नेपाली समय: ०२:०४:३६ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

लेखा समितिको सरकारलाई निर्देशन : अन्तशुल्क स्टिकर छपाईको काम अघि नबढाउनु

निर्माण सञ्चार, २२ कात्तिक, काठमाडौं । अन्तशुल्क स्टिकर छपाई सम्बन्धी काम तत्काल अघि नबढाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। संघीय संसदको सार्वजनिक लेखा समितिले सरकारलाई उक्त  निर्देशन दिएको हाे।

नेपाली कम्पनीले छपाई गर्न प्रतिस्पर्धा नै गर्न नसक्ने गरी सरकारले सो स्टिकर छपाई सम्बन्धी टेन्डर आह्वान गरेको निष्कर्ष निकाल्दै तत्काल सो काम अघि नबढाउन  शुक्रबार सिंहदरबारमा बसेको समितिकाे बैठकले निर्देशन दिएको हो। 

बैठकले सो सम्बन्धमा भएका सबै निर्णयहरुबारे सरकारसँग जानकारी लिने निर्णय पनि गरेको छ। नेपाली कम्पनीहरुले प्रतिस्पर्धा नै गर्न नपाउने गरी अन्त शुल्क स्टिकर छपाई सम्बन्धी बोलपत्र आह्वान गरेकाले तत्कालका लागि सो प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिइएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए।

समितिले एक वर्ष अघि नै अन्त शुल्क स्टिकर छपाई गर्दा नेपाली कम्पनीहरुले पनि भाग लिने गरी सर्तहरु राख्न सरकारलाई सचेत गराएको थियो। तर सो निर्देशन पालना नभएपछि समितिले पुन त्यो प्रक्रिया अघि नबढाउन सरकारलाई सचेत गराएको हो।

समितिले सो सम्बन्धमा आवश्यक जानकारी लिन सोमबार सम्बन्धित निकायका पदाधिकारीहरुलाई उपस्थित हुन पनि पत्राचार गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतका सम्बन्धित पदाधिकारीहरुलाई सो सम्बन्धमा जानकारी लिन समितिको आगामी सोमबारको बैठकमा उपस्थित हुन पनि पत्राचार गरिएको सचिव पाण्डेले जानकारी दिए।

बैठकमा सदस्यहरुले समितिले दिएको निर्देशन समेत पालना नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए। समितिका सदस्य राजेन्द्रकुमार केसीले संसदीय समितिले दिएको निर्देशनको समेत बेवास्ता गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे।

बैठकमा समितिका सदस्यहरुले सरकारले सिमेन्टको गुणस्तर कमजोर बनाउन गतिविधि गरेको समाचार बाहिर आएको उल्लेख गर्दै त्यस सम्बन्धमा पनि सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याएका थिए।



प्रकाशित: २०७६ कार्तिक २२
November 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार