नेपाली समय: ११:४३:०७ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

‘दशैं नेपालीहरुको साझा पर्व बनेको छः सबै जातिले यसलाई समृद्ध बनाएका हुन्’– संस्कृतिविद्

निर्माण सञ्चार, २० असोज, काठमाडौं । २०७६ सालको वडा दशैं पर्व हर्षउल्लासका साथ नेपालीहरु मनाइरहेका छन् । सबैले सामाजिक सञ्जालदेखि टोलिफोन, इमले जस्ता प्रविधि मार्फत् पनि शुभकामना साटिरहेका छन् ।

वितग भन्दा यसपटकको दशैंमा फरक कुरा पनि देखिएको छ । त्यो हो मानिसहरु पर्वहरुबारे फरक फरक तर्कना र धारणाहरु पनि राखिरहेका छन् । आफ्नो संस्कृतिको जग कस्तो थियो, कसरी विकास भयो, हिजो कस्तो थियो र आज कस्तो छ भन्ने तुलना पनि नयाँ पुस्ताले गरिरहेको देखिन्छ । सामाजिक सञ्जालहरुमा यस्ता खाले बहसहरु पनि देखिएको छ ।

  • बहसः दशैं र संस्कृति

पर्वहरुसँग आफ्नो पहिचान, आफ्नो सभ्यतासँग यसको सम्बन्ध र भावी दिनमा यसलाई अझै सुन्दर गर्नेबारे जिज्ञासुहरु देखिन्छन् ।

यसै सन्दर्भमा नेपाली पर्वहरु र तिनको सांस्कृति मूल्यमान्यता, विकास र विकृतिहरुमा परिमार्जनबारे निर्माण मिडियाले विभिन्न सांस्कृतिक अभियन्ताहरुसँग परामर्श गरेको थियो ।

संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशी, संस्कृतिविद् तथा प्राज्ञ प्रा डा जगमान गुरुङ र साहित्यिक सांस्कृतिक अभियन्ता रामविनयसँग गरेको छलफलको अंश यहाँ प्रस्तुत गरिएको छ ।
...

दशैं पर्व तथा अन्य सांस्कृति चाडाबाडबारे शताब्दी पुरुष सत्यमोहन जोशी अत्यन्त मौलिक चिन्तन राख्ने अभियन्ता हुन् । उनले नेपालको मौलिकतामा आधारित धेरै सांस्कृतिक पक्षहरुको उजागर गरेका छन् ।

उनका अनुसार वडा दशैं नेपालीहरुको साझा र पुर्खाैली परम्परा हो । दशैं निर्माणमा एकै समुदाय र एकै जातिको मात्र योगदान नभएको उनको भनाइ छ । उनले दशैंमा उपासना र पूजा पक्ष ब्राह्मण जातिले, सांस्कृति सांगीतिक जस्ता पक्षहरु नेवार जातिले, पर्वको उत्थान र विकासमा द्रबिड तथा अन्य जनजाति समुदायले आआफ्नै ठाउँबाट पटक पटक गरी समृद्ध तुल्याएका छन् ।

यसैले दशैं समावेशी चाड हो । सबैको चाड हो ।

दसैंको मान्यता र विश्वासलाई नेपाली समुदायले कुनै न कुनै रूपमा आत्मसात गरिरहेको जोशी बताँउछन् । ‘दसैं सबै नेपालीका लागि प्रिय चाड हो, कतिपयले दसैं मनाउँदैनन् तर, दसैं नमान्नेले पनि दसैंमा सद्भाव राख्ने गर्छन्, जम्मा भएर शुभकामना दिन्छन्,’ जोशीले भने, ‘त्यसैले दसैं सबै समुदायका लागि समावेशी चाड हो ।’

  • दसैंप्रतिको मान्यता र विश्वास अटल
  • दसैंसँग शत्रुलाई समेत समेट्ने तागत
कुराकानीका क्रममा सत्यमोहनले नेपालबाहिर जन्मभूमि, कर्मभूमि र पितृभूमि भए तापनि नेपाली रहेकै नाताले बर्मामा रहेका नेपाली मूलका नेपाली भाषी पनि परपस्परमा शुभकामना दिएर दसैं मनाउने गरेको बताए ।

जहाँ, जो, जसरी रहे पनि पुख्र्यौली नाता नेपाली भएकाले यो चाड औधी खुसीका साथ मनाउने गरेको जोशीको भनाइ छ । त्यसैले दसैं हाम्रो पुख्र्यौली राष्ट्रिय चाड हो ।

‘२००७ सालपछि राष्ट्रप्रमुखले विजयादशमीको शुभकामना दिने चलन सुरु भयो । जसमा सबै नेपालीलाई सम्बोधन गरेर शुभकामना दिन थालियो,’ उनले स्मरण गर्दै भने ।

‘दसैंको तागत भनेको शत्रुलाई पनि समेट्न सक्नु हो । अघिपछि शत्रु भए पनि दसैंमा मान्यजनबाट टीका थाप्ने चलन छ । यस समयमा सबै वैमनस्यता बिर्सेर सुस्वास्थ्य, संवृद्धि र दीर्घायुको कामना गर्ने गरिन्छ । दुर्गादेवीको पूजा–आराधना गर्दै रमाइलो गर्ने गरिन्छ,’ जोशी भन्छन् ।


जोशीका अनुसार दसैंको मुख्य पक्ष जमरा हो । यसलाई शक्तिको प्रतीकका रूपमा प्रकृतिको पूजा गर्ने गरिन्छ । जमरा औषधिका रूपमा समेत प्रयोग हुन्छ । 

समुदायअनुसार रातो, सेतो र कालो टीका लगाउने चलन रहेको उनको भनाइ छ । जुन रूपमा भए पनि विभिन्न शैलीमा दसैं मनाउन चलने गरिन्छ । नेवार समुदायमा रातो, सेतो, डोरो र कालो टीका लगाउने चलन छ ।

मौलिक कथ्य दिँदै जगमान भन्छन्, ‘दशैं संस्कृति गण्डकी प्रदेशको देन हो’

डा जगमान गुरुङ नेपाली सांस्कृतिक पक्षहरुमा तुलानात्मक कसौटी सहितका अध्येता, अनुसन्धाता हुन् । उनले पनि शताब्दी पुरुष जोशीकै जस्तै दशैं पर्व नेपालका सबै जातजातिहरुको समिश्रणको उपज रहेको बताउँछन् ।

उनले दशैंबारे पछिल्लो नयाँ भनाइ अघि सारेको छन् । दशैंको सुरुआत द्रबिड जातिले गरेको थियो । मातृ प्रधान समाजमा देवीलाई शक्तिका रुपमा द्रबिड समुदायले दुर्गालाई स्थापना गरेको उनको भनाइ छ । 

पछि क्रमशः यसलाई वैदिक ज्ञान, यज्ञयागादि, उपासना आदि ब्राह्मण समुदायले गरे । यसलाई झनै समृद्ध र ज्ञानसँग जोड्ने बनाए । त्यस्तै अन्य जातजाति, मगर, आदि समुदायले पनि यसलाई थप समृद्ध गरे । उपत्यकाको मल्ल वा जनजाति समुदायले पनि फरक तरिकाको रंग भर्ने काम गरेका छन् ।

गण्डकी प्रदेशको देनका हकमा डा गुरुङले नयाँ तथ्य अघि सारेका हुन् । उनका अनुसार गण्डकी प्रदेशको दशैं नेपालकै उदाहरणीय दशैं हो । पुरानो सामन्तकालीन इतिहास नकोट्याइकन हाम्रो विषय पुरा हुँदैन । सामान्तकालीन इतिहासले हाम्रो पहिचानलाई पढाएको छ ।

गण्डकी प्रदेशका जिल्लामा पहिले शाह, खाँड, सेन लगायतका राजा थिए । तिनका कोटहरु अहिले पनि छन् । ती कोटहरुमा मगर पुजारी बाहुन पुरेत छन् । बाहुन भनेको तागाधारी जात, मगर भनेको मतवाली जात । 

यसरी मिलेर बसेका छन् । कोटहरुमा जहाँ काली स्थापना गरेको छ, त्यसलाई गुप्तकाली पनि भन्छन्, गुह्यकाली पनि भन्छन् । जहाँ गुप्तकाली स्थापना भएको छ । त्यहाँ मगर पुजारीबाहेक अरु पस्न पाइँदैन । 

त्यहाँ बाहुनहरु बाहिर बसेर, दुर्गा कवच, चण्डी, देवी भागवत पढ्ने हो । 

अर्को अचम्मको परम्परा के छ भने गण्डकीका कोटहरुमा कालरात्रीको मध्यरातमा मगर पुजारीले केराको पातमा भातीको जाँड पोको पारेर कालीलाई चडाउँछन् । 

मगर पुजारीले भातीको जाँड चढाएपछि बाहुन पुरेतले हरिओम तत्सत् भनेर संकल्प जप्छन् र कालरात्रीको भोग अर्थात बली चढाउन थालिन्छ । यस्तो किसिमको समन्वय छ ।

संस्कृतिका वैज्ञानिक पक्ष बोक्ने विकृति सुधार गर्ने हो– रामविनय

सांस्कृतिक अभियन्ता रामविनय साहित्यिक व्यक्तित्व पनि हुन् । उनका अनुसार नेपाली चाडबाडमा वैज्ञानिकता पनि छ । समयसँगै विकृतिहरु पनि घुसेका छन् । तिनलाई परिमार्जन गर्नु आजका चाडपर्व मनाउनेहरुको दायित्व पनि हो ।

उनले भने, ‘जन्मदेखि मृत्युपर्यन्त मानिसहरु संस्कृतिबाट उम्कन सक्तैनन् । किनकि यसमा संवेगात्मक पक्ष रहेको हुन्छ । जुन बलियो हुन्छ । विचार भन्दा संवेगात्मक भावना संस्कृतिको केन्द्र हो । यसले नै मानिस मानिस बीच भावनात्मक एकता पनि दिएको हुन्छ । यसलाई जोड्न सके राष्ट्र निर्माणमा बल पुग्छ । समृद्ध मुलुक बनाउन टेवा पुग्छ ।

त्यही सेतु नै राष्ट्रिय एकताको पनि सूत्र हुन सक्छ । नेपालका चाडहरु सामाजिक, सांस्कृति रुपले नेपाली समुदायहरुसँग नङ र मासु जस्तै मिलेर आएका छन् । तर, विभिन्न समयमा विभिन्न शासकहरुले आफूलाई केन्द्रमा राखेर पनि पर्वहरुमा विकृति घुसाएको पनि पाइन्छ । र, आजको नेपालमा उपभोक्तावादी विकृति घुसेकाले संस्कृतिहरुमा विकृति पनि देखापरेको छ । यसलाई समायनुकूल वैज्ञानिक बनाउने काम अब हाम्रो पुस्ताको हो ।’

०००
 



प्रकाशित: २०७६ आश्विन २०
October 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार