नेपाली समय: ०१:३४:११ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

हातमा लाठी मुङ्ग्री लिएका नेकपा कार्यकर्ताले काँग्रेस नेता रिजालमाथि गरे आक्रमणको प्रयास !

निर्माण सञ्चार, १२ असोज १२, काठमाडौं । तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटन गर्न सदरमुकाम दमौलीबाट रिसिङ जाँदै गर्दा काँग्रेस नेता मीनेन्द्र रिजालमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद डा रिजालले आफूमाथि सत्तारुढ दल नेकपा कार्यकर्ताले आक्रमणको प्रयास गरेको भन्दै पञ्चायती मण्डले शैलीमा नेकपा कार्यकर्ताले आफूमाथि जबरजस्ती गरेको आरोप लगाए ।

गाउँपालिका भवन निर्माण स्थल सहमतिमै तोकिनु पर्ने माग गरेका नेकपा कार्यकर्ताहरुले कार्यक्रममा भने हातमा लाठी मुङ्ग्री नै लिएर अवरोध गरेका थिए ।

घटनाको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले रिजालमाथि आक्रमण प्रयासको निन्दा गरेका छन् ।

सो भवन उद्घाटन कार्यक्रममा जान नदिन नेकपाका कार्यकर्ताहरुले बाटोमा रुख ढालेका थिए भने ढुंगा राखेर अवरोध सिर्जना गरेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

नेता रिजालले पनि आफूमाथि नेकपा कार्यकर्ताद्वारा हतियार र लाठीले आक्रमणको प्रयास भएको बताएका छन् । 

उनले भने, ‘हतियार, ढुंगा, लाठीसहित आक्रमण गरे । साथीहरुले जोगाउनुभयो र बचियो । प्रहरी प्रशासनको आडमा उनीहरु आक्रमणमा उत्रिएको पाइयो !’

अवरोधका बीच काँग्रेसका स्थानीय नेता–कार्यकर्ताको साथ लागेर नेता रिजाल कार्यक्रममा पुगेका थिए ।

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको उद्घाटन गर्ने निर्णय गरे पनि पछि काँग्रेस नेता रिजालबाट मात्र गराउने काम भएको अवरोधकर्ताहरुको आरोप छ ।

यसैबीच काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेर गाउँपालिका भवन उद्घाटनका लागि अतिथिलाई कुरेर बसेका जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा रिजाललाई अवरोध गरेको उल्लेख गरेका छन् । 

‘पञ्चायतका मण्डलेहरुको शैली अनुसरण गर्दै नेकपाका नेता–कार्यकर्ता फाँसीवादी र अधिनायकवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु’, उनले भनेका छन् ।


०००

 



प्रकाशित: २०७६ आश्विन १२
September 29th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार