नेपाली समय: ११:५४:०१ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

चिनियाँ राष्ट्रपति शी आउँदा कर्णालीले के पाउँछ ?

निर्माण सञ्चार, २१ असोज, काठमाडौं । सुर्खेत दसैं लगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने लगभग पक्काजस्तै छ। काठमाडौंमा रातारात भएको श्रृङगारको कामले पनि उनको भ्रमणलाई सुनिश्चित गरेजस्तो देखिन्छ। यदपि शी आउने मिति भने यकिन भइसकेको छैन।

सीको नेपाल भ्रमण कुन विषयमा केन्द्रीत हुने भन्ने पक्का भइनसकेको भए पनि विभिन्न अडकलबाजी भने सुरु भएको छ। नेपालले विकास निर्माणका काममा चीनसँग कसरी प्रस्तु हुने भन्ने तयारी पनि गरिरहेको छ।

कर्णालीको अपेक्षा र तयारी सीको भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा कर्णालीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने कर्णाली प्रदेशले जनाएको छ। चीनसँग मात्र सीमा जोडिएको कर्णालीले द्विपक्षीय समझदारीमा बढी लाभ आफूले पाउनुपर्ने भन्दै प्रदेश सरकारले उच्चस्तरीय ‘लबिइङ’ शुरु गरिसकेको छ ।

राष्ट्रपति सी भ्रमणका क्रममा विकास निर्माणसँग सम्बन्धित विषयले प्राथमिकता पाउने अवस्था सिर्जना भएमा कर्णाली सरकारले ‘लाइफलाइन’ का रुपमा अघि बढाउन खोजेको ‘सुर्खेत–हिल्सा दु्रतमार्ग’लाई समेट्न सङ्घीय सरकारसमक्ष प्रस्ताव गरेको हो ।

भ्रमणको मिति नजिकिँदै गर्दा कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठ लगायतको पटक–पटक ध्यानाकर्षण गराइसकेको जनाएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चिनियाँ राष्ट्रपति सीको भ्रमणका अवसरमा सुर्खेत–हिल्सा सडक र फुकोट कर्णाली जलविद्युत् आयोजनालाई समेट्न अनुरोध गरेको जानकारी दिए । कर्णालीको विकासका लागि उत्तरी छिमेकी मुलुक चीनसँग सहज यातायात सम्पर्क विस्तार गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।

चीन सरकारको स्वामित्वमा रहेको चाइना रेलवे इन्जिनीयरिङ इयुआन कम्पनी सिआरइसीले १० महीना लगाएर यस सडकको विस्तृत सम्भाव्यता अध्ययन पनि गरिसकेको छ । अध्ययनअनुसार ४०३ किलोमिटर दूरी रहेको सुर्खेत–हिल्सा सडक निर्माणका लागि रु ६४ अर्ब लागत तथा कम्तीमा ६ वर्षको समयवधि लाग्ने अनुमान गरिएको छ । सिआरइसीले स्थलगत र हवाई माध्यमबाट सर्भे गरेको थियो ।

यससम्बन्धी प्रतिवेदन सिआरइसीले प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले राष्ट्रपति सी चीनको मात्र नभई विश्वकै अग्रणी नेता भएकाले उनको भ्रमण अर्थपूर्ण हुने बताए।

“यो नियमित, कूटनीतिक भेटघाट होइन्, त्यसैले विश्वको शक्तिशाली अर्थतन्त्र भएको मुलुकका राष्ट्रप्रमुख नेपाल आउँदा लगानीका विषयहरु पनि उठ्न सक्छन्”, उनले भने “चीन आफ्नो विकास र प्रविधिमा छिमेकी नेपाललाई पनि जोड्न चाहन्छ ।”

सुर्खेत–हिल्सा सडकका सम्बन्धमा चिनियाँ अधिकारीहरुसँगको पटक–पटकको भेटघाटमा सहभागी प्रदेशसभा सदस्य रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो चीन भ्रमणमा समेत हिल्सा नाकालाई प्राथमिकता दिएकाले यसपटक मूर्तरुप लिन सक्ने विश्वास व्यक्त गरे।

कर्णाली प्रदेशसँगको नाका विस्तार एवं सञ्चालनमा चिनियाँ पक्ष सधैँ सकारात्मक रहेको आफूले पाएको उनले बताए। सुर्खेत–हिल्सा सडकलाई प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रममै प्रधानमन्त्री दु्रतमार्गका रुपमा निर्माण अघि बढाउने सङ्कल्प गरेको थियो ।

निर्माणबारे प्रारम्भिक समझदारी भएको थियो । यसपटक राष्ट्रपति सी भ्रमणका एजेन्डामा नेपाल सरकारका तर्फबाट यो सडकले प्राथमिकता पाउने कर्णाली सरकारले अपेक्षा राखेको छ ।

 

 

000



प्रकाशित: २०७६ आश्विन २१
October 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार