नेपाली समय: ०५:३२:२२ बिहान
वि.सं २०७६ मंसिर ४   बुधवार

सरकार छोड्ने बाबुरामको चेतावनी

निर्माण सञ्चार, २ कात्तिक, ०७६, काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सरकार छोड्ने चेतावनी दिएका छन्। संविधान संशोधनका लागि सरकार तयार नभएको भन्दै आफूहरु सरकारमा बसिरहनुको औचित्य नभएको बताए।

संविधान संशोधनका लागि पार्टी सरकारमा सामेल भएको हो। उनले भने, संविधान संशोधन भएन भने हामी सरकारमा बस्दैनौं। गृहजिल्ला गोरखा पुगेर पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले आफूहरू सत्ताको साझेदारको रूपमा नभई संविधान संशोधनका लागि दुई तिहाइ पुर्‍याउन सरकारमा सामेल भएको पनि उल्लेख गरे।

‘प्रधानमन्त्रीले संविधान संशोधनको कुरा गर्नेलाई छेडखानी गर्नुहुन्छ। यो त दिनदिनै गाइरहने गीत हो भन्नुहुन्छ,’ उनले भने, ‘डेढ वर्ष भइसक्यो अब सरकारमा बसिराख्नुको औचित्य छैन, सरकार छाडेर जनताको बीचमा जान्छौं।’

पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय औपचारिक रूपमा गर्ने भट्टराईले बताए।



प्रकाशित: २०७६ कार्तिक २
October 19th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार