नेपाली समय: ०३:३८:०२ बिहान
वि.सं २०७६ मंसिर २२   आइतबार

'मुलुकमा व्यवसायमैत्री वातावरण निर्माण हुँदै गएको छ'

निर्माण सञ्चार, १७ कात्तिक, काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मुलुकमा व्यवसायमैत्री वातावरण निर्माण हुँदै गइरहेको बताएका छन् ।

लाफा ग्रुप लिमिटेडको दोस्रो वार्षिक साधारणसभाका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य लिएको सरकारले व्यवसाय र उद्योगमैत्री वातावरण निर्माणमा लागेको जिकिर गरे।

“गत वर्षको तुलनामा यस वर्ष मुलुकले आर्थिक विकासमा फड्को मारेको छ, कृषि, पर्यटन र जलविद्युत् क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको छ”,उनले भने। मन्त्री पुनले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर मुलुकमा पाँचतारे होटलमा लगानी गर्ने क्रम बढेको बताए ।

विदेशमा आर्जन गरेको ज्ञान, सीपलाई नेपालमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले मुलुकमा व्यावसायिक साझेदारीताको विकास हुन नसकेको अवस्थामा लाफा ग्रुपले व्यावसायिक साझेदारिता गरेर उदाहरणीय काम गरेको उल्लेख गरे।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र निर्माण भइसकेको अवस्थामा आर्थिक विकासका लागि व्यावसायिक साझेदारिताले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

कामका लागि विदेशमा गएका युवालाई स्वदेशमा उद्यम गर्ने वातावरण निर्माणमा सरकार लागेको उनको भनाइ थियो । उनले भने, “मुलुकको आर्थिक विकासका लागि सरकार गम्भीर भएर लागेको छ ।”

लाफा गुप्र लिमिटेडका अध्यक्ष हिरामाया आलेले सामूहिक लगानीमा कम्पनी स्थापना गरेर काम गर्दै आइरहेको बताए । कूल ४७३ साधारण शेयर सदस्य रहेको लिमिटेडले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, सहकारी, सूचना तथा प्रविधि, जलविद्युत् र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको अध्यक्ष आलेले बताए ।



प्रकाशित: २०७६ कार्तिक १७
November 3rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार