नेपाली समय: ०२:०९:२२ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

स्रोत बाँडफाँडका विषयमा दुई नगरपालिकाबीच विवाद

निर्माण सञ्चार, २७ असोज, काठमाडौं । महाकाली नदीको स्रोत बाँडफाँटका विषयमा दुई स्थाीय तहबीच विवाद देखिएको छ। भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाबीच उत्खननबापत संकलन हुने राजस्वमा विवाद उत्पन्न भएपछि निर्माण सामग्री उत्खनन्मा छुट्टाछुट्टै ठेक्का लगाइने भएको छ । 

महाकालीले ५० प्रतिशत हिस्सा दाबी गरेकोमा भीमदत्तले आफ्नो क्षेत्रमा बढी संकलन हुने भन्दै ३० प्रतिशतभन्दा दिन नसकिने अडान लिएपछि विवाद उत्पन्न भएको हो। 

भीमदत्तले करिब ४ करोडमा ठेक्का दिएपछि महाकालीले पनि छुट्टै ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको हो । प्रदेश सरकारले आवश्यक पहल नगरे ठेक्का प्रक्रिया अघि बढाइने महाकालीका प्रवक्ता दिलबहादुर सिंजालीले बताए ।

उत्खननबाट संकलन हुने राजस्व बाँडफाँटमै सहमति हुन नसकेपछि गत वर्ष पनि दुवै स्थानीय तहले आफ्नै कर्मचारी खटाएर रोयल्टी संकलन गरेका थिए । ‘सीमा नदी भएकाले राजस्व बराबर पाउनुपर्ने माग राखेका हौं,’ सिंजालीले भने, ‘तर भीमदत्त नगरपालिकाले आफ्नो क्षेत्रबाट बढी संकलन हुने र अन्य स्रोतसाधन पनि बढी प्रयोग हुने भएकाले बराबर दिन नसकिने अडान लिएको छ ।’

उनले पछिल्लोपटक ४० प्रतिशत माग गरिएको र त्यसमा पनि भीमदत्तले सहमति नजनाएको बताए । यसअघि दुवै नगरले राजस्व बांँडफाँटमा सहमति जुटाउन नदी किनारका वडाध्यक्ष सम्मिलित कार्यदलसमेत गठन गरेका थिए । कार्यदलले बराबर राजस्व बाड्ने सहमति गरेको भए पनि कार्यपालिकाले उक्त सहमति स्वीकृत गरेन। 

बढीजसो स्रोतसाधन भीमदत्तकै क्षेत्रमा रहेकाले राजस्व संकलन पनि यतैबाट बढी हुने भीमदत्त १६ का वडाध्यक्ष हिमाल चन्दको छ।महाकाली नदीमा मापदण्डविपरीत उत्खनन्मा प्रयोग गरिएका तीन एक्स्काभेटर र टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ ।

भीमदत्त नगरपालिका १३, झोलुंगे पुल नजिकै शनिबार निर्माण सामग्री उत्खनन गरिरहेको अवस्थामा तिनका चालकसमेत पक्राउ परेका हुन् । स्काभेटर चालक प्रहरी नियन्त्रणमै भए पनि टिप्पर चालकलाई पुनः मापदण्डविपरीत उत्खनन नगर्ने सर्तमा छाडिएको प्रहरीले जनाएको छ।

निर्माण सामग्री उत्खनन्का लागि नदी किनारका भीमदत्त र महाकाली नगरपालिकाले निर्देशिका तयार गरेका छन् ।



प्रकाशित: २०७६ आश्विन २७
October 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार