नेपाली समय: ०४:४४:०४ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

नेकपा सचिवालय बैठक : मन्त्रिपरिषद् पुनर्गठनको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा विगत लामो समयदेखि छलफल चलिरहेको छ ।

नेकपाका अध्यक्षद्वय ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलका साथै शीर्ष नेताका बीचमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा विगत केही दिनदेखि गम्भीर छलफलसमेत हुँदै आएको छ ।

प्रधानमन्त्री ओलीले नेताहरू वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतसँग समेत छलफल गरिसकेका छन् । पार्टी सचिवालय बैठकले लामो समयदेखि चर्चामा आएको मन्त्रिपरिषद् पुनर्गठन विषयमा प्रधानमन्त्रीलाई सैद्धान्तिक सहमति दिएपछि अब छिट्टै नै मन्त्रिपरिषद् पुनर्गठन हुने नेकपाका एक नेताले बताए ।

मन्त्रिपरिषद् पुनर्गठनको विषयमा सचिवालय बैठकमा छलफल भए पनि कुनकुन मन्त्री हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषय टुंगो लागि सकेको छैन । नेकपा स्रोतका अनुसार हटाउने मन्त्रीको नाम र नयाँ मन्त्रीको नाम सोमबार बिहानसम्ममा टुंगो लाग्नेछ । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँग सोमबार बिहान छलफल गरेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा स्रोतको दाबी छ । पुनर्गठन गर्नुअघि तत्कालीन एमाले र माओवादी केन्द्रबाट नयाँ मन्त्री हुनेको चयन शीर्ष नेताले नै गर्ने बताइएको छ ।

मन्त्रिमण्डल हेरफेर गरी सरकारको काम कारबाहीलाई जनताका माझमा अनुभूत हुने गरी गति दिन प्रधानमन्त्री ओली र दाहालबीच यसअघि पनि छलफल भएको थियो । मन्त्रिपरिषद् पुनर्गठन हुने निश्चित भएपछि मन्त्री बन्नेहरू लबिङ सुरु गरेका छन् । यस्तै, मन्त्री पदबाट नहटाउनका लागि हालका मन्त्रीहरूसमेत भित्रभित्रै दबाब दिन सुरु गरेका छन् ।
मन्त्रिपरिषद् हेरफेरमा पुराना र नयाँ दुवैलाई मिलाएर लैजाने वा सबै नयाँ बनाउने भन्ने विकल्पमा समेत छलफल भइरहेको छ । नेकपाबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, डा. शिवमाया तुम्बाहाम्फे, पम्पा भुसाल, देवेन्द्र पौडेल, प्रभु साह, अग्नि सापकोटा, जनार्दन शर्मा, महेश बस्नेत, रेखा शर्मा, विशाल भट्टराईलगायतको मन्त्री बन्ने चर्चा पार्टीभित्र रहेको छ ।

प्रवास समन्वय कमिटीको नेतृत्व टुुंगियो

यसैबीच सचिवालय बैठकले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लगाएको छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले प्रवास कमिटीको इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।
बैठकले इन्चार्जको जिम्मेवारी विन्दा पाण्डेलाई दिएको छ भने सह इन्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिएको छ । यस्तै, अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साहलाई चयन गरेको छ । राजधानी दैनिकबाट



प्रकाशित: २०७६ मंसिर २
November 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार