नेपाली समय: ११:४३:२८ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

नवरात्र आरम्भः घटस्थापनाको साइत आइतबार बिहान १०ः३५- टीकाको साइत असोज २१ गते १०ः३५ सै बजे

निर्माण सञ्चार, ११ असोज, काठमाडौं । यो वर्षको घटस्थापना आश्विन शुक्ल प्रतिपदाको दिन बिहान १०ः ३५ बजे जुरेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले जनाए अनुसार असोज शुक्ल प्रतिपदा अर्थात् आइतबारका दिन बिहानको उक्त समय शुभ रहेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म गरी १५ दिन मनाइने उपासना तथा उल्लासको पर्व बडादशैँ आइतबारदेखि सुरु भएको छ । 

शक्तिका रुपमा दुर्गा भगवतीको उपासना गरी प्रसादका रुपमा दशैंघरको पहेँलो जमारा र निधारमा रातो टीका लगाएर विजया दशमीका दिनमा विजयोत्सव गर्ने परम्परा रहेको छ ।

मूलतः कृषि युग सुहाउँदो कृषि परम्परासँग पनि जोडिएको दुर्गा पूजा नेपालमा भने विशिष्ट तरिकाले मनाइने गरेको पाइन्छ ।

घटस्थापना 

बडादशैँको पहिलो दिन घर घरमा वैदिक विधि सहित पूजाआजा गरी घटस्थापना गरिन्छ । जसका लागि दियो, कलश र गणेश स्थापना सहित यो कार्य गरिन्छ ।

घटस्थापनाको शुभसाइत भने बिहान १०ः३५ बजेलाई जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका हुन् ।

जमारा राख्नेबारे 

गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ । 

नौ दिनका नौवटा देवीको पूजा 

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । 

बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

दशौं दिनका दिन जौको अङ्कुर दुर्गा देवीको प्रसादका रुपमा विजया दशमीको दिन टीका प्रसाद लगाइन्छ । ठूलाका हातबाट आशिर्वाद सहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । 

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । 

दुर्गाका तीन स्वरुपः महाकाली, महालक्ष्मी महासरस्वती

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ । 

महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य एवं महासरस्वतीलाई विद्या तथा वुद्धिको प्रतीकको रुपमा लिइ पूजा गर्ने चलन छ । 

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुने गरेको हो ।

कति बजे छ टीका साइत ?

यो वर्ष विजया दशमीको दिन असोज २१ गते छ । मङ्गलबार रहेको यस दिनमा बिहान ८ः ४५ बजे देवी विसर्जन गर्ने साइत रहेको छ । त्यस्तै, दुर्गा विसर्जन वा उठाएपछि १०ः३५ को शुभ साइतमा मान्यजनबाट टीका, जमरा र फूल प्रसाद ग्रहण गर्न सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।


०००



प्रकाशित: २०७६ आश्विन ११
September 28th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार