नेपाली समय: ०७:१८:०९ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर, लाइन पुग्न अझै दुई वर्ष लाग्ने

निर्माण सञ्चार, २८ कात्तिक, काठमाडौं । पछिल्लो समय देशैभर जलविद्युत आयोजनामा लगानी बढे पनि कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युतको राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन। कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा अझै राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले ती जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुग्न कम्तीमा दुई वर्षको अवधि लाग्ने जनाएको छ।

राष्ट्रिय प्रसारण लाइन नपुुगेको ती जिल्लामा लाइन विस्तारका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको प्राधिकरणका प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनीयर सुरेन्द्र अग्रहरीले बताए। उनका अनुसार ‘चालू आर्थिक वर्षमा जाजरकोट–डोल्पा, कालिकोट–जुम्ला र नाग्म–मुगु ३३ केभी प्रसारण लाइन विस्तार गर्ने तीब्र तयारी भइरहेको छ। 

उनले भने,‘कम्तीमा ती जिल्लाका सदरमुकामसम्म आगामी दुई वर्षभित्र लाइन विस्तार गर्ने लक्ष्य रहेको छ।’ भौगोलिक जटिलता र सडकको पहुँच नहुँदा विद्युत् सामग्रीको ढुवानीमा समस्या रहेको उनले बताए। 

कार्यालय प्रमुख अग्रहरीका अनुसार कर्णालीमा विद्युत् लाइन विस्तारसम्बन्धी १३ वटा आयोजना रहे पनि जाजरकोट–डोल्पा ३३ केभी प्रसारण लाइनमात्रै यस कार्यालयअन्तर्गत सञ्चालित रहेको छ। बाँकी आयोजना प्राधिकरणको पाँच नम्बर डिभिजन कार्यालय नेपालगञ्जले हस्तान्तरण गरेको छैन। प्राधिकरणको पाँच नम्बर कार्यालयले अबको एक महिनामै कर्णाली प्रदेश कार्यालयलाई आयोजना हस्तान्तरण गर्ने उनले बताए। 

त्यस्तै, विद्युत् लाइन विस्तारको ठेक्का पाएका कम्पनीको लापरवाहीका कारण कतिपय योजनामा तीव्र गतिले काम हुनसकेको छैन।३३ केभी लाइन विस्तारअन्तर्गत सुर्खेत–बाबियाचौर र दुल्लु–कालिकोट खण्डको काम एउटै ठेकेदारले लिएका छन्। यी दुई आयोजनाको जिम्मा पाएको त्रिपुरेश्वर जय दुर्गेश जेभी काठमाडौँले सुर्खेत–बाबियाचौर तथा दुल्लु–कालिकोटको विद्युत् पोल गाडे पनि बाँकी काम पूरा गरेको छैन।

हाल कर्णालीका ७७ हजार घरधुरी मात्र विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन्। केही जिल्लामा लघुजलविद्युत् आयोजनाबाट बिजुलीको उपयोग भइरहेको छ। कर्णालीमा विद्युत् विस्तारका लागि विसं २०७४ भदौ ११ गते सुर्खेतमा प्राधिकरणको क्षेत्रीय कार्यालय स्थापना भएको थियो। झण्डै दुई वर्षसम्म कर्मचारीविहीन रहेको यो कार्यालय हालै प्रादेशिक कार्यालयमा रुपान्तरण भएको हो।

 

 

000



प्रकाशित: २०७६ कार्तिक २८
November 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार