नेपाली समय: ०१:३९:०९ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

प्रधानमन्त्री ओलीको सचिवालयमा व्यापक हेरफेरः को बाहिरिए, को आउने तयारी ?

निर्माण सञ्चार, २९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट ६ जना एकसाथ फेरीने तयारीमा छन्।

फेरीनेमा अधिकांश प्रेससँग सम्बन्धित टोली छ। प्रेस सल्लाहकार कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारी, फोटो पत्रकार कृष्ण पौडेल फेरीने तयारीमा छन्।

त्यस्तै जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, विकास विज्ञका रुपमा नियुक्ति लिएका घनश्याम भट्टराई, प्रधानमन्त्रीका सम्बोधनहरू तयार पार्ने (डिकोडर) उदय पोखरेल छन्।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित सचिवालयको आधा टिम यथावत रहने भएको छ । राजीनामा दिएकामध्ये ६ जनाको मात्र स्वीकृत भएपछि अन्यको जिम्मेवारी यथावत रहने भएको हो ।

सचिवालयकै जिम्मेवारीमा रहनेमा मुख्य सल्लाहकार रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, राजेश बज्राचार्य र सञ्चारविज्ञ रामशरण बजगाई छन् 

निर्वाचन क्षेत्र हेर्ने स्वकीय सचिव होम थापा, दिपेन्द्र दाहाल पनि साविक जिम्मेवारीमा रहने भएका छन् । त्यस्तै अवैतनिक सूचना प्रविधि सम्बन्धी विज्ञ असगर अली, महेन्द्र श्रेष्ठको पनि जिम्मेवारी यथावत रहेको स्रोतले जनाएको छ ।


यसैबीच प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापालाई ल्याउने तयारी भएको नेकपा स्रोतले जनाएको छ । नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख रहेका थापा यसअघि झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकार थिए ।

प्रधानमन्त्रीले सल्लाहकार नियुक्ति मन्त्रिपरिषद बैठकबाट गर्ने बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा भने नेकपा नेता तथा पूर्वसांसद दीपक कार्कीलाई ल्याइने सम्भावना छ । 



प्रकाशित: २०७६ कार्तिक २९
November 15th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार