नेपाली समय: १२:०३:४७ am
वि.सं २०७६ मंसिर २१   शनिवार

बन्दरगाहमा १५ सय कन्टेनर अड्किए

(पर्सा) — आयातकर्ताले समयमा मालबाहक कन्टेनर गन्तव्यमा नलग्दा यहाँस्थित सिर्सिया सुक्खा बन्दरगाहमा ठूलो संख्यामा कन्टेनर अड्किएका छन् । नेपाली आयातकर्ताले सिपिङ लाइन कम्पनीहरूले दिएको ‘फ्री टाइम’ दुरुपयोग गर्न थालेपछि यो समस्या बढेको हो ।

बिहीबारसम्ममा बन्दरगाहको यार्डमा मालबाहक १ हजार र खाली ५ सय गरी १ हजार ५ सय बढी कन्टेनर अड्किएर बसेको बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सका वित्त एवं सूचना अधिकृत अनिमेश कुमार बताउँछन् । ‘हालको अवस्थामा बन्दरगाहको यार्डमा १ हजार ५ सय बढी कन्टेनर अड्किएर बसेका छन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय सिपिङ लाइन कम्पनीहरूले आयातकर्तालाई दिएको ५ देखि २० दिनसम्मको फ्री टाइमको दुरुपोग गर्ने प्रवृत्ति बढेसँगै यो समस्या पनि चर्किंदै गएको हो ।’

दुई वर्षयता आधा दर्जन अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले सुक्खा बन्दरगाहमै कन्टेनर डेलिभरी दिन थालेपछि नेपाली आयातकर्ताले ठूलो राहत महसुस गरेका छन् । विगतमा सिपिङ लाइन कम्पनीहरूले भारतको कोलकाता, हल्दिया तथा विशाखापट्टनम् बन्दरगाहसम्म मात्र नेपाली आयातकर्ताको कन्टेनरको डेलिभरी दिन्थे । त्यहाँ आफ्ना भन्सार एजेन्टमार्फत कन्टेनर छुटाएर नेपालसम्म ल्याउनुपर्दा नेपाली आयातकर्तालाई महँगो पर्ने र विलम्ब शुल्कबापत ठूलो रकम सिपिङ लाइन कम्पनीहरूलाई बुझाउनुपर्थ्यो । हाल त्यो झन्झट रहेन ।

वीरगन्जमै कन्टेनर पाएपछि उनीहरूलाई मालवस्तु अनलोड गरी २१ दिनभित्र पुन: भारतीय बन्दरगाहमै खाली कन्टेनर पठाउनुपर्ने ‘डेडलाइन’ को अन्त्य भएको छ । यो समस्याविरुद्ध नेपाली आयातकर्ताले लामो समय लबिङ गरेर सिपिङ लाइन कम्पनीहरूलाई नेपाल (वीरगन्ज) सम्म आउन बाध्य बनाए तर हाल वीरगन्ज सुक्खा बन्दरगाहमै पाएको ५ देखि २० दिनको ‘फ्री टाइम’ को सदुपयोग गर्नु साटो नेपाली आयातकर्ताबाटै दुरुपयोग हुन थालेको छ ।

दुई वर्षअघि मर्क्स सिपिङ लाइन कम्पनीले नेपालमा श्रीवली सिपिङ लाइन कम्पनीलाई आफ्नो एजेन्ट नियुक्त गरी वीरगन्जसम्मै कन्टेनर डेलिभरीको सुविधा दिन थालेको हो । त्यसपछि अर्को सिपिङ लाइन कम्पनी एमएसीले नेपालको हनुमान रोडवेजलाई एजेन्ट बनाई यो सेवा दिन थालेको छ । यसबाहेक ट्रान्सवर्ल्ड सिपिङ लाइन कम्पनीले नेपालको एजीटी सिपिङ लाइन कम्पनीलाई तथा सीएमए, बीएलपीएल र एपिल गरी ३ वटा सिपिङ लाइन कम्पनीहरूले हाइवे रोडलाइन्स नेपाल प्रालिलाई एजेन्ट नियुक्त गरी वीरगन्जमै यो सेवा दिइरहेको छ ।

यस्ता एजेन्टले आयात निर्यातकर्ताबाट डेलिभरी अर्डर लिने र दिने तथा डेलिभरी अर्डरको भेलिडिटी (म्याद) छ कि छैन जस्ता सेवा उपलब्ध गराइरहेका छन् । जसले नेपाली आयातकर्ताको समय र पैसा दुवै जोगिन गएको छ ।
विगतमा कोलकाताबाट कन्टेनर आउन ढिलो हुने तथा गन्तव्यसम्म कन्टेनर लगेर मालवस्तु अनलोड गरी पुन: कोलकातासम्म कन्टेनर फिर्ता पठाउन नेपाली आयातकर्तालाई २१ दिनको ‘फ्री टाइम’ पनि अपुग हुन्थ्यो । यस्तो अवस्थामा उनीहरू सिपिङ लाइन कम्पनीहरूलाई दैनिक १ सय डलरसम्म पनि विलम्ब शुल्क तिर्न बाध्य हुन्थे ।

हाल भने मालबाहक कन्टेनर बन्दरगाहमा आएर रेलबाट अनलोड भई २ सातासम्म बन्दरगाहमै थन्किँदा पनि नेपाली आयातकर्तालाई ढिलो नहुने गरेको कुमार बताउँछन् । ‘हामी प्राय: पार्टीलाई ताकेता गरी आफ्नो कन्टेनर लग्न आग्रह पनि गर्छौ तर धेरैले अटेर गरेका हुन्छन्,’ उनी भन्छन्, ‘बन्दरगाहको यार्डमा तीन तलासम्म कन्टेनरको चाङ छ, खाली ठाउँ भेट्नै गाह्रो हुन थालेको छ, कन्टेनर बोक्ने उपकरणहरू घुमाउने ठाउँको पनि कमी हुन थालेको छ, यसरी त राजस्व र ठाउँ दुवै छेकिएको छ, आयातकर्ताहरू हामीले पार्किङ शुल्क तिरेकै छौं त भनी झारा टार्न खोज्छन् ।’

समयमा कन्टेनर खाली नहुँदा वीरगन्जबाट कोलकाता तथा विशाखापट्टनम्तर्फ फर्कने रेल्वे र्‍याकको तालिका पनि गडबड हुन जान्छ । खाली र्‍याक पठाउँदा महँगो पर्ने भएकाले कतिपय र्‍याक कन्टेनर कुरेर बस्ने र खाली जाने अवस्था पनि हुन्छ । बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ पनि सिपिङ लाइन कम्पनीहरूले वीरगन्जमै उपलब्ध गराएको ‘फ्री टाइम’ नै मुख्य समस्या भएको बताउँछन् । ‘आयातकर्ताले समयमा आफ्नो कन्टेनर नलगिदिँदा यहाँ भीडभाड त बढ्छ नै,’ उनले भने ।(कान्तिपुर दैनिकबाट)



प्रकाशित: २०७६ कार्तिक ८
October 25th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार