नेपाली समय: ०४:१६:३४ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

कन्ट्रयाक्टर विरुद्ध जनता नै सडकमाः नगरकोटबाट सल्केको आगो चरिकोटदेखि विराटनगरसम्म फैलियो, कसरी ?

निर्माण सञ्चार, ३ मंसिर, काठमाडौं । सडक बनाउने जिम्मा लिएका तर वर्षौंै लापत्ता भएका निर्माण व्यवसायीहरुलाई जनता नै सडकमा निस्किएर ‘बहिष्कार’ गर्ने अभियान सुरु भएको देखिएको छ ।

यदि जनताको यस खाले विरोध शैली देशव्यापी बन्दै गयो भने निर्माण व्यवसायी भन्ने बित्तिकै ‘समाजबाटै बहिष्कार गरौं’ भन्ने आन्दोलन नउठ्ला पनि भन्न सकिन्न ।

  • नगरकोट पछि चरीकोट हुँदै विराटनगरमा सांकेतिक ‘बहिष्कार’ 

यदि त्यस्तो दिन आयो भने के होला त अवस्था ?!

जे भएपनि, सडक, बाटो, पुलपुलेसाहरु जिम्मा लिएर नबनाउने निर्माण व्यवसायीहरुलाई अब स्थानीय तहमै जनताहरुले फरक तरिकाले अपमान गर्न थालेका छन् । यो राम्र्रो संकेत होइन ।

यस्ता घटना प्रति निर्माण व्यवसायीहरु कति गम्भीर छन् भन्ने यतिबेला प्रश्न उठेको छ । 

नगरकोट पछि चरीकोट हुँदै विराटनगरमा सांकेतिक ‘बहिष्कार’ 

केही दिन अघि (कात्तिक चौथा हप्तातिर) नगरकोटमा स्थानीयले बाटो जिम्मा लिएर नबनाएको भन्दै निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको फोटो सार्वजनिक यातायात र सार्वजनिक बाटो, रुखविरुवामा समेत फोटो टाँसेर विरोध जनाए ।

भक्तपुरको कमलविनायक भत्केपाटीदेखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर सडक खण्डको विस्तारको जिम्मा लिएको झन्डै आधा दर्जन वर्ष बतिसक्न लाग्दा समेत निर्माण कार्य नभएपछि स्थानीयले स्वतस्फूर्त यसखाले विरोध गरेका थिए ।

सडक नबनाएको भन्दै स्थानीयले अधिकारीको फोटो पोल र सवारी साधनमा टाँसेर विरोध गरेका थिए । 

काम गरेझै देखाउने तर, नसक्ने रोग अधिकारीको पहिलेदेखिकै हो । आर्थिक वर्ष २०७२–०७३ मै सकिनु पर्ने उक्त सडक विस्तार कार्य ०७६ सम्म पनि सकिएको छैन । जसले गर्दा पर्यटकीय गन्तव्य नगरकोटका सडकहरु धुले र हिले बन्न पुगेका छन् ।

सडकको पोलपोलमा उनलाई जनावरको हैसियतमा राखेर स्थानीयले विरोध गरे । पोलमा माथितिर कुकुर र तलतिर निर्माण व्यवसायी अधिकारीको फोटो टाँस्ने काम भयो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष प्रविण गुरुङको नेतृत्वमा यस्तो काम भएको थियो । गुरुङका अनुसार निर्माण व्यवसायीले समयमै सडक बनाउन भनी दबाब दिन यस्तो शैली अपनाइएको थियो ।

नगरकोटको शैली फैलदो

नगरकोटबाट सुरु भएको यो शैलीको विरोधले यतिबेला देशव्यापी रुप लिन थालेको छ । सडक नबनाएको भन्दै चरिकोटमा पनि मानव साङ्लो बनाएर बनाएर स्थानीयले विरोध गरे ।

यस्तै घटना विराटनगरमा पनि प्रकट भयो । तर यहाँ चाहिँ निर्माण व्यवसायीको नभई आफ्नै नगर प्रमुख (मेयरको) बदनमा गरे ।

मंगलबार मोरङको विराटनगरमा महानगर प्रमुख भीम पराजुलीमाथि नै निशाना साँधेका थिए ।


स्थानीयवासीले सडक छेउ, पोलपोल र भित्तामा  आफनै मेयर पराजुलीको फोटो टाँस्ने काम गरे ।

दोलखा चरिकोटका आजित स्थानीयले बाटो नबनाउने निर्माण व्यवसायीको फोटो बस र बिजुलीका पोलमा टाँसेर विरोध गरेका थिए ।

महानगरपालिकाले सडक निर्माणमा चासो नदेखाएको भन्दै विराटनगर–६ का स्थानीयले मेयर पराजुलीको पोटो सडकको पोलमा टाँगेका छन्।

कोसी राजमार्गबाट शिवमन्दिर चोक हुँदै पश्चिमतर्फ जाने बाटो निर्माण नभएपछि स्थानीयले मेयरको फोटो राखेर विरोध जनाएका हुन्।

विराटनगर महानगरपालिकाभित्र ढल तथा नाला निर्माण गर्ने गरी क्षेत्रीय सहरी विकास परियोजना सञ्चालित छ। 

परियोजनाको काम समयमा नै सम्पन्न नहुँदा नगरबासीले समस्या भोग्दै आएका छन्।


...
चरिकोटवासीले मंगलबार नै निर्माण व्यवसायीलाई दबाब दिन यस्तो बुद्धि अपनाएको बताए ।

असारमै कालोपत्रे गरिसक्नुपर्ने सडक निर्माणमा कार्य ढिलाइ गरेपछि दोलखाको चरिकोटमा स्थानीय वासिन्दाले मानव साङ्लो बनाएर विरोध गरे । 

यहाँको सडक निर्माणको जिम्मा लिएको  शंकरमाली निर्माण सेवाका प्रमुख दीपक सापकोटाको फोटो बस, चोक र पोलमा टाँसेर विरोध गरेका उनीहरूले मंगलबार मानव साङ्लो बनाएका हुन्।

सिन्धुपाल्चोक खाडीचौर– मुडे २५ किमी र मुडे–चरिकोट ३० किमी बेग्लाबेग्लै ठेक्का निकालेर सडक निर्माणको जिम्मेवारी दिए पनि सडक निर्माण अलपत्र छ।

म्याद, क्रेडिट लाइन र भूक्तानी नभएको भन्दै व्यवसायी आन्दोलित 

यता, आफूहरुको कुरा सुनुवाइ नभएको, म्याद थप र क्रेडिट लाइन जस्ता विषयमा सरकारले कुरा नसुनेको भन्दै निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ । उसले विरोधका कार्यक्रम तय गर्न भनी मंसिर ४ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना नै गरेको छ।

०००



प्रकाशित: २०७६ मंसिर ३
November 19th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार