नेपाली समय: १०:४२:२२ बिहान
वि.सं २०७६ माघ ११   शनिवार

नेपाल भ्रमण वर्षलाई सफल बनाउन पर्यटक सवारी चालकलाई प्रशिक्षण

निर्माण सञ्चार, १२ मंसिर, काठमाडौं ।  नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक सवारी चालकलाई प्रशिक्षण दिइएको छ । नेपाल पर्यटन बोर्डको सहयोग तथा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपको आयोजनामा आज पर्यटक सवारी चालक भाडाका सवारी चालक तथा रिक्सा चालकलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले पर्यटक सवारी चालकले पर्यटकसँग गर्ने व्यवहारमा थप सुधार ल्याउने उद्देश्यले चालकलाई प्रशिक्षण दिएको बताए । पर्यटक सवारी चालकको राम्रो व्यवहारले पर्यटकको सङ्ख्यामा वृद्धि हुने उनको भनाइ थियो ।

“सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ, पर्यटक सवारी चालकले पर्यटकलाई राम्रो व्यवहार गरेमा सोचेभन्दा धेरै पर्यटक आउन सक्छन्”, उनले भने । पर्यटकमैत्री चालक निर्माणका लागि प्रशिक्षण दिइएको उनको भनाइ थियो ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रहरी नायब निरीक्षक दिनेश थापाले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको पहिलो साक्षात्कार पर्यटक सवारी चालकसँग हुने भएकाले चालक सभ्य, मर्यादित र जिम्मेवार हुनुपर्ने बताए ।

सरकारले तोकेको मापदण्डविपरीत चल्ने पर्यटक सवारी साधनलाई कारवाही गरिने उनको भनाइ थियो । स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी एकाइले देशभरका २७ स्थानबाट पर्यटकलाई सुरक्षा र सेवा प्रदान गर्दै आइरहेको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन पर्यटन लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।



प्रकाशित: २०७६ मंसिर १२
November 28th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार