नेपाली समय: ०४:५०:१४ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

विद्युतीय बसको खरिद प्रक्रिया टुङ्गो लागेन

काठमाडौं- सरकारले साझा यातायातमार्फत खरिद गर्ने भनिएका विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन। बस खरिदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संस्थाको तीन अर्व रुपैयाँको शेयर खरिद गरेको पाँच महिना बित्दासमेत खरिद प्रक्रिया अन्योलमा छ।

सरकारले दिएको ‘स्पेसिफिकेशन’ (कस्तो बस खरिद गर्ने भन्ने विवरण) र साझाले बस खरिदका लागि गरेको तयारीमा फरक देखिएको भनी दसैं पहिले खरिद प्रक्रिया अघि नबढाउन साझालाई निर्देशन दिएको थियो। त्यसपछि मन्त्रालय र संस्थाबीच दुईपटक बैठक भए पनि टुङ्गो लाग्न नसकेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताए।

उनका अनुसार बस खरिद साझामार्फत नै गरिने भए पनि कुन रूपमा गर्ने भनी टुङ्गो लाग्न नसकेको हो। उनले भने, 'आगामी बैठकबाट बाँकी विषय टुङ्ग्यगाएर बस खरिद प्रक्रिया अघि बढाइनेछ।'

काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा ठूला बस सञ्चालन गर्दै आएको साझाले नेपाल सरकार मात्रै नभएर प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा विद्युतीय बस खरिद गर्ने र सञ्चालन गर्ने योजना बनाएको थियो।

विद्युतीय बस खरिदका लागि प्रदेश नं ३ ले ३० करोड रुपैयाँ, काठमाडौँ महानगरपालिकाले १० करोड रुपैयाँका शेयर खरिद गरेका थिए। ललितपुर महानगरपालिका र साझा आफैँले दुई करोड ५० लाख रुपैयाँँ लगानी गरेर विद्युतीय बस खरिद गर्ने बताइएको थियो। नागरिक दैनिकबाट



प्रकाशित: २०७६ मंसिर १३
November 29th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार