नेपाली समय: ११:४८:२७ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

प्रधानमन्त्री ओलीको गृहजिल्लामा बन्ने भयाे दक्षिण एसियाकै आधुनिक औद्योगिक पार्क

निर्माण सञ्चार, २१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क निर्माण हुने भएको छ। एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्यगिक पार्क चिनियाँ सहयोगमा निर्माण हुन लागेको हो।

चार चरणमा निर्माण सम्पन्न गरिने पार्कको पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर लगानी गरेर निर्माण कार्य हुनेछ। सो औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने चिनियाँ प्रतिनिधिमण्डलको दाबी छ।

औद्योगिक पार्क निर्माणका लागि नेपाल लगानी बोर्ड र दमक क्लिन इन्डस्ट्रियल पार्कबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम राखिएको सो पार्कका अध्यक्ष गोविन्द थापा र लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

औद्योगिक पार्क झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिको क्षेत्र ओगट्छ। ती ठाउँमा जग्गा प्राप्तिका सबै प्रक्रिया पूरा भएको र अब निर्माण थालिने निर्माण पक्षले जनाएको छ। चीनले अघि सारेको बेल्ट एन्ड रोड परियोजना अन्तर्गत नेपालमा बन्न लागेको यो पहिलो परियोजना हो।

चिनियाँ प्रतिनिधिमण्डलका नेता जोउ चेङ जीले शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सो औद्योगिक पार्क उद्योग र सहरको एकीकृत विकासको मोडलमा तयार पारिने बताए। उनले सो औद्योगिक पार्क दक्षिण एसियाको एकमात्र आधुनिक औद्योगिक क्षेत्रको रुपमा विकास हुने र औद्योगिक पार्क बनेपछि दसौं हजारले रोजगारी पाउने बताए।

औद्योगिक पार्क बनेपछि नेपालमा ठूलो परिमाणमा राजस्व वृद्धि हुने र समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त हुने बताए।लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले यो औद्योगिक पार्क निर्माणले नेपालको विकासमा ठूलो योगदान पुग्ने बताए।



प्रकाशित: २०७६ आश्विन २१
October 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार