नेपाली समय: ११:२५:४५ राती
वि.सं २०७६ मंसिर १९   बिहीवार

फेरि मिर्गौला प्रत्यारोपण गर्ने भएपछि प्रचण्ड र पोखरेललाई कार्यकारी जिम्मेवारी सुम्पदै प्रधानमन्त्री ओली

निर्माण सञ्चार, २९ कात्तिक, काठमाडौं ।  पछिल्ला दिनहरुमा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य प्रति संवेदनशील भएको पाइएको छ । फेरि मिर्गौला प्रत्यारोपण गरी काममा सक्रिय हुन सकिने फिजिसियनहरुको सल्लाह पछि प्रधानमन्त्री ओली पार्टी तिरको केही कार्यकारी अधिकार प्रचण्डलाई र सरकार सञ्चालनको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई सुम्पने तयारीमा छन् ।

यसबारे आजको कान्तिपुर दैनिकले प्रधानमन्त्रीको सक्रियताबारेको समाचार छापेको छ । ‘बालुवाटारमा म्याराथन बैठक’ हेडलाइन दिइएको समाचारमा केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका र प्रमुख प्रतिपक्षी नेताहरुसँग गरेको छलफललाई श्रृंखलाबद्ध रुपमा प्रस्तुत गरिएको छ ।

गत शनिबार कालापानीबारे सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली करिब चार घण्टा व्यस्त भए । त्यसपछि आइतबार नेकपा सचिवालय बैठकमा करिब दुई घण्टा बिताए । 

मंगलबार नेता माधवकुमार नेपालसँग पनि चार घण्टा छलफल गरे । 

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग करिब दुई घण्टा छलफल गरे । 

बिहीबार पनि प्रचण्डसँग चार घण्टा र माधव नेपालसँग डेढ घण्टा लामो छलफल प्रधानमन्त्री ओलीले गरेको कान्तिपुरले लेखेको छ ।

बिहीबार साँझ प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेटेका थिए । 

त्यसलगत्तै प्रदीप ज्ञवाली र त्यसपछि सरकारका प्रवक्ता गोकुल बास्कोटा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए । 

समाचारमा लेखिएअनुसार प्रधानमन्त्री ओलीको यो छलफल सरकार र पार्टीको काम तथा आफ्नो स्वास्थ्यको विषयमा केन्द्रित छ ।

कान्तिपुर लेख्छ, ‘प्रधानमन्त्री ओलीले सरकारका काममा उपप्रधान तथा रक्षामन्त्री पोखरेल र पार्टीका काममा अर्का अध्यक्ष दाहाललाई थप केही भूमिका दिने तयारीमा छन् ।’

‘एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली मिर्गौला फेरि प्रत्यारोपण गर्ने मनस्थितिमा छन् । यस विषयमा छलफल चलिरहेको छ । प्रत्यारोपणका लागि विदेश जानुअघि नै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई चुस्त बनाउन चाहेको ती मन्त्रीले बताए ।’

०००



प्रकाशित: २०७६ कार्तिक २९
November 15th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार