नेपाली समय: ०१:५२:२७ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

काष्ठमण्डप पुनर्निर्माण समितिले भन्यो– ‘काष्ठमण्डप पुनर्निर्माणको आधा काम सकियो’

निर्माण सञ्चार, ६ कात्तिक, काठमाडौं । काष्ठमण्डप पुनर्निर्माण समितिले काष्ठमण्डप पुनर्निर्माणको काम करिब आधा सकिएको जनाएको छ। पुनर्निर्माणको काम आधा सकिएको जानकारी समितिले सोमबार सार्वजनिक सुनुवाई गरी दिएको हो । 

पुनर्निर्माणका लागि रकम अभाव नभएको उपभोक्ता समितिका अध्यक्ष राजेश शाक्यले बताए ।उनका अनुसार काठमाडौं महानगरपालिकाले दिने भनेको साढे ५ करोड रुपैयाँमध्ये ३ करोडमात्र खर्च भएको छ। उपभोक्ता समितिका अनुसार २ बर्षभित्र काम सक्ने गरी काम भइरहेकामा काठ अभावले समस्या परेको छ । हालसम्म ४ हजार क्युफिट काठ उपयोग भइसकेको र अझै १२ हजार क्युफिट काठ आवश्यक रहेको छ।

सातौं शताब्दीमा निर्माण भएको मानिएको काष्ठमण्डप २०७२ को भूकम्पले क्षति पुगेपछि यस वर्षदेखि उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भइरहेको छ ।सम्पदा विज्ञ डा। सुर्दशन तिवारीले मन्दिर पुनर्निर्माण गर्दा पराम्परागत प्रविधिको प्रयोग गरी मन्दिरको पुनर्निर्माण भइरहेको बताए ।

उनले भने ‘इँटा बोक्ने, काठ ठड्याउने लगायतको काम पनि परम्परागत तरिकाबाट भएको हो ।’यसैगरी हनुमान ढोका हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले हाल प्रयोग भइरहेको परम्परागत प्रविधि एकदम राम्रो रहेको बताइन्।उनले परम्परागत प्रविधिले मन्दिरलाई नमुनाको रुपमा जिउँदो राख्न सकेको बताइन् ।



प्रकाशित: २०७६ कार्तिक ६
October 23rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार