नेपाली समय: ०१:३४:५१ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

मध्यमोदी जलविद्युत् सुरुङ खोल्ने काम ५ वर्षपछी सम्पन्न, ९ महिनाभित्र विद्युत उत्पादन

निर्माण सञ्चार, २० कात्तिक, काठमाडौं । चौधरी ग्रुपले मोदी गाउँपालिकामा निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजना ५ वर्षमा सुरुङ खोल्ने काम सम्पन्न भएको छ ।

उक्त जलविद्युत् आयोजनाको २ हजार ६ सय ९४ मिटर लामो सुरुङ यसै सातामा खोलिएको हो ।

 सुरुङको हेर्डबक्सदेखि एक हजार ५ सय ५० र पावरहाउसदेखि एक हजार १ सय मिटरको हाराहारीमा सुरुङ खोल्ने काम भएको आयोजनाले जनाएको छ ।

 सुरुङको काम सम्पन्न भएपछि अब ‘कङक्रिटिङ’को काम शुरु गरिएको आयोजनाका वरिष्ठ जनसम्पर्क अधिकृत अशोक आचार्यले बताए।

आयोजना शुरु भएको करिब पाँच वर्षको समयाअवधि सुरुङ खोल्ने काम सकिएको हो । ‘सबैभन्दा गाह्रो कामका रूपमा रहेको सुरुङ सफलरूपमा खोलिएको छ, अब अन्य संरचनामा जनशक्तिलाई केन्द्रित गर्छौँ’, आचार्यले भने ।

 आयोजनाको निर्माणकार्य शुरु भएपसंगै भूकम्प, नाकाबन्दी र समय–समयमा स्थानीयवासीको आन्दोलनका कारण समस्या झेल्दै आएको आयोजनाले हालसम्म ७५ प्रतिशत निर्माणको काम सम्पन्न भएको जनाएको छ ।

आयोजनाको हेर्डबक्सको काम अधिकांश सकिएको छ, भने उत्पादनगृहको कामसमेत शुरु भएको आचार्यले बताए ।

 मोदीखोलाको आडैमा निर्माण हुने उत्पादनगृह वर्षायाममा पानी जमेर काम गर्न नसक्ने अवस्था भएकाले ढिलाइ भएको हो । ‘पटक–पटक पावरहाउसको काम शुरु भए पनि खोलाका कारण सम्भव हुनसकेको थिएन ।

 ‘सोमबारदेखि मेसिन लगाएर पावरहाउसको पूर्वाधार निर्माणको काम शुरु गरेका छौँ’, आचार्यले भने, ‘अब धमाधम काम हुन्छ ।’ सुरुङ तथा हेर्डबक्सतर्फ फिनिसिङको काम शुरु भएको र पावरहाउस निर्माणका लागि काम भइरहेको बताए ।

 मोदी–१ मा पर्ने भुकताङले र वडा नं २ मा पर्ने देउपुरमा निर्माणाधीन यो आयोजनाको सम्झौता अवधि सकिन झण्डै एक वर्ष बाँकी रहँदासम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

 कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत वीरेठाँटी र मोदी–१ भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको मोदी–२ देउपुरको बेतेनीसम्म २ हजार ६ सय ९४ मिटरको सुरुङमार्फत ल्याइएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना रहेको छ ।

 झण्डै २ अर्ब ८० करोडको लागत अनुमान गरिएको आयोजनाले गत मङ्सिरभित्र उत्पादन दिने लक्ष्य रहे पनि भूकम्प, नाकाबन्दीलगायतका कारणले दुई वर्ष म्याद थपिएको थियो ।

 २०७१ देखि शुरु भएको आयोजना २०७७ असारसम्म सम्झौता अवधि कायम रहको छ । सम्झौता अवधि अब झण्डै नौ महिना बाँकी रहेकाले उक्त समयभित्र उत्पादन थाल्ने गरी आयोजनाको काम तीव्र रुपमा अगाडी बढाइरहेको आचार्यले बताए ।
 



प्रकाशित: २०७६ कार्तिक २०
November 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार