नेपाली समय: १२:२७:३३ am
वि.सं २०७६ मंसिर २१   शनिवार

बुटवलमा बन्ने आधुनिक कृषिउपज थोक बजार प्रवर्द्धन केन्द्रको डीपीआर तयार

निर्माण सञ्चार, १६ कात्तिक, काठमाडाैं । बुटवलको सेमलारमा सैनामैनासमेतलाई समेटेर बन्न लागेको आधुनिक कृषि उपज थोक बजार प्रवर्द्धन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

बुटवल उपमहानगरपालिका १६ र सैनामैना नगरपालिका १, को बीचभागमा पर्ने डहरगाउँ र सैनामैनाको कर्साघाट क्षेत्रमा ३० बिगाह क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको यो आधुनिक कृषि केन्द्र बन्दै छ ।

दुई अर्ब चार करोड ४३ लाख रुपैंयाँ लागत अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको यो केन्द्रबाट कृषि उपजको संकलन, भण्डारण, प्रशोधन र बिक्री वितरणका साथै एग्रोटुरिजमको समेत प्रवर्द्धन हुनेछ ।

संघीय सरकार अन्तरगतको कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्दधन केन्द्रले ६ महिना लगाएर विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको हो । यसलाई संघीय सरकारको विभागीय मन्त्रालयले मेगा प्रोजेक्टका रुपमा लिंदै सोही अनुरुप लगानीका स्रोत खोज्ने बताएको छ ।

प्रस्तावित आधुनिक कृषि उपज थोक बजार प्रवर्द्धन केन्द्रको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)सँगै प्रारम्भिक चरणको अध्ययनपूरा भएसँगै लगानीका स्रोतको खोजी तीव्र पारिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए । उनले संघ, प्रदेश, स्थानीय तहका साथै निजी र सहकारी क्षेत्रकोसमेत सहकार्यमा लगानी गर्ने वातावरण बनाइने बताए ।

प्रमुख सुवेदीको नेतृत्वमा सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्की, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रका प्रमुख तथा सहसचिव प्रकाशकुमार संजेलसहित वरिष्ठ इन्जिनियर, उक्त क्षेत्रमा पर्ने वडाका अध्यक्षसहित जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु र नागरिक अगुवाले संयुक्त रुपमा साइट भिजिट गर्दै मेगाप्रोजेक्टलाई सफल बनाउन सबैले सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

प्रतिवेदन अनुसार दुई अर्ब ४ करोड ४३ लाख रुपैंयाँ लागतमा आधुनिक कृषि उपज थोक बजार प्रवर्द्धन केन्द्र निर्माण हुनेछ । त्यसअनुसार बजारका संरचना बनाउन एक अर्ब ६५ करोड लगाइने छ । जसमा विभिन्न ३४ वटा ब्लक निर्माण गरिने छ । त्यसमा विभिन्न ६ वटा गोदाम घर बन्नेछन् । केन्द्रभित्रै अस्पताल, गेष्ट हाउस, शौचालय, धर्मकाँटा, क्वारेन्टाइन चेकपोष्टदेखि थोक र खुद्रा सामानका अलग–अलग सटरहरु बन्नेछन् ।

एक लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम रहनेछ । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर बन्ने छ । यसबाहेक खाद्य, तरकारी, फलफूल राख्न शीतभण्डार गृह, तिनको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, बायोग्यास उत्पादन केन्द्र, फोहोर प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिनेछ । पशुजन्य बिक्रीका लागि छुट्टै क्वारेन्टाइन भवन बन्ने छ । तीन वटा जीउदो माछा बिक्रीकेन्द्र बन्नेछन् । एक सय मेट्रिक टन जोख्न सक्ने दुई वटा धर्मकाँटा राखिने छ ।

केन्द्रमा किसानले उत्पादन गरेका कृषि र पशुपन्छीसम्बन्धी सम्पूर्ण उत्पादनको खरिद बिक्रीको व्यवस्था मिलाइनेछ । उत्पादित कृषि उपजको बजार मूल्य कम भएको समयमा गोदाम घरमा भण्डारण गरिनेछ । बजार मूल्य वृद्धि हँदा किसानले आफै गोदामबाट बाहिर निकालेर व्यापारीलाई बिक्री गर्न सक्ने कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख तथा सहसचिव प्रकाशकुमार संजेलले बताए । उनका अनुसार  बजार, गोदाम, प्रशोधन केन्द्र सहकारीमा आधारित हुनेछ।

केन्द्रमा बिक्री हुन नसकेका कृषि उपज र पशुपन्छी प्रशोधन गरिने छ । त्यसलाई मूल्य शृंखलामा आधारित अर्को प्रकारका उत्पादन गरी बिक्री गर्ने व्यवस्था गरिने छ । त्यसका लागि होलसेल सटर एक सय ३७ र रिटेल सटर ५४ वटा बनाइने छ । सुबिधाका लागि बजारभित्रै  प्रटोलपम्प रहनेछ । गेष्टहाउससहितको एक होटल र एक चमेनागृह तथा पाँचवटा शौचालयको समेत प्रस्ताव गरिएको छ  ।

कृषि बजार केन्द्र बन्ने उक्त क्षेत्र दानव नदीको उकास क्षेत्र हो । त्यहाँ अहिले चरण क्षेत्र र बुट्यान छ । पारि सैनामैना र वारी बुटवललाई जोड्ने दानवनदीमा पुल निर्माण भइरहेको छ । नदीको किनारमा व्यवस्थित पर्खाल लगाइने छ । नियन्त्रणका शिर्षकमा सात करोड रुपैयाँ बजेट छुट्याइएको छ । यसबाट आरसीसी सहितको रिटेनीङ वाल लगाइने वरिष्ठ इन्जिनियर दीपककुमार भारद्वाजले बताए ।

बजारमा पस्ने र निस्कने तीनवटा आधुनिक र स्मार्ट द्वार रहनेछन् । बुटवलको तामनगरबाट पस्ने र सैनामैनाको बनकट्टाबाट निस्कने दुई लेनका सडक बनाइने छ । केन्द्रदेखि बुटवलको चक्रपथ र सैनामैनाको चक्रपथसँग केन्द्रमा आउजाउ गर्ने सडकलाई जोडिने छ । उक्त सडक निर्माणका लागि ४२ करोड रुपैयाँ आवश्यक पर्ने इन्जिनियर भारद्वाजले बताए ।

डिपिआर लगत्तै चालु आर्थिक वर्षमा वातावरणीय प्रभाव मुल्यांकन गरिने छ । उक्त काम ६ महिनाभित्र सकी चालु आर्थिक वर्षमै निर्माण प्रक्रिया थाल्ने योजना रहेको प्रमुख संजेलले बताए ।

डिपिआरसँगै पाँच वर्षमा निर्माण सक्नेगरी पञ्चवर्षीय गुरुयोजना समेत निर्माण गरेको छ । यसमा संघीय सरकार, प्रदेश र स्थानीय तहले लगानी गर्ने प्रस्ताव गरिएको छ । केही समयअघि भएको लगानी सम्मेलनमा नेदरल्याण्ड सरकारले कृषि क्षेत्रमा १६ अर्ब लगानी गर्ने प्रस्ताव गरेको थियो ।

बुटवल उपमहानगर प्रमुख सुवेदीले उक्त लगानीको केही स्रोतलाई यहाँ ल्याउन समेत संघीय सरकारसंग प्रस्ताव गरिसकिएको र त्यसको प्रक्रियामा बुटवल, सैनामैनाका नगर प्रमुखले संयुक्त रुपमा आग्रह गरिएको जानकारी दिए  । यो मेगा प्रोजेक्टमा नेकपा महासचिव तथा पूर्व अर्थमन्त्री एवम् रुपन्देही–२ का सांसद विष्णुप्रसाद पौडेलको विशेष चासो रहेको छ ।

स्थानीय तहबाट गर्नुपर्ने लगानीमा यहाँका नीजी क्षेत्र र सहकारीलाई समेत समावेश गर्नेगरी छलफल अगाडि बढाएका छौं, र माथिल्ला तहमा गर्नुपर्ने काममा माननीय (सांसद पौडेल) को अगुवाईमा काम भइरहेको प्रमुख सुवेदीले बताए  ।

कृषि बजार वरिपरी किसानको उत्पादनको आधारमा करिडर निर्माण हुनेछ । उक्त क्षेत्रमा बजारको स्वामित्वमा रहने गरी कृषि उपज ढुवानी गर्ने सवारीसाधन उपलब्ध गराइने छ ।

ठूला किसानदेखि  एउटा काक्रो र एक मुठा सागसम्म खेतबाटै संकलन गरी बजारसम्म पुर्‍याउने जिम्मेवारी बजारलाई दिनेगरी प्रस्तावना तयार भएको छ । बिचौलियाबाट हुँदै आएको कृषि उत्पादनमाथिको नियन्त्रण किसानलाई दिन यसो गरिएको हो । ‘यसले किसान र बजारको बीचमा भएको बिचौलियाको दवदवा हटाउन सकिनेछ,’ सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीको भनाइ छ । प्रमुख कार्कीले किसानले लागत अनुसारको मुल्य लिन र उपभोक्ताले सुलभ मूल्यमा कृषि उपज खरिद गर्न पनि पाउनुका सथै एग्रो टुरिजमको समेत प्रवद्र्धन हुने विश्वास गरिएको बताए  ।

संघीय सरकारले गत आर्थिक वर्षको बजेटमा ७ वटै प्रदेशमा यस्ता बजार बनाउने योजना ल्याएको थियो । त्यसको नमुनाका रूपमा बुटवलमा कृषि बजार निर्माण हुदैछ । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल, बेथरी–बेलबास सडक, लुम्बिनी–सैनामैना सडक, बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रजस्ता आयोजनाहरुका कारणले पनि प्रस्तावित कृषि उपज थोक बजार केन्द्र यस क्षेत्रको महत्वपूर्ण योजना बन्ने निश्चित रहेको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले दाबी गरे  ।



प्रकाशित: २०७६ कार्तिक १६
November 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार