नेपाली समय: ०२:१९:०३ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

मुख्यमन्त्री पौडेलद्वारा हेटौंडामा बहुप्राविधिक महाविद्यालयको शिलान्यास

निर्माण सञ्चार, १९ कात्तिक, काठमाडौं । भारत सरकारको लगानीमा हेटौंडा उपमहानगरपालिका –६ मा निर्माण हुने नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालयको मंगलबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका छन् । 

व्यवसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको यस नेपाल–भारत मैत्री बहुप्राविधिक महाविद्यालय परियोजना भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको ३८‍.५३ करोड भारतीय रुपियाँको अनुदान सहयोगमा निर्माण भइरहेको छ ।

M/s Nirman Consultants Pvt. Ltd (PMC) ले परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा तथा M/s Telecommunications Consultants India Ltd  (TCIL) ले परियोजना ठेकदारको रुपमा यस पोलिटेक्निकको निर्माण गरिरहेका छन् । पूर्वराष्ट्रपति रामवरण यादव पहिलो पटक भारत भ्रमणमा गएका बेला महाविद्यालय निर्माण गर्ने सम्झौता भएको थियो ।

निर्माणस्थलमा रहेका रुख काट्नुपर्ने र वन मन्त्रालयबाट भोगाधिकार स्वीकृत हुनुपर्नेलगायतका काममा ढिलाई हुँदा महाविद्यालयको निर्माण कार्य रोकिएको थियो । निर्माण स्थलमा २ हजार ३ सय ५१ वटा रुखहरु कटान भइसकेको छ । महाविद्यालय निर्माणका लागि एक हजार ९ सय सल्ला जातका र चार सय अन्य जातका रुख कटान गरिएको छ ।

महाविद्यालय निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्यको अनुगमन आफै गर्ने मुख्यमन्त्री पौडेलले बताए । चित्रपानी सामुदायिक वन क्षेत्रको साढे २७ विघा जमिन वन मन्त्रालयले बहुप्राविधिक विश्वविद्यालय निर्माणका लागि उपलब्ध गराएको छ ।

उपलब्धमध्ये १७ दशमलव ५ हेक्टर जमिनमा पूर्वाधार निर्माण हुने बताइएको छ । निर्माण हुने संरचना १९ हजार २ सय स्क्वायर मिटरको हुने छ भने १० दशमलव ९५ क्षेत्रमा भौतिक संरचना निर्माण गरिने प्राविधीक शिक्षा तथा व्यवसायिक तालिम परिषदका पोलिटक्निकल महाशाखाका निर्देशक विनय मिश्रले जानकारी दिए ।

भारतीय टीसीआईएल र पीसीएम निर्माण कम्पनीले निर्माण कार्यको ठेक्का दुई वर्षअघि लिइसकेको छ । महाविद्यालयमा एक शैक्षिक सत्रमा २ हजार जना विद्यार्थी अध्धयन गर्न सक्नेछन् । दुई वर्षभित्र २६ वटा सुविधासम्पन्न भवन निर्माण भएपछि पहिलो चरणमा डिप्लोमा तहको आईटी, मेकानिकल र इलेक्ट्रोनिकक्स र कम्युनिकेशन विषय पढाइ हुनेछ ।

नेपाल र भारतबीचसम्झौता भएको एक दशकपछि हेटौडामा बहुप्राविधिक महाविद्यालय निर्माणको चरणमा पुगेको छ । नेपाल र भारतको राष्ट्रपतिस्तरमा २०६६ फागुन ४ गते हेटौडा–६ मा नेपाल भारत वहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौता भएको थियो ।

यस  बहुप्राविधिक महाविद्यालयमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवम् बहुउद्देशीय हल, छात्र–छात्राका लागि छुट्टै होस्टल, प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुल तथा समुदायका लागि विभिन्न सुविधाको व्यवस्था रहेको छ । यस परियोजना आगामी दुई वर्षभित्रमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

आजको यस परियोजना शुभारम्भ कार्यक्रम भारत नेपालबीच रहेको मैत्री सम्बन्धको अर्को प्रमाण हुनुका साथै व्यवसायिक तथा सीप विकासका क्षेत्रमा पूर्वाधार सुदृढिकरण गर्ने नेपाल सरकारको प्रयासमा हातेमालो गर्ने भारत सरकारको प्रतिबद्धताको रुपमा रहेको छ।

उक्त कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश नं ३ का माननीय आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटिइभिटी) का सदस्य सचिव पुष्परमण वाग्ले लगायत ६०० भन्दा बढी स्थानीय तथा विद्यार्थीहरुको उपस्थिति थियो।



प्रकाशित: २०७६ कार्तिक १९
November 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार