नेपाली समय: ०७:१७:४७ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

वैकल्पिक ऊर्जामा डेढ अर्ब अनुदान दिने जर्मन सरकारको घोषणा

निर्माण सञ्चार, १८ कात्तिक, काठमाडौं । नेपालको वैकल्पिक ऊर्जा विकासका लागि जर्मनी सरकारले डेढ अर्ब रुपियाँ अनुदान सहयोग गर्ने भएको छ ।

सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँग भएको भेटमा नेपालका लागि जर्मन राजदूत रोलान्ड शेफरले अनुदान सहयोगको प्रतिबद्धता जनाएको मन्त्रालय स्रोतले बतायो ।

सो भेटमा मन्त्री पुनले नेपालका तर्फबाट प्राथमिकताहरु समेत अघि सारेका थिए । तिनमा सोलार र मिनि ग्रिडलाई सरकारको प्राथमिकतामा राखेको जानकारी गराएका थिए ।

मन्त्री पुनले आउने ३ वर्षमा १२ प्रतिशत जनतामा नवीकरणीय ऊर्जाको पहुँच पुर्याउने सरकारी लक्ष्य पूरा गर्न जर्मन सरकारको सहयोग महत्वपूर्ण हुने बताएका थिए ।

यस अघि पनि जर्मन सरकारले दिदै आएको वैकल्पिक ऊर्जा विकासको सहयोग अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेपालका वैकल्पिक ऊर्जाको क्षेत्रमा जर्मन सरकारले विगतदेखि दिँदै आएको आर्थिक अनुदान नियमित गर्ने उनको भनाइ थियो ।

आउने दिनमा जर्मनले सोलार, वायुलगायत परियोजनामा अनुदान सहयोग उपलब्ध गराउने सोच बनाएको पनि उनको भनाइ छ ।


०००



प्रकाशित: २०७६ कार्तिक १८
November 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार