नेपाली समय: ११:४२:५८ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

दशैँकाे माैका छाेपेर खुलामञ्चमा रातारात कालोपत्रे, 'स्थायी बसपार्क' बनाउने चलखेल

निर्माण सञ्चार, २० असोज, काठमाडौं । खुलामञ्चमा रातारात कालोपत्रे गर्नुलाई अभियन्ताहरूले 'स्थायी बसपार्क' बनाउने चलखेल भइरहेको बताएका छन्।

काठमाडौं महानगरपालिकाले छ महिना अस्थायी बसपार्क सञ्चालन गर्ने भनेको उक्त खुलामञ्चमा रातारात कालोपत्रे हुनाले भूमाफियाको ठुलै चलखेल भइरहेको खुलामञ्च बचाउ अभियानका
अभियन्ताहरुको दाबी छ। यो निर्माण कार्य तत्काल नरोके चरणबद्ध आन्दोलनमा जाने उनीहरूले चेतावनी दिएका छन्।

६ महिनालाई भनेर सारेको बसपार्कमा कालोपत्रे गरी स्थायी रूप दिन खोजिएको खुलामञ्च बचाउ अभियानका अभियन्ता सुसन वैद्यले बताए।महानगरको यस्तो रवैयाले काठमाडौंको सास फेर्ने खुला सार्वजनिक स्थल सधैंका लागि मासिने भन्दै खुलामञ्च बचाउ अभियानले शनिबार राति विज्ञप्ति जारी गरी आन्दोलनको चेतावनी दिएको छ।

खुलामञ्चमा रातारात डोजर चलाएर सुरू गरिएको निर्माणकार्य तत्काल तत्काल बन्द नगरे जुनसुकै हदसम्म जान सकिने अभियन्ताहरूले बताएका छन्। आन्दोलन क्रममा भौतिक क्षति भए त्यसको सम्पूर्ण जिम्मा महानगरपालिकाको नै हुने जारी  विज्ञप्तिमा उल्लेख छ।

'खुलामञ्च तीन करोड नेपालीको साझा धरोहर हो, कुनै व्यक्ति विशेषको आर्थिक लाभका लागि यसको दोहन हामीलाई स्वीकार्य छैन। खुलामञ्चमा बसपार्क वा अन्य कुनै भौतिक संरचना निर्माण गर्न दिने छैनौं,' विज्ञप्तिमा उल्लेख छ, 'अहिलेसम्म ठेकेदार कम्पनीले भ्यू टावर निर्माण गरिसक्नुपर्नेमा खासै प्रगति देखाएका छैनन्। महानगरले सम्झौता रद्द गर्नुको साटो म्याद थप्दै जानुले महानगरको नेतृत्व वर्ग र कर्मचारी आर्थिक प्रलोभनमा डुबेका छन् भन्ने छर्लंग हुन्छ।'

काठमाडौं महानगरले दसैंको मौका छोपेर खुलामञ्च कालोपत्रे गर्न रातारात डोजर चलाउन थालेको हो। शनिबार साँझ सात बजे खुलामञ्च पुग्दा अस्थायी बसपार्कलाई बाहिरबाट नदेखिने गरी जस्ताले बारिएको थियो। ग्रिलबाट हेर्दा भित्र एउटा डोजर चलिरहेको थियो। आठ/दस जना मजदुर धमाधम खन्दै थिए।

हामीले यसबारे महानगरका सूचना अधिकारी वसन्त आचार्यसँग कुरा गर्दा उनले खुलामञ्चमा रहेको बसपार्कमा कालोपत्रे सुरू गरिएको स्वीकार गरेका थिए। दसैं बेला भीडभाड कम हुने भएकाले यति बेला काम गर्न सजिलो हुने उनको भनाइ छ। ‘यहाँ सडक पिच नभएर धुँवाधूलो उड्यो, वातावरणलाई नै असर पुगिरहेको थियो। त्यही भएर पिच गर्न लागेका हौं,’ उनले भने।

पहिले यो सबैका लागि खुला थियो, राजनीतिक तथा सामाजिक गतिविधि हुन्थे। महानगरपालिकाले पुरानो बसपार्कको जग्गा ‘व्यापारिक टावर’ बनाउन ठेक्का दिएपछि यो मञ्च पार्किङ स्थल बनेको छ।

यसअघि पनि खुलामञ्चमा ठेकेदार कम्पनीले व्यावसायिक सटर निर्माण गरेर भाडामा दिई अतिक्रमण गरेको थियो। महानगरले त्यो बेला आफूलाई कुनै जानकारी नभएको भन्दै पन्छिएको थियो। चौतर्फी विरोधपछि महानगरले सटरहरू हटाएको थियो।

पुरानो बसपार्कमा 'भ्यू टावर' बनाउने भन्दै महानगरले खुलामञ्चमा अस्थायी बसपार्क सारेको थियो। ठेकेदारले टावर बनाउने काम सुरू नै नगरी अलपत्र छाडेको छ। यता खुलामञ्चमा भने अतिक्रमण रोकिएको छैन। 

 

OOO

पढौं यो पनि

‘खुलामञ्चमा मनोज भेटवाल प्रकरणः किन गुड्यो गाडी आलो ढलानमाथि?



प्रकाशित: २०७६ आश्विन २०
October 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार