नेपाली समय: ११:५८:३५ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

अक्टोबर क्रान्ति मनाउँदै गर्दा चीनले बनायो विश्वकै ठूलो विमानस्थलः ‘स्टारफिस’ ९८ फुटबल मैदान जत्रो !

निर्माण सञ्चार, ९ असोज, काठमाडौं ।  चीनमा स्टारफिस आकारको विशाल विमानस्थल बुधबारदेखि सञ्चालनमा आएको छ । चीनको ७० औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बेइजिङमा ११ अर्ब डलर खर्च गरेर बनाइएको विशाल अन्तराष्ट्रिय विमानस्थल डासिङ विमानस्थल सञ्चालनमा आएको हो । चीनले अक्टोबर १ मा आफ्नो राष्ट्रिय दिवस मनाउँदै आएको छ ।

विश्वकै अदभूत नमुनाको रूपमा रहेको यो विशाल विमानस्थलका  संचालनमा आएको चीनको आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको छ। चीनका राष्ट्रपति सी जिन्पिङले बेइजिङस्थित डाशिङ अन्तर्राष्ट्रिय विमानस्थलको बुधवार औपचारिक उद्घाटन गरे।

उक्त विमानस्थल झन्डै सात लाख वर्गमिटर क्षेत्रमा फैलिएको चाइना डेलीले जनाएको छ। अर्थात् विमानस्थल ९८ वटा फुटबल मैदानजत्रो ठूलो छ। चीनको विमानस्थल परिषद्का अनुसार चीनमा विमानहरूको चाप बढेकाले नयाँ विमानस्थलको आवश्यकता भएको हो । डाशिङ विमानस्थलमा एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल भएको बताइन्छ ।

एअरपोर्ट काउन्सिलका अनुसार बेइजिङको पुरानो विमानस्थल विश्वकै दोस्रो अतिव्यस्त विमानस्थल हो। एट्लान्टा विमानस्थल व्यस्त विमानस्थलहरूको सूचीमा शीर्ष स्थानमा छ।

‘द ड्याक्सिङ विमानस्थल’ ले भनेको छ, ‘विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टर्मिनलमा सबैभन्दा ठूलो भवन निर्माण गरिएको छ, सन् २०२५ सम्म सहरबाट ठूलो संख्यामा यात्रुहरुलाई सेवा प्राप्त हुने अपेक्षा छ ।’ चिनियाँ सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ का अनुसार सात आन्तरिक विमानलाई तत्कालै नयाँ विमानस्थलबाट परिचालन गरिने कार्यक्रम छ । पहिलो उडान एउटा ‘चाइना सदर्न एयरलाइन्स ए ३८०’ ले स्थानीय समयअनुसार १६ बजेर २३ मिनेटमा उडान भरेको छ । ब्रिटिस एयरवेज, क्याथे प्यासिफिक र फिनएयरसहित अन्तर्राष्ट्रिय यात्रुबाहक विमान कम्पनीहरुले पहिले नै ड्याक्सिङका लागि आफ्नो मार्ग घोषणा गरिसकेका छन् ।

नयाँ विमानस्थल जुन तियानमेन स्क्वायरबाट करिब ४६ किलोमिटर दक्षिणमा पर्छ । यसको डिजाइन प्रसिद्ध वास्तुकार जहा हदिदले गरेका थिए । विमानस्थलको उद्घाटनसँगै बेइजिङ सहर एउटा यस्तो समूहमा समावेश भएको छ, जसमा न्युयोर्क र लन्डन पनि पर्छ । यी सहरहरुमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुहरुले सेवा प्राप्त गरिरहेका छन् । सन् १९५८ मा खोलिएको ‘बेइजिङ क्यापिटल’ को उपयोग १० करोडभन्दा बढी यात्रुले उपयोग गरिसकेका छन् ।

नयाँ विमानस्थलका अधिकारीहरुका अनुसार सन् २०२५ सम्म ७ करोड २० लाख यात्रुलाई एउटै विशाल टर्मिनलमा ह्यान्डल गर्न सक्ने क्षमता ड्याक्सिङ विमानस्थलको हुने छ । निर्माण सुरु गरेको पाँच वर्षभित्रै यो विमानस्थल खुला गरिएको बेलायती अखबार ‘दी गार्जियन’ ले जनाएको छ । ‘पिपुल्स रिपब्लिक अफ चाइना’ को स्थापना दिवसको ७० औं राष्ट्रिय दिवसको तयारी भइरहेकै बेला राष्ट्रपति सीले मेगा विमानस्थलको सुरुवात गरेका हुन् । नयाँ विमानस्थल स्टारफिसको आकारमा निर्माण गरिएको छ । यो विमानस्थलको विशेषता भनेको यसमा चारवटा रनवे छन् ।

सन् २०४० सम्म यो विमानस्थललाई एक वर्षमा १० करोड यात्रुलाई सेवा दिने गरी आठवटा रनवेमा विस्तार गर्ने योजनासमेत रहेको ‘दी गार्जियन’ ले लेखेको छ । विमानस्थलमा ग्राहकलाई विमानसँग सम्बन्धित सबै जानकारी रोबोटबाटै दिने व्यवस्था गरिएको छ । यसमा अनुहारबाटै यात्रुको विवरणहरु जाँच गरिने छ । बेइजिङमा अर्को विमानस्थलको आवश्यताबारे धेरै पहिलेदेखि आवाज उठिरहेकोले ‘स्टारफिस’ को निर्माण गरिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । आर्थिक राजधानीका रूपमा रहेको हङकङमा महिनौंसम्म जारी गतिरोध अन्त्यका लागि चीनले अन्तर्राष्ट्रिय दबाबको समाना गर्नुपरे पनि निर्धारित समयभन्दा पहिले नै यो विमानस्थलको निर्माण कार्य सम्पन्न गरेको छ ।

 

 

000



प्रकाशित: २०७६ आश्विन १०
September 27th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार