नेपाली समय: ११:५८:२१ राती
वि.सं २०७६ मंसिर २०   शुक्रवार

सुरुङमार्ग अध्ययन गर्न ५९ करोड : ५ महिनासम्म कामै भएन

काठमाडौँ — सरकारले सुरुङ मार्ग निर्माणको प्रारम्भिक अध्ययन गर्न ५९ करोड बजेट विनियोजन गरेको ५ महिना बिते पनि काम भने केही पनि हुन सकेको छैन ।मुलुकका आधा दर्जनभन्दा बढी जोखिमयुक्त तथा लामो सडक खण्डमा सुरुङ निर्माण अध्ययनका लागि सरकारले यसपछि यति धेरै बजेट विनियोजन गरेको हो ।

यस वर्षको बजेटमा सिद्धार्थ राजमार्गको सिद्धबाबा, टोखा–छहरे–गुर्जे भन्ज्याङ, खुर्कोट–चियाबारी, बीपीनगर–खुटिया–दिपायल खण्ड, थानकोट–चित्लाङ खण्ड र लामा बगर–उत्तरी सीमा सडकमा सुरुङ निर्माणको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण अगाडि बढाउने उल्लेख छ । यसबाहेक केही थप स्थानको सुरुङमार्ग निर्माणको प्रारम्भिक अध्ययन गर्ने भनी ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

उक्त बजेटले प्रारम्भिक अध्ययन गर्ने भनिए पनि यससम्बन्धी कामहरू भने हुन सकेको छैन । ‘नयाँ प्रविधीमा जाँदा ढिलो हुनु स्वाभाविक हो,’ सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले भने, ‘गरिरहेको काम भए चाँडै सुरु हुन्थ्यो, नयाँ भएकाले ढिला हुन गएको हो ।’ उनका अनुसार अहिले सबैतिरको प्रारम्भिक अध्ययन गर्ने तयारी भइरहेको छ ।

‘यो पैसाले सुरुङ निर्माण गर्ने हैन । त्यसका लागि एक छेउ पनि पुग्दैन,’ उनले भने, ‘प्रारम्भिक अध्ययन सकियो भने पनि उपलब्धि हुनेछ ।’ उनका अनुसार बुटवल–पाल्पा सडकको सिद्धबाबा खण्डमा सुरुङ निर्माणका लागि
‘डिटेल इन्जिनियरिङ’ प्रतिवेदन तयार भइसकेको छ । स्विस सरकारको सहयोगमा रिपोर्ट तयार पारी विभागमा बुझाइसकिएको छ ।

यो खण्डमा सुरुङ निर्माणको थप अध्ययनका लागि सरकारले सबैभन्दा बढी अर्थात् ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गपछि सरकारको प्राथमिकतामा सिद्धबाबा सुरुङमार्ग निर्माण रहेको देखिन्छ । ‘बुटबल–पाल्पा सडक खण्डको सिद्धबाबामा धेरै ठूलो धनजनको क्षति भएको छ,’ प्रवक्ता सापकोटाले भने, ‘त्यसैले अबको सुरुङमार्गको प्राथमिकतामा पनि यही खण्डमा हो ।’

प्राथमिकता भनिए पनि सरकारकाले बजेट विनियोजन गरेको पाँच महिना बिते पनि काम भने अघि बढेको छैन । ‘पहिला स्विसको रिपोर्ट हेर्छौं,’ उनले भने, ‘त्यसपछि के कसरी अगाडि बढ्ने भन्ने थाहा हुनेछ ।’ उनका अनुसार रिपोर्ट हेरिसकेपछि पूरै सुरुङमार्ग कसरी बनाउने भन्ने विषयबारे विज्ञ टोलीले अध्ययन गर्नेछ । नेपालमा सुरुङ निर्मााण्का लागि विज्ञ टोली छैनन् । विदेशबाटै ल्याएर अध्ययन गराउनुपर्ने विभागले जनायो । विज्ञ टोली ल्याउन सरकारले पहल गर्नुपर्ने हुन्छ । यो कार्य तुलनात्मक रूपमा महँगो पर्छ, समय पनि लाग्न सक्छ । ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग बन्दै छ, अन्यत्र निर्माण गरिने सुरुङका यो एउटा अनुभवको आयोजना हुनेछ,’ उनले भने ।

विभागका अनुसार टोखा–छहरे–गुर्जे भन्ज्याङ सुरुङमार्ग, कोटेश्वर–जडीबुटी खण्ड, बीपी लोकमार्गको खुर्कोट चियाबारी, बीपी नगर खुटिया–दिपायल, थानकोट–चित्लाङ, गोदावरी कुण्ड–काभ्रे मानेचौर जोड्ने सुरुङमार्गहरूको अध्ययनका लागि ४०/४० लाख रुपैयाँका दरले बजेट विनियोजन भएको छ । कुलेखानी–भीमफेदी खण्ड, पोखरा–बागलुङ सडक (हेम्जा–नयाँपुल) र दोलखा–लामाबगर सुरुङमार्ग निर्माणको अध्ययनका लागि ३०/३० लाख रुपैयाँका दरले बजेट विनियोजन भएको हो ।

कुनैपनि सुरुङमार्गको बजेट अहिलेसम्म खर्च नभएको विभागले जनाएको छ । नयाँ बानेश्वर अन्डर पास अध्ययनका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ । नाम नराखी सुरुङ मार्ग अध्ययनका लागि आवश्यकताअनुसार खर्च गर्ने गरी ५ करोड रुपैयाँ बजेट विनियोजन भएको उल्लेख छ। कान्तिपुर दैनिकबाट



प्रकाशित: २०७६ कार्तिक २३
November 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार