नेपाली समय: ०६:२९:४० बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

२४ वटा विद्यालय पुनर्निर्माणका लागि त्रिपक्षीय समझदारी

महाभूकम्प २०७२ बाट क्षति पुगेका २४ वटा शैक्षिक संस्था निर्माणका लागि नर्वे सरकारबाट करिब ८० करोड रुपैयाँभन्दा बढी सहयोग आउने पक्का भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूनओपीएस) बीच ती विद्यालय पुनर्निर्माणका लागि समझदारी भएको हो ।

नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्ने भएका छन् ।

परियोजनाअन्तर्गत रामेछापमा १३, सिन्धुलीमा नौ तथा काठमाडौं र भक्तपुरमा एक/एक वटा विद्यालय पुनर्निर्माण हुने पुननिर्माण प्राधिकरणले जनाएको छ । जसमा १४४ वटा कक्षाकोठा रहनेछन् । अपांगमैत्री यी विद्यालयमा शौचालय र खानेपानीको सुविधा हुने बताइएको छ । विद्यालय पुनर्निर्माण भएपछि करिब ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुनेछन् । ती विद्यालय १४ मंसिर २०७८ सम्ममा बनिसक्नुपर्नेछ ।

समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव पीताम्बर घिमिरे, नर्वेजियन राजदूतावासका तर्फबाट नेपालका लागि राजदूत लास्से जोर्न जोहानेसे र यूनओपीएसका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालानानले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रमपछि नर्वे सरकार तथा यूनओपीएसलाई धन्यवाद दिँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजनाको समयमै सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरे । उनले प्राधिकरण भूकम्पपछिको पुनर्निर्माणमा विकास साझेदारसँग समन्वय तथा मिलेर काम गर्दै आएको र गर्न तयार रहेको पनि उल्लेख गरे ।

नर्वेका राजदूत जोहानेसेङले नर्वे सरकारको विद्यालय क्षेत्रप्रति दरिलो प्रतिबद्धता रहेको उल्लेख गर्दै भूकम्पबाट क्षति भएका विद्यालयको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण तथा यूनओपीएससँग साझेदारी गर्न पाउँदा गर्व लागेको बताए ।

त्यसैगरी, पुनर्निर्माण प्राधिकरणका योजना तथा बजेट व्यवस्थापन महाशाखा प्रमुख सहसचिव पीताम्बर घिमिरेले परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा योगदान गर्नुका साथै दुई देशबीचको सम्बन्धमा पनि नयाँ आयाम थप्ने बताए।

यूएनओपीएसका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालानानले पुनर्निर्माण प्राधिकरण र नर्वे सरकारसँग मिलेर विद्यालय पुनर्निर्माण गर्न पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा विद्यालय पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए ।

 

 

000



प्रकाशित: २०७६ आश्विन १६
October 3rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार