नेपाली समय: ०२:३६:०९ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

चीनको सहयोगमा नौतले दरबार र नुवाकोट दरबार पुनःनिर्माणमा तीव्र गतिमा

निर्माण सञ्चार, २५ असोज, काठमाडाैँ । छिमेकी देश चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको काम तीव्र गतिमा अघि बढेको छ ।

चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो ।

सन् २०२२ मा सक्ने गरी सम्झौता भए पनि ८० प्रतिशत काम सकिएको पुनःनिर्माणमा प्राविधिक सहयोग गरिरहेको पुरातत्व विभागले जनाएको छ ।

पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरीवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको छ ।

विभागका निमित्त महानिर्देशक दामोदर गौतम दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटो गतिमा भइरहेको बताए ।

विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानोस्वरूपलाई नबिगारी क्षतिग्रस्त भागको प्रबलीकरण एवं संरक्षणको काम भइरहेको उनले सुनाए ।

करिब १६ करोड रूपियाँ लागतमा दरबार पुनःनिर्माण भइरहेको हो । दरबार पुनःनिर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास भएको थियो ।

नेपाल भ्रमणमा रहनुभएका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्तरूपमा दरबार पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो ।

दरबार विसं १८२६ मा पृथ्वीनारायण शाहले निर्माण गराउनुभएको थियो ।

नुवाकोट दरबार पुनःनिर्माणमा पनि चीनको सहयोग

चीनले नुवाकोटको साततले दरबारको पुनःनिर्माणमा पनि सहयोग गरेको छ । नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणका लागि हाल अध्ययन भइरहेको छ । अध्ययनसँगै पुनःनिर्माणको काम पनि शुरु भएको विभागका निमित्त महानिर्देशक गौतमले बताए ।

नुवाकोट दरबार क्षेत्रका तलेजु भवानी मन्दिर, गारदघर, रङ्गमहललगायत सबै संरचना चीन सरकारले नै पुनःनिर्माण गरिदिने छ ।

नुवाकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत हुने गरी प्रक्रिया अघि बढेकाले चीन सरकारले पुरानोस्वरूपमै निर्माण गर्न लागेको विभागले जनाएको छ ।

 

 

000



प्रकाशित: २०७६ आश्विन २५
October 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार