीनहरुका साथी सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

निर्माण सञ्चार, ५ भदौ, काठमाडौं । एसियामै ज्योति विहीनहरुका रोशनीका नामबाट चिनिएका वरिष्ठ आँखारोग विशेषज्ञ डा सन्दुक रुइत प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।

आइतबार राजधानीमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा रुइतलाई ५ लाख रुपियाँ राशीको उक्त पुरस्कार प्रदान गरेकी छन् ।

राष्ट्रिय प्रतिभा अनुदान सहयोग चाहिँ रदी मिया र विकल्प ढुंगानालाई प्रदान गरिएको छ । जनही २ लाख ५० हजार रुपियाँको उक्त सहयोग राशि उनीहरुको प्रतिभालाई सम्मानका लागि दिइएको हो ।

सरकारले गत भदौ अन्तिम साता यो पुरस्कार दिने निर्णय गरेको थियो ।

डाक्टर रुइतले एक लाखभन्दा बढी मोतियाबिन्दुका बिरामीको आँखाको ज्योति फर्काएका छन् । सस्तो मूल्यमा गुणस्तरीय लेन्स ७० भन्दा बढी देशहरुमा पुर्‍याएर मोतियाबिन्दुबाट हुने अन्धोपना निवारणका लागि महत्वपूर्ण भूमिका निभाएका डा रुइत नेतृत्वको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वकै नमुना आँखा अस्पताल मानिन्छ ।

मोतियाबिन्दुले ज्योति गुमाएका मानिसका लागि सस्तोमा लेन्स (इन्ट्रा अकूलर लेन्स ‘आईओएल’) उपलब्ध गराएर ज्योति फर्काउने कार्यका लागि विश्वमा प्रसिद्धि कमाएका यी चिकित्सकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका पनि छन् ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार पछि राष्ट्रपति भण्डारीसँग डा रुइत 

०००



प्रकाशित: २०७६ आश्विन ५
September 22nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार