नेपाली समय: ११:१०:३४ बिहान
वि.सं २०७६ मंसिर २९   आइतबार

उपत्यकामै कमजोर भूकम्पपछिको पुनःनिर्माण

निर्माण सञ्चार, १२ असोज, काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणले अपेक्षाकृत गति लिन नसकेको पाइएको छ। देशको राजधानी काठमाडौंसहित उपत्यकामै लक्ष्यअनुसार काम नभएको पाइएको हो।

उपत्यकाभन्दा बाहिरका जिल्लामा पुनःनिर्माणले गति लिएको भए पनि उपत्यकामा सबैभन्दा कमजोर पाइएको हो। उपत्यकाबाहिर ८५ प्रतिशतसम्म काम भएको बताइँरहदा उपत्यकामा भने ३४ प्रतिशतको हाराहारीमा मात्रै काम भएको पाइएको हो। 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार उपत्यका तीन जिल्लामा हालसम्म ३१ हजार ४ सय ३० जनाले मात्रै तेस्रो किस्ताबापतको रकम लिएका छन् ।प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार काठमाडौँ जिल्लामा कूल लाभग्राहीको सङ्ख्या ४७ हजार ६६४ रहेकामा ४१ हजार ७२८ ले अनुदान सम्झौता गरेका थिए । अनुदान सम्झौता गरेकामध्ये आधाभन्दा कम अर्थात् ३० प्रतिशत जतिले मात्रै दोस्रो किस्ताबापतको रकम लिएका छन् ।

प्राधिकरणका अनुसार कूल १७ हजार ७८३ घरधनीले मात्रै दोस्रो किस्ताबापतको रकम लिएका हुन् । तेस्रो किस्ता लिनेको सङ्ख्या भने १४ हजार ७२ मात्रै रहेका छन् ।
यस्तै ललितपुरमा ‘गोरखा भूकम्प’ का कारण प्रभावित हुने लाभग्राहीको सङ्ख्या २८ हजार ४६३ रहेकामा अनुदान सम्झौता गर्नेमा २५ हजार ५४ रहेका छन् । पहिलो किस्ता सङ्ख्या २४ हजार ९२८ छ भने दोस्रो किस्ता ११ हजार १४७ घरधनीले मात्रै लिएका छन् ।

त्यस्तै तेस्रो किस्ता लिनको सङ्ख्या मात्रै आठ हजार ७०० रहेको छ ।भक्तपुरको अवस्था पनि त्यस्तै रहेको छ । भक्तपुरमा कूल २८ हजार ४२६ जना लाभग्राहीको सूचीमा रहेका छन् । सो सूचीमा समावेश भएकामध्ये २४ हजार ५५१ ले पहिलो किस्ता, आठ हजार ७५९ ले दोस्रो किस्ता र आठ हजार ६५८ ले मात्रै तेस्रो किस्ताबापतको रकम लिएका छन् । उपत्यकाभित्र एक लाख चार हजार ५५३ लाभग्राही रहेकामा ९१ हजार ३३३ ले अनुदान स्म्झौता गरेका थिए ।

त्यस्तै ९१ हजार २०७ ले पहिलो किस्ता लिएकामा ३७ हजार ६८९ ले दोस्रो किस्ता लिँदा तेस्रो किस्ता लिनेको सङ्ख्या मात्रै ३१ हजार ४३० रहेका छन् । प्रतिशतका आधारमा हेर्ने हो भने कूल ८७ दशमलव ३६ प्रतिशतले अनुदान सम्झौता गरेकामा ९९।८ प्रतिशतले पहिलो किस्ता लिए । दोस्रो किस्ता लिने ४१ दशमलव २६ र तेस्रो किस्ता लिने ३४ दशमलव ४१ प्रतिशत रहेको छ ।

प्राधिकरणको विवरणअनुसार काठमाडौँमा २२ हजार ५८७ ले मात्रै घर निर्माणको काम शुरु गरेका छन् । घर निर्माण सम्पन्न गर्नेमा ११ हजार ९७१ छन् भने घर पुनःनिर्माण गर्दै गरेकामा मात्रै १० हजार ६१६ रहेका छन् ।

उता ललितपुरमा १२ हजार १३८ ले घर निर्माण शुरु गर्दा, पाँच हजार ३९२ ले निर्माण सम्पन्न गरेका छन् । त्यस्तै भक्तपुरमा ११ हजार ७०८ ले घर निर्माण शुरु गरेका छन् । आठ हजार ४०२ ले घर निर्माण सम्पन्न गर्दा तीन हजार २८८ ले घर पुनःनिर्माण गर्दै गरेको अवस्था रहेको छ ।

भूकम्प अति प्रभावित १४ जिल्लाका आधारमा हेर्दा अनुदान सम्झौता गर्ने ९५ प्रतिशत रहेका छन् । यस्तै पहिलो कित्ता लिने ९९ प्रतिशत, दोस्रो किस्ता ७८ प्रतिशतले लिँदा तेस्रो किस्ता समेत ६४ प्रतिशतले लिएका छन् । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार शहरी क्षेत्रको पुनःनिर्माण अपेक्षाकृत ढङ्गले अगाडि बढ्न सकेको छैन । समयमै पुनःनिर्माण सम्पन्न गर्न उपत्यकाको पुनःनिर्माणको चुनौतीका रुपमा रहेको छ ।

 

 

000



प्रकाशित: २०७६ आश्विन १२
September 29th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार