नेपाली समय: ०१:४८:०३ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

काष्ठमण्डप पुनर्निर्माणको काम ५० प्रतिशत सम्पन्न

निर्माण सञ्चार, २२ कात्तिक, काठमाडौं । भूकम्पका कारण भत्किएको काष्ठमण्डप पुननिर्माणको काम तोकिएकै समयमा पूरा हुने गरी निर्माण कार्य तिब्र रुपमा भइरहेकाे छ।

काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेशसभा सदस्य राजेश शाक्यले काष्ठमण्डप पुननिर्माणको काम तोकिएकै समयमा पूरा हुने बताए।

शुक्रबार नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले काष्ठमण्डपको अवलोकनका क्रममा संयोजक शाक्यले पुनर्निर्माणको कामले गति लिएको जानकारी गराए। उनले भने,' काष्ठमण्डप पुननिर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेकाे छ।'

काष्ठमण्डप अवलोकन गर्ने क्रममा संसद सदस्य शाक्यले काष्ठमण्डपको ऐतिहासिक महत्व, यसको संरचनागत शैली, पुननिर्माण गर्दा अबलम्बन गरिएको तरिका, अहिलेसम्म प्राप्त कामको प्रगतिका बिषयमा जानकारी गराएका थिए । अवलोकनका क्रममा पुगेका राजदूत मासामिचिले काष्ठमण्डपको कामले गति लिएकोमा खुशी व्यक्त गरे ।

‘काष्ठमण्डपको भव्यतालाई तपाईहरुले क्रमशः उठाइरहनु भएको छ । नेपाल पर्यटन बर्षमा यहाँ आउने पर्यटकले यसको भव्यता हेर्न पाउने मेरो आशा छ’ नेपाली कलाको प्रसङ्ग उठाउँदै राजदूतले भने ‘जापानमा मन्दिर बनाउने कला नेपालबाटै गएको हो । त्यसलाई हामीले जापानमा प्रबिधि थपेर सुरक्षित बनाउने तरिका मिलाएका छौं । हामीले सिकेको यो सीप हामी नेपाली सांस्कृतिक संरचना पुननिर्माणका क्रममा उपहार दिन चाहन्छौं ।’

काठमाडौं महानगर क्षेत्रभित्र भूकम्पले ढलेका सम्पदा पुननिर्माणका लागि महानगर आफैंसँग पर्याप्त स्रोत भएको बताउँदै महानगर प्रमुख बिद्यासुन्दर शाक्यले नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकबाट प्राप्त सहयोगलाई सदुपयोग गरेर पनि सम्पदा उठाउने काम भइरहेको जानकारी दिए ।

परम्परागत निर्माण शैली पछ्याएर जापान सरकारबाट प्राप्त सहयोगलाई सम्पदा पुननिर्माणमा उपयोग गरिने मेयर शाक्यको भनाइ छ । २०७५ सालबाट पुनर्निर्माण थालिएको काष्ठमण्डप तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिएको थियो ।



प्रकाशित: २०७६ कार्तिक २२
November 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार