नेपाली समय: १२:३२:०३ am
वि.सं २०७६ मंसिर २१   शनिवार

डिजेल र मट्टितेलकाे आयात किन घट्यो ?

निर्माण सञ्चार, १६ कात्तिक, काठमाडाैं । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा डिजेल र मट्टितेलको आयातमा कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तीन महिनाको विवरणअनुसार मुख्य चाडपर्व अघिको तीन महिना अवधिमा गत वर्षभन्दा कम आयात भएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३० करोड ८२ लाख ३६ हजार लिटर डिजेल आयात भएको छ । अघिल्लो वर्ष समीक्षा अवधिमा आयल निगमले ३४ करोड २० लाख ९८ हजार लिटर डिजेल नेपालले आयात गरेको थियो ।

यस्तै गत वर्ष ६६ लाख ८२ हजार लिटर मट्टितेल आयात गरेको निगमले चालू आर्थिक वर्षको ३ महिनामा ६६ लाख १० हजार लिटर मट्टतिेल आयात गरेको छ ।तथ्यांकअनुसार गत वर्षभन्दा ३ करोड ३८ लाख ६२ हजार लिटर डिजेल र ५ करोड ९४ लाख १९ हजार लिटर मट्टितेल कम आयात भएको हो ।

पाइपलाइनमार्फत डिजेल ढुवानी सुरु गरेपछि भारतीय बजारसम्म पुग्ने करिब ३ सय ट्याकंरको ढुवानी डिजेल खर्च जोगिनु, भारत र नेपालमा डिजेलको मुल्यमा खासै फरक नभएका कारण नेपालीहरुबाट डिजेलको अपचलन घट्नुले पनि डिजेल आयातमा कमी आएको निगमको बुझाई छ ।

त्यस्तै डिजेल र मट्टितेलको आयात घट्नुको मूख्य कारण नियमित विद्युत आपूर्ति रहेको निगमको निष्कर्ष छ। निगमका नायव प्रबन्धक सुशील भट्टराईका अनुसार अघिल्लो वर्षसम्म उद्योगहरुमा रहेको केही घण्टाको लोडसेडिङ हट्दा डिजेल आयात घटेको छ । अहिले डिजेल हालेर जेनेरेटर चलाउनुपर्ने अवस्था उद्योगहरुमा छैन ।

यस्तै लामो बर्खाका कारण ठूला आयोजनाका कामहरु सुचारु नहुँदा डिजेलको खपत कम भएको हुनसक्ने नायव प्रबन्धक भट्टराईको बुझाइ छ ।उनले भने, ‘बर्खाले गर्दा धेरै कच्ची सडकहरु छिटो सञ्चालनमा आउन नसक्नु, ठूला आयोजनाको काम सुरु नहुनु पनि डिजेल आयात घट्नुको कारण हो।’  

निगमले ढुवानीका ट्याङ्करमा हुने चुहावट रोक्न लकिङ प्रणालीमा गरेको कडाईका कारण पनि भारतीय बजारमा नेपालबाट हुने चुहावट घटेको निगमको आँकलन छ।

 

 

000



प्रकाशित: २०७६ कार्तिक १६
November 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार