नेपाली समय: ०३:३३:०९ बिहान
वि.सं २०७६ मंसिर २२   आइतबार

प्रदेश नं ५ मा पूर्वाधार विकासलाई प्रभावकारी बनाउन विकास प्राधिकरण गठन गरिने

निर्माण सञ्चार, २६ कात्तिक, काठमाडौं । प्रदेश नं ५ मा प्रदेश विकास प्राधिकरण गठन गर्ने भएको छ । त्यहाँको सरकारले प्रदेशको समग्र पूर्वाधार विकासलाई प्रभावकारी बनाउन प्रदेश विकास प्राधिकरण गठन गर्ने भएको हो । 

प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रदेश पूर्वाधार विकास स्थापना तथा सञ्चालन आदेश, २०७६ लाई स्वीकृत दिएको छ।

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्रीको अध्यक्षतामा गठन हुने प्राधिकरणको सहअध्यक्षमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री, उपाध्यक्षमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री तथा सदस्यहरुमा प्रदेश सरकारका प्रमुख सचिवसहित विषयगत मन्त्रालयका सचिवसमेत रहने व्यवस्था गरिएको बताए।

यस्तै बैठकले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि अस्पतालसँगै जोडिएको इलाका वन कार्यालयको स्वामित्वमा रहेको जग्गा अस्पतालको स्वामित्वमा हस्तान्तरणका लागि सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिए।

 उनका अनुसार उक्त जग्गाको क्षेत्रफल आठ हजार ५०५ दशमलव २८ वर्ग मिटर छ ।बैठकले प्रदेश सरकारले सञ्चालन गर्ने बहुवर्षीय योजनाका लागि बहुवर्षीय योजना स्वीकृति तथा मापदण्ड, २०७६ समेत स्वीकृत गरेको छ ।

यस्तै स्थानीय तहले आफ्नो तहअन्तर्गत सञ्चालन हुने मनोरञ्जनका लागि मनोरञ्जन कर नियमावली, २०७६ समेत स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले बताए।

यो नियमावली स्वीकृतसँगै अब स्थानीय तहलाई मनोरञ्जन कर उठाउने बाटो खुला भएको छ ।    



प्रकाशित: २०७६ कार्तिक २६
November 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार