नेपाली समय: ०२:१८:०१ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

किन भत्कन्छन् राजधानीका सडक पिच गर्दागर्दै ? अब कसरी फेरिदै छ गौशाला–चावहिल सडकखण्ड मुहार ?

निर्माण सञ्चार, १९ कात्तिक, काठमाडौं ।  सम्भवतः राजधानी भित्र रिङरोड सबैभन्दा दुच्छर चोकहरु मध्ये चावहिल र गौशाला पनि हो । चारैतिर भत्केको, भत्केको खाल्डोमा पानी जमेको, चर्काे घाममा धुलो उड्ने पानी पर्दा हिलोले हैरान हुने ।

  • राजधानीका सडकको दुखान्त
राजधानी भित्र यस्ता होनहार ठाउँहरु टन्नै छन् । चावहिल पार गर्ने नपाई चुच्चेपाटी सडक त स्विमिङ पुलै स्विमिङ पुलले सडक भरिएझै लाग्छ । करिब ५ वर्ष अघि युनाइटेड बिल्डर्सले ठेक्का लिएको यो सडक खण्डको सबैभन्दा बिजोग लाग्दो स्थान बौद्ध, जोरपाटीदेखि वागमती पुलसम्म नै हरिप देखिन्छ ।

राजधानीभित्र यस्ता गौरवलाग्दा रौरव भित्र कलंकी चोक एक नम्बरमा पर्ने गथ्र्याे । सुरुङ मार्ग सहितको वैकल्पिक सडक व्यवस्थाले यसको रुप फेरिदै छ । ट्राफिक अस्तव्यस्तता भने अझै पनि घटिसकेको छैन ।

किन भत्कन्छन् राजधानीका सडक पिच गर्दागर्दै ?

पिच गरेर निर्माण व्यवसायी घर पुग्छन्, पिच मुनिबाट पुतपुती धुवाझैं किस्कन्छ पानीको फोहोरा ! पानी पसेपछि जमिनभित्रको माटो, गिटी र अलकत्रा आदिको सम्बन्ध खुकुलो बन्छ र तत्कालै कालोपत्रे गरेको सडक पानीपत्रेमा परिणत हुन्छ । 

राजधानीका सडकको दुखान्त हो यो ।

यस्तो दुखान्त बोक्ने मुख्य सडकमध्ये (माथि बताइए बाहेकै) जमल नाटक घरदेखि होटेल येलो पेगोडा हुँदै नारापणहिटी संग्रहालय नपुग्दैको क्षेत्र कालोपत्रे गरेको महिना नपुग्दै उबडखाबड र कालोपत्रे उप्किएको स्विमिङ पुलमा परिणत हुने ठाउँ हो ।

सोल्टी मोड, कालीमाटी चोक आसपास, नारायण गोपाल चोक, पुरानो बानेश्वर चोक, कुमारी हलदेखि पुतली सडक क्षेत्र जस्ता मुख्य चोकहरु अक्सर यो समस्याबाट ग्रसित छन् ।

कारण हो, करिब ११० वर्ष पुराना राणा कालीन खानेपानीका पाइपलाइन । ती पाइपलाइनहरु पुराना छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), सरकारको सिँचाइ विभाग र ढल निकासमा सम्बन्धित निकायहरु यसप्रति जवाफदेही छन् ।

पिच गरेर निर्माण व्यवसायी घर पुग्छन्, पिच मुनिबाट पुतपुती धुवाझैं किस्कन्छ पानीको फोहोरा ! पानी पसेपछि जमिनभित्रको माटो, गिटी र अलकत्रा आदिको सम्बन्ध खुकुलो बन्छ र तत्कालै कालोपत्रे गरेको सडक पानीपत्रेमा परिणत हुन्छ

पुराना खानेपानी पाइपहरु सुन्दरी जलबाट सिंहदरबार र अन्य घरबारसम्म पुराइएको छ । तिनको वर्षौंदेखि मर्मत सम्भार छैन । टालटुले प्रथाका कारण कालोपत्रे सडक मुनि जहिले पनि पानी चुहिने समस्या मौजुदा भएकाले यो समस्या आइरहेको काठमाडौं सडक विस्तार आयोजनाका अधिकारीहरुको भनाइ छ ।

अब फेरिदै छ मुहार, तर कहिले ?

सडक विभाग अनुसार गौशाला–चावहिल अन्तर्गत करिब १५ सय मिटर सडकले अब पुनर्जीवन पाउनेवाला छ ।

यस अन्तर्गतको सडक खण्डमा खानेपानीले आवश्यक टेन्डर खोलिसकेको छ । तर यस अघि भदौ तिर निकालेको सूचना अनुसार कसैले पनि टेन्डर हाल्न नआएपछि दोस्रो सूचना निकाले खाने पानी र सडक विभागले संयुक्त रुपमा यी सडक खण्डहरुको नयाँ रुपमा विकास गर्ने भएका हुन् ।

विभाग अनुसार गौशाला चावहिल सडक खण्डमा पर्ने पुरानो पानीको पुरानो पाइपलाइन अब सदाकै लागि विस्थापित गरिने छ र, त्यो स्थानमा नयाँ पाइपलाइनहरु बिच्छाइने छ ।

यो काम मंसिरदेखि लिएर आउने वैशाखसम्ममा सकिने विभागको भनाइ छ ।

तर, क्राइटेरिया मिट गर्ने निर्माण व्यवसायीहरु नपाएको खानेपानीको गुनासो छ । यस अघि भदौ दोस्रो हप्ता खानेपानीले करिब २२ करोडको काम सहितको बोलपत्र सूचना निकालेको थियो । तर, गौशाला चावहिल सडक खण्डको सो कामका लागि कुनै पनि कन्ट्र्याक्टरले बिडमा सहभागिता नै जनाएनन् ।

अब खुल्ने टेन्डर पर्वहरु सकेलगत्तै मंसिरबाट काम अघि बढाउने गरी हुने विभागको भनाइ छ ।

कसरी हुन्छ काम ?

यस सडक खण्डमा सबैभन्दा पहिले पुरानो पाइप लाइन झिकिने छ । मेलम्ची खानेपानी समेत आउने आशा गरिएकै बेला आउने वैशाखसम्म यो सडक खण्डमा नयाँ पाइपलाइने बिच्छ्याइने छ ।

अबका दिनमा यी निकायहरु ठेक्का दिनु पूर्व नै साइट क्लियरेन्स गर्ने गरी काम गर्ने दाबी गर्न थालेका छन् । सरकारका नियकाहरुले समन्वय गरेरै काम गर्ने हो भने सडक सडक मात्रै नबनेर सभ्यताको मुहार पनि बन्ने छ

अब बिच्छाइने पाइपहरु दीर्घकालीन रुपमा टिकाउ हुने क्वालिटीको काम गर्ने विभागको दाबी छ । यो काम सडक विभाग र खानेपानी बीच समन्वयमा हुन गइरहेको छ । 

विभाग अनुसार लागत इस्टिेमसन, अनुगमन र लागेको बिल भर्पाइ समेत केयुकेएलबाट हुने छ भने यसको भुक्तानी सडक विभागले गर्ने छ ।

‘पाइपलाइन बिच्छाइसके पछि सडकको मर्मत गरिने छ । अब मर्मत गरिने सडक मुनि पानी चुहिने समस्या आउने छैन । र, बाटो पनि भत्कने छैन,’ उपत्यका सडक विस्तार आयोजनाका अधिकारीले भने ।

राजधानी भित्रका सडकहरु ८ मिटरदेखि १४ मिटरसम्मको विकास र विस्तारको जिम्मा उपत्यका सडक विकास आयोजनाको काँधमा छ । ०६८ सालमा बाबुराम भटट्राईले सुरु गरेको उपत्यका सडक विस्तार अभियान यतिबेला भने रोकिएको अवस्थामा छ ।

विभाग अनुसार आउने कात्तिक मसान्तसम्म बौद्धदेखि जोरपाटी नारायणटार वागमती पुलसम्म सडक कालोपत्रे भइसक्ने छ भने सम्भवत जाडो लाग्नु अगावै साँखुसम्मको सडक पनि कालोपत्रे भइसक्ने छ ।

सुध्रिने हो भने !

वास्तवमा सरकारका विभिन्न विभाग र मन्त्रालय बीचमै समन्वयमा काम नहुने दीर्घरोग व्याप्त छ । सडकले काम गर्छ, ढल र खानेपानीले आएर पिक लगाएर खन्न थालिहाल्छ । कित बिजुलीको पोलले दुख दिन्छ कि त स्थानीय ठाउँमा असरल्ल बगिरहने खानेपानीको प्रवाहले । 

अबका दिनमा यी निकायहरु ठेक्का दिनु पूर्व नै साइट क्लियरेन्स गर्ने गरी काम गर्ने दाबी गर्न थालेका छन् । सरकारका नियकाहरुले समन्वय गरेरै काम गर्ने हो भने सडक सडक मात्रै नबनेर सभ्यताको मुहार पनि बन्ने छ ।

 

नयाँ तरिकाले काम गर्ने भनेपनि पुरानै पाराः पानीको फोहोरा निस्केको चावहिल चोकको पाइप टाल्दै खानेपानीका कर्मचारी

 

 

०००

(उपत्यका सडक विस्तार आयोजना तथा सडक विभागका अधिकारीहरुसँगको कुराकानीमा आधारित कभरेज)
 


 



प्रकाशित: २०७६ कार्तिक १९
November 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार