नेपाली समय: ११:०४:४१ राती
वि.सं २०७६ मंसिर १९   बिहीवार

कालापानीबाट भारतीय सेना हटाई भूमि फिर्ता लिन्छौंः प्रधानमन्त्री ओली

निर्माण सञ्चार, ०१ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने बताएका छन् । नेपाली भूमिबाट भारतीय सेनालाई हटाई भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने प्रधानमन्त्री ओलीले बताए । 

नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह समेत गरे।

कतिपयले नक्सा सच्चाउन भनेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा सच्याउने मात्रै नभई अतिक्रमित भूमि फिर्ता ल्याउने बताए।

‘अहिलेको सरकार संवाद गर्न नसक्ने होइन। इतिहासले देखाइसकेको छ। सरकारले संवादको माध्यमबाट सीमा समस्या समाधान गर्छ। कतिपयले नक्सा सच्याउन भनेका छन् तर त्यो समाधान होइन,’ प्रधानमन्त्री ओलीले भने,‘भूमि फिर्ता लिने कुरा हो। नक्साको कुरा गर्दा त्यो त प्रेसमा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं।’

उनले नेपाली भूमिमा सेना राख्ने समेत पनि बताए। ‘हामी हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् भन्छौं र त्यहाँ हाम्रो सेना राख्छौं,’ प्रधानमन्त्रीले भने, ‘हामी विश्व शान्तिमा लागेका छौं। शान्ति सेनामा सेना पठाएर। अरुको रक्षा गर्न सक्नेले आफ्नो पनि सक्छ।’

केही समय अघि भारतले जारी गरेको राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेपछि नेपालमा भारतको विरोध भइरहेको छ।

 

 

000



प्रकाशित: २०७६ मंसिर १
November 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार