नेपाली समय: ११:५७:४१ राती
वि.सं २०७६ मंसिर २०   शुक्रवार

साँढे ६ लाख लिटर दूध विक्रेता दुग्ध सहकारी संघ बागलुङको १८औं साधारणसभा सम्पन्न

निर्माण सञ्चार, १६ कात्तिक, बागलुङ । बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ 

साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले उत्पादन मूलक क्षेत्रमा दुग्ध सहकारी संघले गर्दै आएको कामलाई प्रशंसा गरेका छन् । 

  • गत आर्थिक वर्षमा संघले ५ करोड ६३ लाख ३८ हजार ३ सय २ रुपियाँ आम्दानी
उनले थप प्रभावकारी बनाउनका लागि राज्यका निकायहरुले सहयोग गर्नु पर्ने तर सो नभइरहेको बताए ।

कार्यक्रमलाई उद्घाटन क्रममा बोल्दै उनले उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा संघले उत्कृष्ट काम गरेको र संघले प्रशोधन गरेका दुग्धजन्य पदार्थलाई देश तथा विदेशमा विक्री वितरण गर्ने योजनाका साथ अगाडि बढ्न पनि सुझाएका छन् ।

जिल्लालाई दुधमा आत्मनिर्भर बनाउन तर्फ अग्रसर दुग्ध सहकारीहरुलाई राज्यले सहयोग गर्नु पर्नेमा जोड दिनु पर्नेमा उनको जोड छ ।

जिसीले उत्पादन बिना सुखी नेपाली समृद्ध नेपाल बन्दैन भन्ने कुरा राज्य सञ्चालकहरुले बुझ्न पर्ने बताए ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा काठेखोला गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष युक्त प्रसाद कँडेलले धेरै दुख कष्टका साथ संघले बागलुङवासीलाई दुध तथा दुग्धजन्य पदार्थ विक्री वितरण गर्ने कार्यलाई निरन्तरता दिएको बताए ।

साधारणसभाले संघका सचिव रामबहादुर हमालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष डिलाराम कडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक कमलप्रसाद शर्माले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको आयोजकले जनाकारी गरायो ।

साधारणसभा संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष ओमनाथ सापकोटाको स्वागत र सचिव रामबहादुर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

उत्पादन र वितरणमुखी दुग्ध सहकारी

संघले गत आर्थिक वर्षमा संघमा आवद्ध १३ वटा दुग्ध सहकारी संस्थामा शेयर सदस्यहरुबाट संकलित ६ लाख ३४ हजार ७२ लिटर दुध विक्री वितरण गरेको छ ।

संघले दुध विक्रीका साथै दुध प्रशोधन गरी दही, घ्यू, पनिर, छुर्पी, आइसक्रिम, खुवा, नौनी, लस्सी लगायत उत्पादनहरु विक्री वितरण गर्दै आइरहेको छ ।

साधारणसभाले दीपक गौतमको अध्यक्षतामा ९ सदस्य सञ्चालक समिति र कमल प्रसाद शर्मा संयोजक रहेको ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको छ । 

समितिको उपाध्यक्षमा ओमनाथ सापकोटा, सचिव रामबहादुर हमाल, सहसचिव गोविन्द बहादुर खड्का, कोषाध्यक्ष डिलाराम कंडेल तथा सदस्यहरुमा युक्तप्रसाद कँडेल, नारायणप्रसाद गैरे, गोविन्दप्रसाद सापकोटा र केशव प्रसाद कँडेल रहेका छन् ।

यस्तै लेखा समितिका सदस्यहरुमा गुणराज कंडेल र बालकृष्ण सापकोटा रहेका छन् ।

आम्दानी कस्तो छ ?

संघमा आवद्ध १३ वटा दुग्ध सहकारी संस्थाहरुले ६ लाख ३४ हजार ७२ लिटर दुध विक्री वितरण गरेर नाफा आर्जन गरेको छ ।

दुध विक्रीका साथै दुध प्रशोधन गरी दही, घ्यू, पनिर, छुर्पी, आइसक्रिम, खुवा, नौनी जस्ता उत्पादनहरु विक्री वितरणबाट गत आर्थिक वर्षमा संघले ५ करोड ६३ लाख ३८ हजार ३ सय २ रुपियाँ आम्दानी गरेको आयोजकले बतायो ।

संघले १३ वटा संस्थालाई फ्लो सिजनमा दुध विक्री गरेकोमा २ करोड ५५ लाख ३१ हजार ७० रुपियाँ र ड्राई सिजनमा १ करोड ९ लाख २७ हजार ३ सय १२ रुपियाँ रकम भुक्तान गरेको छ । 

संघले दीर्घकालिन रणनीति निर्माण गरी अब मिठाई लगायतका दुग्धजन्य पदार्थ उत्पादनमा ध्यान दिने योजना अघि सारेको छ ।


०००



प्रकाशित: २०७६ कार्तिक १६
November 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार