नेपाली समय: १२:१४:५२ am
वि.सं २०७६ मंसिर २१   शनिवार

किसानले नपाएको अनुदानको मल बजारमा बिक्री

निर्माण सञ्चार, १८ असोज, काठमाडौं । अनुदानको मल व्यापारीको हातमा परेको तथ्य फेला परेको छ। अनुदानमा दिन ल्याइएको मल बजारमा बिक्री भएको देखिएपछि यस्तो तथ्य बाहिरिएको हो।

मल वितरणको जिम्मेवारी लिएको सहकारी संस्थाले किसानलाई बेच्दा ५० रुपैयाँमात्रै नाफा तर बजारमा बेच्दा बोरामा ३ सय रुपैयाँसम्म नाफा पाउने भएकोले बजारमा बिक्री गरेको पाइएको हो। सहकारी संस्थाले वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडबाट युरिया प्रतिबोरा ७ सय र डीएपी २ हजार १ सय रुपैयाँमा लिने गरेका छन्।

पर्साको पोखरिया नगरपालिका–९ सेमरवारीबर्वाको ताजा कृषि सहकारी संस्थाले कृषि सामग्री कम्पनीबाट असोज २ गते खरिद गरेको एक सय बोरा युरिया मल जितपुर बजारका व्यापारीलाई बिक्री गरेको पुष्टि भएको छ।

सहकारीका अध्यक्ष ताज हुसेनले किसानलाई नदिएर बजारमा बिक्री गरेको स्विकारेका छन्। ‘गाउँमा किसानले मल नपाएको गुनासो आएपछि संस्थाका अध्यक्ष हुसेनलाई हामीले कार्यालयमा बोलायौं’, कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जका प्रमुख गोविन्दप्रसाद पराजुलीले भने, ‘सुरुमा त उनले आनाकानी गरे। केरकार गर्दा व्यापारीलाई बिक्री गरेको स्विकारे।’ अनुदानको मल व्यापारीलाई बिक्री गरेको पुष्टि भएपछि उक्त सहकारीलाई मल दिन बन्द गरिएको पराजुलीको भनाइ छ।

जिल्लाका विभिन्न सहकारीलाई कृषि सामग्री कम्पनी लिमिटेडले किसानलाई अनुदानको मल सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ। कार्यालयबाट सरकारी अनुदानको मल लगेका कृषि सहकारी संस्थाले किसानलाई बेचेको विवरण सम्बन्धित वडाध्यक्षबाट प्रमाणीकरण गरेपछि मात्र अर्को पटक सहकारी संस्थालाई वितरण गरिन्छ।

कृषि सामाग्री कम्पनीले कृषि सहकारी संस्थालाई युरिया मल प्रतिबोरा ७ सय र डीएपी २ हजार १ सय रुपैयाँमा बिक्री गर्छ। कृषि सहकारी संस्थाले भने किसानलाई युरिया मल बोराको अधिकतम ८ सय र डीएपी अधिकतम २ हजार २ सय रुपैयाँमा बिक्री गर्नुपर्ने प्रावधान छ।

पर्साका केही कृषि सहकारी संस्थाले कृषि सामग्री कम्पनीबाट खरिद गरेर लगेको मल आफ्नो कार्य क्षेत्रका किसानलाई बिक्री नगरी बाराको जितपुर बजारमा बेच्दै आएका छन्।

कृषि सामग्री कम्पनीको तथ्यांकअनुसार पर्साका किसानलाई वितरण गर्न भन्दै सहकारी सस्ंथाले भदौ २९ देखि असोज ४ गते सम्म १९ हजार ५ सय ५० बोरा ९९ हजार ७ सय ७५ क्विन्टल युरिया लगिसकेका छन्। डीएपी मल भने ५ सय ७० बोरा २ सय ८५ क्विन्टल वितरण गरिएको छ।

किसानबाट मल नपाएको गुनासो आउन थालेपछि वितरण प्रक्रियामा अहिले थप कडाइ गरिएको कार्यालय प्रमुख पराजुलीले बताए।

 

 

000



प्रकाशित: २०७६ आश्विन १८
October 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार