नेपाली समय: ०८:२८:०६ बिहान
वि.सं २०७७ साउन २१   बुधवार

३१ देशका राजदूतसँग पर्यटनमन्त्रीको छलफलः भ्रमण वर्ष सफल पार्न कस्तो भूमिका खेल्दै छन् राजदूतहरु ?

निर्माण सञ्चार, १८ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० सफल पार्न कूटनीतिक नियोगका अधिकारीहरुसँग आग्रह गरेका छन् ।

नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुलाई बुधबार मन्त्रालयमै डाकेको छलफलमा मन्त्री भट्टराईले यस्तो आग्रह गरेका हुन् ।

मन्त्रालयमै किन भेटघाट आयोजना गरियो भन्ने प्रस्ट्याउँदै मन्त्री भट्टराईले सरकारको विदेश सम्बन्धको आयाम अब पर्यटन कुटनीतिको कोणबाट पनि अघि बढ्ने बताए ।

मन्त्री भट्टराईले भने, ‘यो कार्यक्रम बाहिर होटल अथवा कुनै स्थानमा गर्न सकिन्थ्यो तर मन्त्रालयमै गर्दा सरकार—सरकारबीचको सम्बन्धलाई जोड्ने विश्वासको साथ मन्त्रालयमै गरिएको हो ।’ 

उक्त छलफल कार्यक्रम नेपाल भ्रमण वर्ष सचिवालयले आयोजना  गरेको थियो ।

भ्रमण वर्ष–२०२० सफल पार्नमा नेपालस्थित राजदूतहरुको भूमिका महत्वपूर्ण हुने भन्दै भट्टराईले भ्रमण वर्षको बारेमा विश्वभरी सुचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे ।

‘न्यु इअर र क्रिसमस नेपामै मनाउनुस्’

नजिकिदै गरेको अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसबारे बोल्दै मन्त्री भट्टराईले विदेशी राजदूतलाई अंग्रेजी नयाँ वर्ष र क्रिसमस बिदा नेपालमै मनाउन समेत आग्रह गरे ।

नेपाल भ्रमण वर्ष–२०२० बारे दौत्य सब्बन्ध स्थापित भइसकेका र अन्य मुलुकमा समेत प्रचार प्रसार हुन सकोस् भन्ने प्रस्ट सन्देश मन्त्री भट्टराईले दिएका थिए ।

उनले भने, ‘यो वर्षको नयाँ वर्ष—२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईको देशको नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस् ।’
मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरुलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिको लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिएका छन् । उक्त समारोहमा पर्यटनमन्त्रीहरुलाई उपस्थित गराइदिनका लागि पहलकदमी गर्न समेत अनुरोध गरेका छन् ।

भूकम्पका बेला गरेको सहयोग प्रति कृतज्ञता

मन्त्री भट्टराईले नेपाल २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट बिस्तारै उठिरहेको उल्लेख गर्दै भने, ‘महाभुकम्पको पीडाबाट उठ्न गर्नु भएको सहयोगप्रति फेरि एक पटक आभार प्रकट गर्दछौं । अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँहरुको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौं ।’

मन्त्री भट्टराईले महाभुकम्पबाट भत्किएका भएको नेपालका ८९१ सम्पदा मध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी दिएका छन् ।

बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाहरुको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको भन्दै साथ र सहयोगको आह्वान गरेका छन् । 

मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कुल गर्हस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको जानकारी दिँदै १५ औं पञ्चबर्षिय योजना सम्पन्न हँुदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको जानकारी दिए । 

मन्त्री भट्टराईले अहिल विदेशी पर्यटकहरुले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको उल्लेख गर्दै अब ८० डलर खर्च गराउने र बार्षिक ३५ लाख पर्यटक नेपालमा भित्राउने लक्ष्य राखिएको बताए ।

पर्यटनका लागि पूर्वाधार निर्माणमा समेत जोड दिएका मन्त्री भट्टराईले आगामी २०२० मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रारिम्भक काम सकिएकै अवस्थामा मन्त्री भट्टराईले विमानस्थल निर्माणबारे लगानीको मोडल केकस्तो हुने भन्नेबारे लगानी बोर्डले काम गरिरहेको जानकारी दिए ।

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने समेत उनले बताए ।
उनले भने, ‘तपाईहरु मार्फत म यो जानकारी तपाईहरुको देशका वायु सेवा कम्पनीलाई गराउन चहान्छु ।’

मन्त्री भट्टराईले नेपालको हवाई सुरक्षाको बिषयमा युरोपियन युनियन लगायतले राखेको चासोप्रति गम्भीर रहेको भन्दै अन्तराष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पुरा गर्न सरकार सक्रिय रहेका बताए । 

मन्त्री भट्टराईले नेपालमा ५३ वटा आन्तरिक विमानस्थल रहेको जानकारी दिँदै आगमी १० वर्ष भित्रमा सबै आन्तरिक विमानस्थललाई अन्तराष्ट्रिय मापदण्ड अनुसारको बनाइने बताए ।

सहयोगका लागि तयार छौं ः राजदुतहरु 

कार्यक्रममा सहभागी राजदुतहरुले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटकहरुमा चीन दोस्रो रहेको बताउँदै नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिबद्धता जनाइन् । 

उनले भनिन्, ‘नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउनका लागि प्रबद्र्धनका लागि हाम्रो साथ र सहयोग रहनेछ ।’
नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरु चिनियाँ कम्पनीहरुले निर्माण गरिरहेको भन्दै चिनियाँ कम्पनीहरुले गुणस्तरीय काम सहित समयमै निर्माण सम्पन्न गने दाबी समेत गरेकी छन् ।

नेपालका लागि अमेरिकी राजदुत र्याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामाग्री उपलब्ध गराए ती सामाग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, अष्ट्रेलियाका राजदुत पिटर ग्रेम बड, जर्मनीका राजदुत रोलाण्ड साफर, जापानका राजदुत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवसीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडी लगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाऊँबाट सक्दो सहयोग गर्ने बताए । 

 

तस्बिरस्रोतः पर्यटन मन्त्रालय

०००
 



प्रकाशित: २०७६ मंसिर १८
December 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार