नेपाली समय: ०४:२५:३६ बिहान
वि.सं २०७६ मंसिर ४   बुधवार

सामाजिक सुरक्षा कोषमा देखिएन उत्साह, नआए कारबाही हुने

निर्माण सञ्चार, २ कात्तिक, ०७६, काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने समय सकिएको छ। तर, कोषमा दर्ता हुने रोजगारदाता कम्पनी तथा श्रमिकमा उत्साह भने देखिएको छैन।

सरकारले गत मंसिर ११ गते नयाँ युग भन्दै यो कर्यक्रमको घोषणा गरेको थियो। तर, कार्यक्रम घोषणा अघि नै मंसिर ६ देखि काठमाडौं उपत्यकामा रहेका सबै रोजगारदाता, श्रमिक र आपुर्तिकर्तालाई कोषमा कम्पनी दर्ता खुल्ला गरेको थियो।

प्रदेश तीनका अन्य जिल्लामा भने मंसिर १९ देखि दर्ता प्रकृया खुल्ला भएको थियो। यस्तै, प्रदेश १ मा पुसको सुरुवातदेखि र प्रदेश २ मा पुस १५ बाट दर्ता खुल्ला गरेको थियो। यी प्रदेशबाहेक गण्डकी र ५ नम्बर प्रदेशमा माघ १ तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका रोजगारदाताले माघ १५ गतेबाट मात्रै कोषमा कम्पनी दर्ता खुल्ला गरेको थियो।

कोषले दर्ता खुल्ला गरेको पहिलो तीन महिनाभित्रै सबै निजी कम्पनीमा काम गर्ने कामदार र रोजगारदाता कम्पनी सहभागी हुनुपर्ने बताएको थियो। तर, रोजगार दाता कम्पनीहरुले भने दोस्रो पटकको सयम सिमा सकिदा पनि खासै चासो देखाएनन्।

कोषकाअनुसार सरकारले दिएको सयम सिमा सकिदासम्म कोषमा १ लाख कामदार पनि कोष दर्ता भएका छैनन्। अहिलेसम्म जम्मा ९८ हजार ५ सय २७ जना श्रमिक कोषमा आबद्ध भएका कोषले जनाएको छ। यस्तै, ८ हजार ६ सय ५५ भन्दा बढी रोजगारदाता कम्पनी कोषमा सूचिकृत भएका छन्।

नआए कारबाही हुने

सामाजिक सुरक्षामा सामेल नहुने कारबाहीमा पर्ने भएका छन्। सरकारले सामाजिक सुरक्षामा नआउने प्रतिष्ठानलाई कारबाही गर्ने तयारी गरेको छ।

सरकारले दोस्रोपटक म्याद दिएर असोज मसान्तसम्म सूचीकृत हुन आह्वान गरेको थियो। तर अधिकांश प्रष्ठिानले सामाजिक सुरक्षामा सामेल हुन अटेर गरेका छन्।

सामाजिक सुरक्षा कोषका प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षामा सामेल नहुने प्रतिष्ठानलाई सरकारी सुविधाबाट बञ्चित गरिने जानकारी दिइन्।

कोषका अनुसार सञ्चारमाध्यम र बैंक सामेल भएका छैनन्। पछिल्लो समय चार पाँचवटा बैंक सामाजिक सुरक्षामा सामेल भए पनि सञ्चारमाध्यमले बेवस्ता गर्दै आएका छन्।
 



प्रकाशित: २०७६ कार्तिक २
October 19th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार