नेपाली समय: ०७:१६:०३ बिहान
वि.सं २०७६ मंसिर २१   शनिवार

सीमामा भारतको दादागिरी

दार्चुला - नेपाल–भारत सीमा समस्याको प्रमुख कारण पश्चिमी सीमा बिन्दु यकिन नहुनु नै हो। नेपालले आफ्ना प्रमाणका आधारमा गर्दै आएको दाबीलाई भारतले नमान्दा यो समस्यमा आएको हो।

सुगौली सन्धिअनुसार काली (महाकाली) नदी सीमा हो। भारतीय पक्षले पनि काली नदी नै सीमा हो भन्ने स्वीकार गरे पनि उसले अर्कै खोलालाई काली नदी मान्छ। भारतले ३० किलोमिटर पूर्व कृत्रिम नदी बनाएर त्यसलाई ‘काली’ भन्दै आएको छ। खास कालीलाई कुटियांगदी नामकरण गरी त्यहींबाट नेपालको सामरिक क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा उता परेको भारतले देखाएको छ। विवाद यहींबाट उठान भएको हो।

भारतले हडपेको कालापानी र लिपुलेकका विषयमा नेपालले आफ्नो दाबी गर्दै आए पनि लिम्पियाधुराको विषयमा सरकार मौन छ, त्यो क्षेत्रसमेत नेपालको भएको प्राचीन दस्तावेजहरुमा पाइन्छ। भारतले कुटियांगदी भन्दै आएको नदीलाई नयाँ नक्सामा काली लेखेको छ।

अतिक्रमित नेपाली भूमिमा पर्ने पाँचवटा गाउँका बासिन्दा अहिले भारतीय नागरिक बनिसकेका छन्। उनीहरुले भारतीय नागरिकता र आधारकार्ड मात्रै पाएका छैनन् राज्यका उच्च तहमा समेत त्यसक्षेत्रका बासिन्दाको उपस्थिति छ। भारत सरकारले प्रशासनिक, शैक्षिक र राजनीतिक स्तरमा त्यसक्षेत्रका बासिन्दालाई प्राथमिकता मात्रै दिएको छैन, आरक्षण पनि दिएको छ।

    भारतले हडपेको कालापानी र लिपुलेकका विषयमा नेपालले आफ्नो दाबी गर्दै आए पनि लिम्पियाधुराको विषयमा सरकार मौन छ, त्यो क्षेत्रसमेत नेपालको भएको प्राचीन दस्तावेजहरुमा पाइन्छ।

कहाँ हो नेपालको पश्चिमी सिमाना

नेपालको पश्चिमोत्तर सिमाना काली नदी नै भएको केही तथ्य फेला परेका छन्। नेपाल र इष्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धि र प्रत्यावर्तन सन्धिले काली नदी सिमा तोकेको छ।

नेपाल र चीनबीच भएको सन्धिको दफा १ को उपदफा १ मा चीनसँगको नेपालको पश्चिमी सीमारेखा काली नदी र तिंकर नदीको पानी ढलो सम्मिलित भएको स्थानबाट प्रारम्भ हुन्छ भनिएको छ। सो दफामा यो दक्षिणपूर्व कर्णाली (माचपु) नदीका सहायक नदी तथा तिंकर नदी र सेती नदीको पानी ढलो हँुदै लिपुधुरा हिमालको शृंखला र लिपुधुरा (तिंकर लिपु) भञ्ज्याङबाट गुजरी उराई (पेल्हिन) भञ्ज्याङतर्फ जान्छ भनिएको छ।

भारतमा शासन गरेको इष्ट इन्डिया कम्पनीद्वारा सन् १८२७ फेब्रुअरी १ मा प्रकाशित गडवाल कुमाउको नक्सामा प्रष्ट रुपमा काली (महाकाली) नदीको उद्गमस्थल लिम्पियाधुरा देखाइएको छ। बेलायतबाट सन् १८३० मा प्रकाशित भएको अर्काे नक्सा, १८४६ फेब्रुअरी १६ मा लन्डनबाटै प्रकाशित नक्सालगायत त्यसबेलाका सम्पूर्ण दस्तावेजहरुमा काली नदीको मुहान लिम्पियाधुरा भएको उल्लेख छ।

नेपाल–भारतको पश्चिमी सिमानाको सबैभन्दा उचो भाग समुद्री सहतबाट ६,१८० मिटर अग्लो भएको प्रष्ट उल्लेख गरिएको छ। जबकी हालको लिपुलेक भञ्ज्याङको उचाइ ५,०९८ मिटर छ भने लिम्पियाधुरासँगै जोडिएको पश्चिमतर्फको पहाडको उचाइ ६,१८० मिटर छ।

‘स्केच अफ कुमाउ’ मा १८१९ क्यापटन डब्लु एस वेबले राखेको नक्सामा लिम्पियाधुराबाट आउने नदीलाई काली नदी भनिएको छ। ‘इन्डो ब्रिटिश १८३४ डिआर आर बिजिएफएस’ ले तयार गरेको ‘स्टाइलस हेन्ड एटलस’ को रुपमा जर्मनीबाट प्रकाशित नक्सामा पनि लिम्पियाधुराबाट आउने नदीलाई काली नदी भनी देखाइएको छ।

सन् १८३७ मा जे बी टानिसबाट फारसी लिपि प्रयोग गरी प्रकाशित ‘एङलो एसियन म्याप’ मा पनि लिम्पियाधुराबाट आउने नदीलाई काली नदी भनी देखाइएको छ। सन् १८६० मा प्रत्यावर्तन सन्धि हुनुअगावै १८५६ मा ‘सर्भे अफ इन्डिया’ बाट प्रकाशित र अंग्रेजहरुले समेत आधिकारिक मानेको नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई काली नदी मानेको पाइन्छ। यसै नक्सालाई जंगबहादुर राणाको पालादेखि नेपालले आधिकारिक मान्दै आएको छ।

सन् १८६० पछिका नक्साहरुमा भने भारतले (१८७१) लिम्पियाधुराबाट आउने नदीलाई कुटियांगदी भन्दै लिपुखोलातर्फ काली नदी भनेर देखाउन थाल्यो। अन्ततः भारतले कालापानी भनिने तिल्सी न्युरांगमा सानो खोल्सीबाट आएको पानीमा पोखरी बनाई त्यहाँबाट बगेको तिरतिर पानीलाई काली नदीको मुहान देखाउँदै सो क्षेत्र कब्जा गरिहेको छ।

कालापानी सीमा विवाद घटनाक्रम

कालापानी, लिपुलेकको क्षेत्र ६२ वर्गकिलोमिटर छ भने लिम्पयाधुराको ३१० वर्गकिलोमिटर भारतकै कब्जामा छ। भारतले जारी गरेको नक्सा पछिल्लो ६ दशकदेखिको निरन्तरता रहेको खुल्न आएको छ। सन् १९६२ मा औपचारिक कालापानीमा भारतले आफ्नो सेना राखेको ५७ वर्ष बित्यो तर त्यसको चार वर्षअघि १९५९ मा नै भारतीय प्रहरीको सो क्षेत्रमा क्याम्प रहेको तत्कालील सांसद बहादुरसिंह ऐतवालले २०३१ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतको अधिवेशनमा बताएको रेकर्ड छ। भारत सरकारद्वारा हालै सार्वजनिक नयाँ नक्सामा उसले पहिलदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्नेे भूभागलाई भारतमा गाभिएको छ।

२०१८ सालमा भैरव सिसालले ब्यास क्षेत्रको जनगणना गर्न जाँदा कुटी ,नाभी र गुन्जीगाउँको जनगाणना गरेका थिए, जुन क्षेत्र हाल भारततिर पारिएको राप्रपा दार्चुलाका अध्यक्ष वीसिंह बडालले बताए। औपचारिक रुपमा २०१९ सालमा नेपाल–चीन सीमांकन गर्दा नेपाली सेनाका कर्णेल शम्भुशमशेर राणाले कालापानीमा पुग्दा भारतीय प्रहरी त्यहाँ रहेको पाएका थिए। उनले २०१९ सालमै तत्कालीन परराष्ट्रमन्त्री ऋषिकेश शाहले कालापानमिा भारतीय प्रहरी रहेको कुरा राजा महेन्द्रलाई जानकारी गराएका थिए। त्यसयताको दस वर्ष यो विषयमा खासै कुरा उठाइएन। २०३० सालमा परराष्ट्र र गृह मन्त्रालयले कालापानीमा भारतीय सैनिक भएनभएको जाँझबुझ गरी प्रतिवेदन पेस गर्न टोली गठन गरेका थिए।

२०३१ सालमा दार्चुलाबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित ऐतवालले कालापानीमा भारतीय सेनाको क्याम्प राखेर बसेको भनेर सरकारलाई औपचारिक अवगत गराएका थिए। त्यसैगरी २०३६ देखि २०३८ सालसम्म दार्चुलमा प्रमुख जिल्ला अधिकारी भई काम गरेका पूर्वसचिव डा. द्वारिकाप्रसाद ढुंगेलले लिम्पियाधुरा कालापानी क्षेत्रमा भारतीय सैनिकहरुको कब्जा रहेको रिपोर्टिङ सरकारलाई गरेका थिए। २०४५ सालमा नक्सा बनाउन गएका नेपाली अमिनलाई भारतीय सेनाले नक्सा बनाउन नदिई फिर्ता पठाएको थियो।

त्यसपछि सरकारले कर्णध्वज अधिकारकिो संयोजकत्वमा सीमा अनुगमन कार्यदल गठन गरेको थियो। त्यो कार्यदल केही बैठकमा मात्रै सीमित भयो। २०४९ साल पुस २१ गते मदन भण्डारी, निर्मल लामा, चित्रबहादुर केसी, विष्णुबहादुर मानन्धर, नारायणमान बिजुक्छे, माधव नेपाललगायत नेताले टनकपुर सन्धि सच्याउनुपर्ने र कालापानीबाट भारतीय सेना हट्नुपर्ने माग गरेपछि यसबारे पटकपटक कुरा उठ्दै आएको छ। २०५३ सालमा दार्चुलाबाट निर्वाचित सांसद प्रेमसिंह धामी (मृत्यु भइसकेका) ले महाकालीको मुहान लिम्पियाधुरा भएको दाबी गर्दै दार्चुला जिल्ला मालपोत कार्यालयमा भएका त्यससम्बन्धी प्रमाण संसद्मा पेस गरेपछि यसले राष्ट्रिय मुद्दाको रुप लियो। यसलाई नेपालीले भारतको ‘हेपाहा प्रवृत्ति र दादागिरी’ भन्दै नेपाली भूमिबाट ऊ फर्किनुपर्ने माग राख्दै आएका छन्।

कालापानीमा भारतीय सेनाको अखडा

भारतले आफ्नो राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई राख्ने कार्य अहिले भए पनि उसले त्यहाँ सैन्य अखडा जमाएको धेरै पहिलेदेखि हो। अतिक्रमित नेपाली भूमिमा भारतीय सेनाको सघन परिचालन छ। कालापानी क्षेत्रमा भारतले एसएसबी र आइटिबिपीको सुरक्षा दस्ता तैनाथ गरेको जानकारी यसअघि नै सार्वजनिक भएको थियो। दार्चुला सदरमुकाम खलंगासँग जोडिएको भारतको धारचुलामा स्थानीय बासिन्दाकै हाराहारीमा सैनिक संख्या छ। गोर्खा राइफल्स, कुमाउ स्काउट, आसाम राइफल्सका पल्टन धारचुलामा छन्।

भारत–तिब्बत सीमा पुलिस (आइटिबिपी) र सशस्त्र सिमा वल (एसएसवी)को पनि बाक्लो उपस्थिति छ। पिथौरागढबाट धारचुला हुँदै अतिक्रमित कालापानी क्षेत्रमा पर्ने गुञ्जीमा दैनिकजसो भारतीय सेनाको हेलिकोप्टर उडान हुन्छ। भारतीय सेनामा उच्च अधिकारीहरुले नियमित रुपमा हेलिकोप्टरमार्फत उक्त क्षेत्रको निरीक्षण गर्दै आएका छन्। नागरिक दैनिकबाट



प्रकाशित: २०७६ कार्तिक २३
November 9th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार