नेपाली समय: ११:०४:५४ राती
वि.सं २०७६ मंसिर १९   बिहीवार

सहकारीहरुलाई पनि अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन मन्त्री विष्टको आह्वान

निर्माण सञ्चार, २९ कात्तिक, काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सम्पूर्ण सहकारी संघ संस्थाहरु एवम् संगठित संस्थाहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आह्वान गरेका छन् ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको राष्ट्रिय सहकारी बैंक, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको समन्वयमा काठमाडौंमा सम्पन्न योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन विषयक अभिमुखीकरण एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले सरकारले जनताको भविष्यमा पर्नसक्ने जोखिमपूर्ण अवस्थाको समाधान खोज्ने उद्देश्यसहित योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न गइरहेको हुँदा सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई अनिवार्य रुपमा कोषमा सूचिकृत हुन आव्हान गरेका हुन्। 

उनलेले सामाजिक सुरक्षा योजना तपाईंहरुको योगदानमा आधारित सुरक्षा योजना हो तर आजको सानो योगदानबाट भोली आम जनताको जीवनलाई सुरक्षित बनाउने महत्वपूर्ण आधार यस योजनाभित्र रहेको बताए ।

 सहकारीकर्मीहरु एवम् अन्य व्यक्तिहरु गरी ३५० भन्दा बढीको सहभागितामा भएको उक्त कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष डी।बी। बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, साना किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा शिवराम कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


आयोजक मन्त्रालयका सचिव विनोद केसीको अध्यक्षतामा गरिएको  कार्यक्रममा   सामाजिक सुरक्षा योजना सम्बन्धी प्रस्तुतीकरण सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृत कपिलमणि ज्ञवालीले गरेका थिए ।


प्रस्तुतीकरण पश्चात सहभागीहरुमाझ बृहत अन्तरक्रिया एवम् सामाजिक सुरक्षा योजना सम्बन्धी छलफल समेत गराइएको थियो ।

०००



प्रकाशित: २०७६ कार्तिक ३०
November 16th 2019

सरस्वती चौलागाईं

सहकारी तथा बजार सम्बन्धित हुनुहुन्छ