नेपाली समय: ०७:२८:०० बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

सामुदायिक विद्यालयका विद्यार्थीलाई अनिवार्य बैंक खाता

निर्माण सञ्चार, १७ कात्तिक, काठमाडाैं । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने निर्णय गरेको छ।

बैंकमार्फत कारोबार गर्न र रकम बचत गर्ने बानी विकास गर्न यस्तो नीति ल्याएको गाउँपालिकाको दाबी छ । विद्यालय उमेरका सबै विद्यार्थीको बैंक खाता अनिवार्य हुनपर्ने गाउँपालिकाले निर्णय गरेको हो।

सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई अभिभावक संरक्षक रहने गरी खाता खोलेपछि मात्र स्थानीय तहबाट पाउने सुविधा प्राप्त हुनेछ । स्थानीय तह र केन्द्रबाट शिक्षा तथा खेलकुदका लागि आउने छात्रवृत्ति, पोसाक,पाठ्यपुस्तक र खाजाखर्च अब सोझै विद्यार्थीको खातामा जम्मा गरिनेछ ।

चालु आर्थिक वर्षभित्र गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका विद्यार्थीको अनिवार्य बैंक खाता खोल्न पत्राचार गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए । ‘सबै वित्तीय संस्थाले बाल बचतमा शून्य मौज्दातमा खाता खोल्ने गर्छन्,’ उनले भने, ‘यसले आर्थिक पारदर्शितालाई सहयोग पुर्‍याउनेछ ।’

स्थानीय तहमार्फत विद्यालयमा जाने रकम विद्यालयले अन्य शीर्षकमा खर्च गरेर न्यून रकम मात्र विद्यार्थीलाई दिने गरेको गुनासो बढ्न थालेपछि स्थानीय तहले यस्तो कदम चालेको हो ।

‘जसका लागि रकम निकासा भएको हो, उसैको हातमा पुगोस् भन्ने हाम्रो उद्देश्य हो,’ गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले भने, ‘विद्यार्थीको खाजा खर्च कटाएर कार्यालय सजाउने र अन्य काम गर्न पाइँदैन । बिल भर्पाई मात्र मिलाएर सुशासन नहुने भएकाले लक्षित वर्गलाई नै सोझै रकम पुर्‍याउन बैंकिङ प्रणाली सुरु गर्न लागेका हौं ।’

सीमावर्ती क्षेत्र भएकाले यहाँका केही अभिभावकको नागरिकता नभएको तर छोराछोरी भने विद्यालयमा अध्ययनरत रहेकाले उनीहरूको बैंक खाता खोल्न समस्या हुने आदर्श माध्यमिक विद्यालय सरावलका प्रधानाध्यापक देवनारायण चौधरीले बताए ।

‘आर्थिक पारदर्शिताका लागि यो निकै राम्रो काम हो । हामीले पनि करिब ९० प्रतिशत विद्यार्थीको बैंक खाता खोलिसक्यौं,’ उनले भने, ‘सीमावर्ती क्षेत्रका अभिभावकको नेपाली नागरिकता र बालबालिकाको जन्मदर्ता पनि नभएकाले केहीमा समस्या देखिएको छ ।’ सरावल गाउँपालिकाका १६ सामुदायिक विद्यालयमा ५ हजार २ सय विद्यार्थी अध्ययनरत छन् ।



प्रकाशित: २०७६ कार्तिक १७
November 3rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार