नेपाली समय: ०६:२८:५७ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

चीनले खोल्यो मुखः ‘नेपालको अखण्डताको पक्षमा छौं, कालापानी विवादबारे वार्ताबाटै समाधान खोजियोस’

निर्माण सञ्चार, २९ कात्तिक, काठमाडौं । कालापानी विवाद चर्कदै गएपछि मित्रराष्ट्र चीनले पनि मुख खोलेको छ । चीनले नेपालको सार्वभौमिकता र अखण्डताको पक्षमा आफू रहँदै आएको स्पष्ट शब्दमा उल्लेख गर्दै वार्ताको माध्यमबाट कालापानीमाथिको विवाद समाधान गर्न सुझाएको छ ।

भारतले केही दिन अघि कालापानी क्षेत्र लगायत भूभाग आफ्नो नक्सा भित्र पार्दै नयाँ नक्सा सार्वजनिक गरेपछि विवाद चुुलिएको हो । 

उक्त विवाद समाधानका सम्बन्धमा नेपाल र भारतले आपसी परामर्श र वार्ताबाट टुंग्याउनुपर्ने चिनियाँ धारणा सार्वजनिक भएको हो ।

नेपालको कालापानी क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा हालेको छ । नेपालबाट उक्त घटनाको तीव्र विरोध भइरहेको छ ।

तर, केही समाचार माध्यमहरुले चीनले पनि नेपालको भूमि मिचिरहेको भनी गरेको आलोचना प्रति भने चीनले कडा प्रतिक्रिया दिएको छ । 

घटना अघि आएपछि पहिलो पटक चिनियाँ दूतावासका प्रवक्ता वाङ सिओयोलोङले बिहीबार प्रतिक्रिया दिएका हुन् । 

नेपालस्थित चिनियाँ दूतावासद्वारा बिहीबार साँझ जारी विज्ञप्तिमा नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा आफू उभिएको पनि उसले भनेको हो ।

भनिएको छ, ‘नेपाल र भारतले कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यमबाट सुल्झाउन सक्छन् भन्नेमा चिनियाँ पक्ष आशा गर्दछ ।’

उक्त प्रेस नोटमा थप भनिएको छ, ‘चिनियाँ पक्षले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सदैव सम्मान गर्दै आएको छ ।’

चीनले दियो वैधानिक आधार 

भारतले भूगोल मिचेबारे अन्तर्राष्ट्रिय मञ्चमै बहस लैजाने एकथरी र भारतसँग कूटनीतिक तहमा वार्ता गरी सुल्झाउनु पर्ने बहस नेपाल भित्र चलिरहेका बेला छिमेकी चीनले आफूसँग भएगरेका सीमा सम्झौता समेतले नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकताको पुष्टि गर्ने धारणा समेत अघि सारेको छ ।

चिनियाँ प्रवक्ताले नेपाल र चीनबीच सन् १९६१ मा सम्पन्न सीमा सम्झौताका आधारमा द्विदेशीय सीमा तय भएको र त्यसै आधारमा सीमांकन भएको समेत जानकारी दिएका हुन्। 

तर, चीनले पनि नेपालको सीमा मिचेको भन्नेबारे बोल्दै उनले लेखेका छन्, ‘केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनबाट नेपाली भूभाग अतिक्रमणमा परेको भनेर दाबी गरेको हामीले पाएका छौं । यो आरोप आधारहीन छ ।’ 

प्रवक्ताले यी आरोपहरू जनसाधारणलाई सत्य के हो, झूट के हो, थाहा हुन नसकोस् भनेर ध्यान अन्यत्र मोड्ने उद्देश्यतर्फ केन्द्रित रहेको समेत भनिएको छ ।

बितेका वर्षहरूमा नेपाल–चीनबीच सीमा तथा सुक्खा बन्दरगाहका विषयमा राम्रो सहकार्य जारी रहेको उल्लेख गर्दै प्रवक्ताले पठाएको प्रेस नोटमा गत महिना चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण क्रममा द्विदेशीय सीमा व्यवस्थापन प्रणालीबारे पनि हस्ताक्षर भएको स्मरण गरिएको छ ।

सीमा मामिलामा हुनसक्ने बाहिरी हस्तक्षेपप्रति चीन सचेत छ 

नेपालको सीमा मामिलामा हुन सक्ने बाहिरी हस्तक्षेप हटाउन नेपालसँग थप सहकार्य गर्न चीनले इच्छा राख्दै आएको छ,’ प्रवक्ता वाङले भनेका छन्, ‘साझेदारी विकासको अवधारणालाई चीन अघि बढाउन चाहन्छ ।’

वाङले नेपाल–चीन सम्बन्धलाई अवमूल्यन गर्ने कुनै प्रकारको प्रयत्न सफल हुन नसक्ने अठोट समेत व्यक्त गरेका छन् । 

चीनले यसबारे चाहिँ बोलेकन किन ?

तर, ३ वर्ष अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीन बीच भारत र चीनले कालापानी, लिपुलेक नाका हुँदै व्यापारिक मार्ग खोल्ने सम्झौता गरेका थिए । भारतको प्रस्तावमा भएको उक्त सम्झौताबारे भने चिनियाँ प्रवक्ताको प्रेस नोटमा केही बोलिएको छैन ।

उक्त सम्झौताको नेपालमा व्यापक विरोध भएको थियो । 

भारतले भने आफूहरुले पुरानै नक्सा सार्वजनिक गरेको भन्दै मिचिएको भूभागको बचाउ गर्दै यस अघि नै भनेको छ । भारतले पनि आफू वार्ता र संवादको पक्षमा रहेको बताएको छ ।

०००



प्रकाशित: २०७६ कार्तिक २९
November 15th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार