नेपाली समय: ०२:१३:०० बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

‘सहुलियत ऋण पाउने व्यवस्था सुनिश्चितता गर्छौं’

निर्माण सञ्चार, १४ कात्तिक, काठमाडाैँ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीलाई तीन प्रतिशत सहुलियतमा ऋण पाउने व्यवस्थाको सुनिश्चित गर्ने बताएका छन् ।

भूकम्प लाभग्राहीको समस्या र उनीहरुले निर्माण गरेको निजी आवासको अवस्था कस्तो छ भन्ने विषयमा बुधबार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा अर्थ मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, विश्व बैंकलगायतका संस्थाका प्रतिनिधिको उपस्थितिमा भएको अन्तक्र्रियामा उनले सहुलियत ऋणका विषयमा सरकार र बैंकसँग सहमति भइसकेको बताए ।

उनले भने, “विगतमा दूई प्रतिशत ऋण लिन पाउने व्यवस्थाको कुरा गरे पनि त्यो पूरा हुन सकेन । मैले कार्य जिम्मेवारी सम्हालेपछि तत्कालै सरकारसँग कुरा गरेर गरेको निर्णयअनुसार राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम ६ प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था भएको र त्यसमा दूई प्रतिशत थप गर्दा ८ प्रतिशत हुने र त्यसमा पाँच प्रतिशत सरकारले तिरीदिने गरी छलफल भइसकेको छ।”

उनले बैंकमा तिर्नुपर्ने पाँच प्रतिशत ब्याजदर रकम तिरिदिने विषयमा सहमति भइसकेको हुनाले ऋण लिनेको विवरण सङ्कलन गरी जिल्लामा छलफल गरी त्यसको टुङ्गो लगाउन सबै लाग्न आग्रह गरे । “जुन कुरा दिने भनेर प्रतिबद्धता जनाएको छ, त्यो काम पूरा गर्न प्राधिकरण प्रतिबद्ध छ”, उनले भने, “भविश्यमा पनि प्राधिकरण लाभग्राहीको बीचमा र नगरपालिकासँग बसेर काम गर्न चाहन्छ ।”

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सबैको सहयोगमा भूकम्प पुनःनिर्माणको काममा अगाडि बढ्न सकेको बताए। सो क्रममा उहाँले ४५ प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएकामा खुशी व्यक्त गर्दै भूकम्पका बेलामा सडक, खानेपानी, अस्थायी आवास नभएको अवस्थामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र नेपाल सरकारबाट सहयोग पाएर समुदायमा केही व्यवस्थापन गर्न सकेको बताए।

अन्तक्र्रियामा विश्व बैंकका देशीय निर्देशक फारिस एज हदले नेपाल आएर मात्रै नभई पुनःनिर्माणको काममा साझेदारी गरेर सहयोग गरेकामा खुशी व्यक्त गरे। वडा नं ११ का वडा अध्यक्ष विष्णु धितालले वडामा एक हजार हजार १७ लाभग्राही रहेकामा ४६२ घरपरिवारले घर निर्माण गरिसकेको र ६६२ घरपरिवारले दोस्रो किस्ता लिइसकेको जानकारी दिए ।

 

OOO



प्रकाशित: २०७६ कार्तिक १४
October 31st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार