नेपाली समय: ११:५६:२५ राती
वि.सं २०७६ मंसिर २०   शुक्रवार

नेपालगञ्ज विकासको प्रक्रियामा गइसकेको छः मुख्यमन्त्री पोखरेल

निर्माण सञ्चार, १९ असोज, काठमाडौं ।  नेपालगञ्जलाई औद्योगिक शहरका रुपमा विकास गरिने भएको छ। प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगञ्जको विकासका लागि सरकारले विशेष पहल गर्ने प्रतिवद्दता जनाए।

शनिबार नवनिर्मित बसपार्कको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘केही सरकारी कार्यालय विस्थापन हुँदैमा नेपालगञ्जको विकासको गति रोकिँदैन, नेपालगञ्ज विकासको प्रक्रियामा गइसकेको छ, अहिलेको अवस्था निरासाजनक अवस्था हुँदै होइन, हाम्रो सोच मात्रै निरासाजनक भएको हो।”

उनले अगाडि भने, “सरकारी कार्यालयका कारणमात्रै शहरको विकास होइन, शहरका कारण पनि सरकारी कार्यालयको उपस्थिति हुने गर्दछ, नेपालगञ्ज त्यस्तै शहरमा पर्दछ ।”

उनले नेपालगञ्जको विकास प्रक्रियाबारे नकारात्मक टिप्पणी र आलोचना गर्नु गलत हुने उल्लेख गरे ।

प्रदेश सरकारले विकासको लय समातेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले निरासावादी मनोवृत्तिले समाजलाई बदल्न नसकिने भएकाले यो नीति समाजमा नेतृत्व गर्ने नीति नभएको बताए ।

प्रदेश नं ५ सातवटै प्रदेशमध्ये कानून र योजना बनाउने सवालमा अग्रणी रहेको उल्लेख गर्दै उनले कुल गार्हस्थ्य वृद्धि दरका हिसावले सबैभन्दा माथि रहेको दाबी गरे ।

उनले नेपालगञ्जमा काठमाडौँ पछिकै आधुनिक र भव्य संरचनासहितको बसपार्क सञ्चालनमा आएकामा खुशी व्यक्त गर्दै यसको संरक्षण र सम्वद्र्धनमा कमी हुन नदिन उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणालाई आग्रह गरे ।

 

 

000



प्रकाशित: २०७६ आश्विन १९
October 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार