नेपाली समय: ०४:१५:२१ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

सडकमा मात्र हैन आकाशमा पनि ट्राफिक जामः धावन मार्गमा पटक पटक किन ठोकिन्छन् जहाज ?

निर्माण सञ्चार, १६ मंसिर, काठमाडौँ । काठमाडौं बाहिरका विमानस्थललाई आधार बनाएर अनुमति लिएका विमान कम्पनीले त्रिभुवन विमानस्थललाई नै केन्द्र बनाएर उडान गरिरहेका कारण अत्यधिक एअर ट्राफिक जाम हुने गरेको छ । 

विमान कम्पनीले जुन विमानस्थललाई आधार बनाएर अनुमति लिएको हो, त्यहीँलाई केन्द्र बनाएर उडान गर्नुपर्छ । त्यस्तै, रातको समयमा जहाज पार्किङ पनि त्यहीँ गर्नुपर्छ । तर, यो व्यवस्थालाई वायुसेवा कम्पनीहरूले बिलकुलै टेरेका छैनन् नै, नियामक संस्था नेपाल उड्डयन प्राधिकरण आफैँले काठमाडौं बाहिर बेस लिएका वायुसेवा कम्पनीलाई काठमाडौंको स्लट दिने गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७४ असोज १७ मा सबै वायुसेवा कम्पनीहरूलाई बेस भएकै स्थानमा पार्किङ गर्न निर्देशन दिएको थियो । काठमाडौं विमानस्थलको आन्तरिक पार्किङ अत्यन्त साँघुरो भएकाले व्यवस्थापन गर्न वायुसेवा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो । बेसको व्यवस्था नमान्ने वायुसेवा कम्पनीलाई उडान अनुमति नै नदिने प्राधिकरणले चेतावनी दिएको थियो । 

तर, कुनै पनि वायुसेवा कम्पनीले उक्त निर्देशन नमानेको त्रिभुवन विमानस्थलका एक अधिकारीले बताए । अटेर गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने प्राधिकरणले उल्टै स्लट दिएर आफ्नै निर्देशनको खिल्ली उडाएको छ ।

 ४८ जहाजलाई काठमाडौंको बेस
नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ जहाज तथा हेलिकोप्टरलाई काठमाडौंको बेस दिएको छ । प्राधिकरणका अनुसार एयर डायनेस्टी, अल्टिच्युट एयर, समिट हेलिकोप्टर, हेली एभरेस्ट, मनाङ एयर, प्रभु हेलिकोप्टर, सिम्रिक एयर, कैलाश हेलिकोप्टर, माउन्टेन हेलिकोप्टरले दुई–दुई युनिट काठमाडौं बेस पाएका छन् । तारा एयरका ६ वटा, यती एयरलाइन्सका ८ वटा, समिट एयर र हिमालयन एयरलाइन्सका ३ वटा, श्री एयरको एउटा, बुद्ध एयरका ९ वटा युनिटलाई काठमाडौं बेस दिएको छ ।

 काठमाडौंबाहिर यी जहाजको बेस
प्राधिकरणले काठमाडाैंको जाम हटाउन र ग्रामीण भेगमा पनि सेवा दिन भन्दै काठमाडाैं बाहिर पनि बेस दिएको छ । करिब १० वटा युनिटलाई पोखराको बेस दिइएको छ । बुद्ध एयर र प्रभु हेलिकोप्टर एक–एकवटा, एयर डायेनेस्टी, तारा र यतीको २–२ युनिटलाई पोखरा बेस दिइएको छ । 

त्यस्तै बुद्ध, समिट, तारा, श्री एयरलाइन्स र सीता एयरलाइन्सका १–१ युनिटलाई नेपालगन्जको स्लट दिइएको छ । बुद्धको एक–एक युनिटलाई विराटनगर र भैरहवाको बेस दिइएको छ । पर्यटन मन्त्रालयबाट ८७ वायुसेवा कम्पनीले उडान अनुमति प्राप्त गरेका छन्, जसमध्ये २० सञ्चालनमा छन् । १९ वटा एओसीले मान्यता पाएको छ भने एउटालाई निलम्बन गरिएको छ । ४२ वटाको एओसी रद्द भएको छ । ९ वटा हेलिकोप्टर सञ्चालक कम्पनी छन् भने १० वटा फिक्स्ड विंग छन् ।

 नेपालमा भएको एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे पनि एउटा मात्रै छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि सोही रनवे प्रयोग हुन्छ । विमानस्थलमा पार्किङको पनि पर्याप्त सुविधा नभएका कारण वायुसेवा कम्पनीहरूलाई बाहिरको बेस दिएर मात्रै दर्ता अनुमति दिने व्यवस्था छ । बेस लिएका विमानस्थलमै राति पार्किङ गर्नुपर्छ । तर, सबै जहाज राति काठमाडौं नै आइपुग्छन् । सोहीकारण काठमाडौंको चाप घट्न सकेको छैन ।
 
 टावरले नै देख्दैन, आन्तरिक जहाजको लोकेसन
अन्तर्राष्ट्रिय नियमअनुसार ग्राउन्ड कन्ट्रोलरले प्रत्येक जहाजको अवस्थिति आँखाले नै देख्नुपर्छ । त्रिभुवन विमानस्थलको आन्तरिकतर्फ राखिएको जहाजको लोकेसन ग्राउन्ड कन्ट्रोलरले देख्न मुस्किल पर्छ । यसले दुर्घटनाको जोखिम बढाएको विमानस्थलकै एक अधिकारीले बताए । उनका अनुसार ग्राउन्ड कन्ट्रोलर र पार्किङ क्षेत्रबीच आन्तरिक भवन र आर्मी एप्रोन भएकाले सबै दृश्य 
देख्न सकिँदैन ।  

 नाफा कमाउन काठमाडौंमा नै थुप्रिन्छन् जहाज
व्यावसायिक दृष्टिकोणले बढी नाफा हुने क्षेत्रमा कम्पनीहरूले बेस गराउन खोज्छन् । काठमाडौंबाहिर यात्रुको अभाव हुने भएपछि कम्पनीहरूले काठमाडौंलाई नै पहिलो प्राथमिकता दिएका छन् । त्यसैले मन्त्रालयमा दर्ता हुँदा अन्य विमानस्थलको बेस लिए पनि कम्पनीहरूले राति काठमाडौंमा नै ल्याउने गरेको त्रिभुवन विमानस्थलका एक कर्मचारीले बताए ।

 नियम नमान्नेलाई कडाइ गर्न प्राधिकरणलाई निर्देशन दिएको छु
 योगेश भट्टराई,मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

वायुसेवा कम्पनीले जहाँको बेस लिएका हुन्, त्यतिबाट नै परिचालित गर्नुपर्छ । नियम पालना नगर्नेलाई कारबाही हुन्छ । यसमा थप कडाइ गर्न मैले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छु । यहाँ कसैको राजनीतिक प्रभाव चल्दैन । यहाँ सुरक्षा, सेवा र नियमले मात्रै काम गर्छ । 

 नेपालमा मात्रै होइन, बाहिर पनि जहाज ठोक्किन्छन्

 सुरेशमान सिंह, निमित्त महाप्रबन्धक, त्रिभुवन विमानस्थल
काठमाडौंबाहिर बेस दिनु व्यावहारिक छैन । बाहिरका विमानस्थलमा प्रविधि, इन्धनलगायतको सुविधा छैन । त्यसैले हामीले नियम लगाएपछि व्यावसायिक कम्पनीका लागि यो नियम त्यति व्यावहारिक छैन । पार्किङमा जहाज ठोक्किनु ठूलो कुरा होइन । ठूला–ठूला स्पेस भएका अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यस्ता खालका घटना घट्छन् । हाम्रो नेपालमा मात्रै होइन ।

 यो हाम्रो काम होइन, त्रिभुवन विमानस्थलको हो 
राजन पोखरेल,महानिर्देशक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिफारिसमा बेस लिएका विमानस्थलमा पार्किङ गर्न तथा गराउन निर्देशन दिएका हाैँ । त्यसैले यस विषयमा टिआइएले नै अनुगमन गर्नुपर्छ । हामी आफैँले सबै काम गरेर भ्याउँदैनाैँ । त्यसो गरेको छैन भने कारबाही हुन्छ ।

 अन्य कम्पनीले बाहिर बेस गरेका छैनन्, हामीले किन गर्ने ? 
 रूपेश जोशी, बजार निर्देशक, बुद्ध एयरलाइन्स

हामीले विराटगरमा पार्किङ गर्ने गरेका छौँ । पोखरामा आधार गर्ने गरी अनुमति भएको भए पनि हामीले बेस बनाएका छैनाैँ । अन्य वायुसेवा कम्पनीले एउटा पनि बेस बाहिर गरेका छैनन् भने हामीले मात्रै किन गर्ने ? अरूले पनि गर्नुपर्छ । यो प्राधिकरणको काम हो । प्राधिकरणकै कमजोरी हो ।

पटक–पटक एक–आपसमा ठोक्किन्छन् जहाज 
सबै जहाज काठमाडाैंमा मात्रै थुप्रिँदा  दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । पार्किङ गर्ने समयमा जहाज ठोक्किने, ग्राउन्ड राखिएका प्रविधिमा ठोक्किने गरेका छन् । कात्तिक २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा श्री एयरको सिआरजे ७०० जहाजले यती एयरको एटिआर ७२ जहाजलाई ठक्कर दियो । विराटनगरबाट आएको श्री एयरलाइन्सको जहाजले पार्किङमा रहेको यतीको जहाजलाई ठक्कर दिएको हो । त्यस्तै, २००९ मा मनाङ एयर र यती एयरलाइन्सको जहाज पनि पार्किङ गर्ने समयमा ठोक्किएर दुर्घटना भएको थियो । सन् २०१९ मा नै यती जहाजले ग्राउन्ड पार्कमा राखिएको जिपियूसँग ठोक्किएको थियो । सन् २०१९ को जुलाईमा बुद्ध एयरको बसलाई श्री एयरको जहाजले ठक्कर दिएको थियो ।

...

आजको नयाँ पत्रिका दैनिकले यो समाचार लेखेको छ ।

 

000



प्रकाशित: २०७६ मंसिर १६
December 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार