नेपाली समय: ११:५०:४५ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

तल्लो अरुणका लागि प्रस्तावक ३ कम्पनी कसरी परे सर्टलिस्टमाः २ महिनाभित्र प्रस्ताव माग्ने कस्तो छ तयारी ?

निर्माण सञ्चार, ७ भदौ, काठमाडौं । लगानी बोर्डले दूरगामी महत्त्व राख्ने पूर्वाधार विकास सम्बन्धी विभिन्न निर्णयहरु लिएको छ । ६ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव गरेका ३ कम्पनीहरुलाई सर्टलिस्टमा राख्दै आउने २ महिनाभित्र परियोजना प्रस्ताव माग्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको बोर्डको ४० औं वैठकले यस्तो निर्णय गरेको बोर्डले जानकारी दियो ।

गत लगानी सम्मेलनमा तोकिएको मापदण्ड पूरा गर्दै केही नेपाली कम्पनीसँगै ती कम्पनीहरु संयुक्त उपक्रम आशयपत्र सहित पेस भएका थिए ।

छनोट सूचीमा पर्नेमा चीन, जापान र भारतीय कम्पनीहरु रहेका छन् । छनोट सूचीमा परेका कम्पनीहरू मध्ये नेपालको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) सँगको संयुक्त उपक्रममा चीनको पावर कन्स्ट्रक्सन अफ चाइना, भारतको सतलज जलविद्युत निगम (एसजेभीएन) परेका छन् ।

त्यस्तै, नेपालको ग्रिन रिसोर्सेस प्रालिसँगको उपक्रममा जापानको इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी (जे पावर) परेको छ । 

संक्षिप्त सूचीमा राख्ने मितिबाट सुरु गरेर ४५ दिनभित्र कम्पनीहरूलाई आरएफपी (रिक्वेस्ट फर प्रोपोजल) दिने र ६० दिनभित्र उनीहरूबाट प्रस्ताव संकलन गर्ने निर्णय बोर्डले गरेको छ ।

सतलज ९ सय मेगावाट क्षमताको अरुण–३ निर्माण गरिरहेको भारतीय कम्पनी हो । भारतीय कम्पनीले यो आयोजनामा विशेष चासो लिदै आएको थियो । उच्चस्तरीय भ्रमणहरुमा भारतले पटक पटक तल्लो अरुण निर्माणका लागि आफूहरुलाई नै दिन आग्रह गर्दै आएको थियो। 

बोर्ड अनुसार अरुण–३ मा सतलजले निशुल्क विद्युत ( सम्झौता अनुसार अरुणमा २१.९ प्रतिशत निःशुल्क विद्युत दिने छ) दिने सर्त अघि सार्दै सोही निर्माण कम्पनीलाई आयोजना दिने सकिनेबारे छलपल भइरहेको छ ,

छानिएका ३ कम्पनी मध्ये जसले बढी सरकारलाई फाइदा दिन सक्छ उसैलाई आयोजना दिने गरी छलफल भइरहेको स्रोत बताउँछ ।

यसबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनामा लगानी खोज्ने जिम्मा एचआइडिसिएललाई दिएको थियो । 

एचआइडिसिएलले चीन तथा अमेरिकाबाट लगानी ल्याउनेबारे प्रक्रिया पनि सुरु गरेको थियो । 

एचआइडिसिएल तमोर जलाशय निर्माण गर्न पावर चाइनासँग सहकार्य गरेर अघि बढेकाले तल्लो अरुणमा पनि कम्पनीले विशेष रुची देखाएको छ । 

एचआइडिसिएलले यसअघि आयोजनाका लागि अमेरिकाको डबल ट्री नामक बैंकसँग सहुलियत ऋण लिने प्रक्रिया अघि बढाएको थियो । 


आयोजनामा ५१ प्रतिशत विदेशी र ४९ प्रतिशत स्वदेशी लगानी गर्ने गरी मोडालिटीबारे छलफल भएको छ । 

सन् २०१७ को जुलाई महिनाको प्रारम्भिक अध्ययनअनुसार आयोजनाको लागत १।३ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ । 

अहिले विद्युत विकास विभागले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको छ । 

सोमबारको बोर्ड वैठकले पश्चिम सेती तथा एसआर ६ छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलग अलग समिति पनि गठन गरेको छ ।


०००



प्रकाशित: २०७६ आश्विन ७
September 24th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार