नेपाली समय: ०१:५९:२४ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

एडीबीको २२ अर्ब ऋण सहयोगपछि मुग्लिन–पोखरा सडक ४ लेनको बनाउन हप्तादिन भित्रै टेन्डर खोल्ने तयारी

निर्माण सञ्चार, १४ कात्तिक, काठमाडौं । एसियाली विकास बैंक २२ अर्ब बराबर ऋण सहयोग दिने भएपछि मुग्लिन–पोखरा सडक विस्तारका लागि आउने हप्ताभित्रै टेन्डर आह्वान गरिने भएको छ ।

सडक विभाग अन्तर्गतको एडिबी सडक निर्देशनालयले यसबारे जानकारी दिएको हो ।

उपआयोजना निर्देशक सौरभ बज्राचार्यले उक्त ऋण स्वीकृत हुनासाथ अबको एक हप्ता दिनभित्रै मुग्लिन पोखरा सडक अन्तर्गत रहेको आँबुखैरेनी–पोखरा खण्डको सडक विस्तारका लागि टेन्डर आह्वान हुनेछ । 

यो सडक खण्ड करिब ८१ किलोमिटर रहेको छ । यो खण्डलाई दुई प्याकेजमा विभाजन गरेर ठेक्का लगाउने तयारी उपआयोजना निर्देशनालयले गरेको छ ।

पहिलो चरण अन्तर्गत ८१ किलोमिटर पोखरा–आबुखैरेनी सडकको निर्माण कार्य अघि बढ्ने छ भने बाँकी ८ किलोमिटर आबुखैरनी–मुग्लिन सडक खण्डको विस्तार कार्य त्यसपछि हुनेछ ।

बिहीबार (आज) मात्रै एसियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई ४ लेनमा स्तरोन्नति गर्न भनी १९ करोड ५० लाख डलर (करिब २२ अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने निर्णय सार्वजनिक गरेको थियो ।

हाल यो खण्डको सडक २ लेनको मात्र रहेको छ । उक्त राजमार्गलाई ४ लेनमा रूपान्तरण गरिने छ । यसका लागि सरकारले ५ अर्ब ९० करोड लगानी गर्ने उल्लेख छ ।

निर्माण पछि बन्ने चारलेनको हरियाली सडक
आउने ५ वर्षभित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य सहित उक्त ऋण प्रदान गरिएको हो ।

ऋण प्रदान गर्दै एडिबीको प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार ‘नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले उक्त ऋण रकम स्वीकृत गरिएको हो’ ।

भारत र बंगलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रूपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहज हुने अपेक्षा लिइएको छ ।

सडक चौडा बनेपछि स्थानीय उत्पादन बजारसम्म पुर्याउन सजिलो हुने र ढुवानी खर्चमा समेत कमी आउने बैंकले विश्वास लिएको छ ।

कस्तो बन्ने छ सडक ?

आयोजना निर्देशनालय अनुसार यो सडक चौडा चारलेनको हुने छ । जसका दायाँ बायाँ हरियाली रहने छ । विस्तार भएपछि ‘मिडियन’ को दुवैतर्फ ७–७ मिटरको सडक बन्ने छ । 

जानकारी अनुसार एउटा लेन ३.५ मिटरको बन्नेछ । ‘मिडियन’ मा ग्रिनरी बेल्ट रहने छ जहाँ रुख वा विरुवा र फूलहरु रोपिने छन् । 

एक्सिडेन्टबाट बचाउने प्रविधिको प्रयोग

यो सडक निर्माणमा नयाँ प्रविधि थप हुने छ । जहाँ सोल्जर अर्थात् अतिरिक्त पिच पनि गरिने छ । दयाँबायाँ नै साँढे २ मिटरको सोल्जर (अतिरिक्त पिच) राखिने छ । ताकि मुख्य लेनबाट बाहिरिने गरी सवारी साधन हुत्तियो भने पनि सवारीलाई दुर्घटनाबाट बचाउँछ । 

सडकलाई आधुनिक प्रविधिबाट निर्माण गर्ने योजना रहेको आयोजनाको भनाइ छ । 

एडिबीकै सहयोगमा 

यस अघि सरकारले विश्व बैंकको सहयोगमा मुग्लिन–नारायणगढ सडक दुई लेनमा विस्तार गरेको थियो । 

सडक विभागले एडिबीकै सहयोगमा बुटवल–नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउन ठेक्का लगाइसकेको छ । 

१५ हजार किलोमिटर रहेको रणनीतिक सडक अन्तर्गतका मुख्य राजमार्ग फराकिलो पार्ने योजना अन्तर्गत पोखरा पुग्ने सडकको पनि स्तरोन्नति गर्न लागिएको हो ।

यो सडक विस्तार क्रममा आबुखैरेनी क्षेत्रमा पर्ने मर्स्याङ्दी जलविद्युत आयोजना आसपास भने नयाँ ढंगले काम हुने छ ।

पर्यावरणीय हिसाबले संवेदनशील ठहर गर्दै यो क्षेत्रमा टलरेस सुरुङभन्दा मुनि पुल बनाएर आयोजना छल्ने गरी पारिपट्टिबाट अर्को दुई लेनको सडक बनाउने तयारी छ ।

आयोजनाभन्दा पारिबाट बन्ने सडकका लागि अहिले डिटेल इन्जिनियरिङ भइरहेको निर्देशनालयको भनाइ छ ।

वारिपट्टिको हालको सडक पनि डेडिकेटेड दुई लेन बनाइनेछ । हाल यो आयोजना क्षेत्रमा पनि डेडिकेटेड दुई लेनको सडक छैन । 

यस खण्ड अन्तर्गत मुख्य बस्ती र सहरी क्षेत्र पर्ने ठाउँमा पनि सर्भिस लेन राखिनेछ । 

विस्तार हुने सडकमा सुरक्षा फिचर्स चेतावनी लाइट सिस्टम पनि जडान हुने एसियाली विकास बैंकले जानकारी दिएको छ । 

सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि छुट्टै पूर्वाधार बनाइने बैंकले बताएको छ ।

मुग्लिनदेखि पोखरासम्मको सडक विस्तारको काम सन् २०२५ सम्म सक्ने लक्ष्य लिइएको छ । यो खण्डका लागि सरकारले करिब ५ अर्ब रकम आफ्नै स्रोतबाट पनि खर्च गर्नेछ ।

हाल काठमाडौं–पोखराको दूरी करिब २ सय किलोमिटर छ । खण्ड सडक विस्तार भएपछि ढुवानीदेखि पेट्रोलियम समेतमा सहजता थपिने छ ।

०००

 

 



प्रकाशित: २०७६ कार्तिक १४
October 31st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार