नेपाली समय: ०२:०९:५५ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

नेपालमा चिनियाँ लगानी ह्वात्तै बढ्याे : सात अर्ब लगानीमा ३६ वटा होटल तथा रेष्टुराँ स्थापना हुँदै

निर्माण सञ्चार, २१ कात्तिक, काठमाडौं । पछिल्लो समय नेपालमा चिनियाँ लगानी ह्वात्तै बढेको छ। नेपालमा चिनियाँ लगानीकर्ता अन्य क्षेत्र भन्दा होटल तथा रेस्टुराँसहित हाइड्रो क्षेत्रमा लगानी गरेका छन्।

होटल तथा रेस्टुराँ क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको सरकारी तथ्यङकले देखाएको छ। नेपालमा थप ३६ वटा होटल तथा रेष्टुराँ स्थापनाका लागि चिनियाँ व्यवसायीले प्रतिबद्धता जनाएका छन् । आर्थिक वर्षको सुरुवाती तीन महिनामै सात अर्ब लगानी गरेर उनीहरुले होटल तथा रेष्टुराँ स्थापनाका लागि चिनियाँ व्यवसायीले प्रतिबद्धता जनाएका हुन् । 

चिनियाँ व्यवसायीले काठमाडौं तथा पोखरामा होटल तथा रेष्टुराँ सञ्चालन गर्न चाहेको उद्योग विभागले जनाएको छ । विभागमा चालू आर्थिक वर्षको तीन महिनामा प्रतिबद्धता लिएका यस क्षेत्रका ३९ वैदेशिक लगानीका उद्योगमध्ये ३६ वटा चिनियाँ होटल तथा रेष्टुराँ रहेको तथ्यङकमा उल्लेख छ। प्रारम्भिक लगानी प्रतिबद्धतामा जनाइएअनुसार चिनियाँ लगानीका होटल दुईतारे हुनेछन् ।

प्रतिबद्धता अनुसार चिनियाँ लगानीका होटल रेष्टुराँ सञ्चालनमा आए नेपालमा १३ सय ३६ वटा होटलका कोठा थप हुनेछन् भने रेष्टुराँको सिट संख्या २५ सय २५ ले बढ्ने छ ।

प्रतिबद्धता अनुसार, ५ करोड लगानीमा १६० सिटको रेष्टुरेन्ट चिनियाँ लगानीकर्ताले चितवनमा सञ्चालन गर्ने छन् । यस्तै एसडब्लू होटल नेपाल पोखरामा ३० बेडको होटल र ६० सिटको रेष्टुराँमा चिनियाँ लगानीकर्ताकै ५ करोड लगानी रहनेछ । पोखरामै ३६ वेडको होटल र ५० सिटको रेष्टुराँ सञ्चालन गर्न पनि चिनियाँ लगानीकर्ताले १० करोड रुपैयाँ लगानी ल्याउनेछन् । बाँकी ३३ वटा होटल रेष्टुराँ भने काठमाडौंमा खुल्नेछन् ।

इलाम र काठमाडौंमा भारतीय लगानीका दुई वटा रेष्टुराँ खोल्न विभागबाट स्वीकृति लिइएको छ । यस्तै काठमाडौंमा रेष्टुराँ खोल्न एउटा जापानी लगानी प्रतिबद्धता पनि आएको छ । करिब ५० करोड रुपैयाँ लगानी गरेर मङ्लोरी नेपालले पूर्ण भारतीय लगानीको ४० बेडको होटल र ८० सिटको रेष्टुराँ खोल्दैछ। यस्तै इलाममा ३० बेडको होटल र ५० सिटको रेष्टुराँ पनि भारतीय लगानीमा खुल्दैछ । यसमा पूर्ण भारतीय स्वमित्वको १० करोड खर्च हुने प्रारम्भिक आकलन छ ।

होटल–रेष्टुराँ मात्रै नभएर सबै क्षेत्रमा लगानी बढ्दो क्रममा भएको उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौला बताउँछन् ।उनका अनुसार ‘मुलुकमा स्थायीत्वसँगै पर्यटनको सम्भावना बढेकाले पनि आतिथ्य क्षेत्रमा लगानी बढेको छ। काठमाडौंमा १४० सिटको रेष्टुराँ खोल्न जापानी लगानीकर्ताले पनि उद्योग विभागबाट लगानी प्रतिबद्धता गराएका छन् । उक्त क्षमताको रेष्टुराँ खोल्नका लागि सुरुवाती ५ करोड रुपैयाँ लगानी भित्रिने विभागले जनाएको छ ।

 

 

000



प्रकाशित: २०७६ कार्तिक २१
November 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार