नेपाली समय: १२:३१:४७ am
वि.सं २०७६ माघ ४   शनिवार

एक वर्षमा धरहराको मुख्य संरचना तयार हुन्छः सिईओ ज्ञवाली

निर्माण सञ्चार, मंसिर १९, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण तिव्र रुपमा भइरहेको जानकारी दिँदै आगामी एक वर्षमा मुख्य संरचना पुनर्निर्माण हुने बताए।

‘धरहराको पुनर्निर्माण स्पष्ट कार्ययोजना र समय तोकेर गरिरहेका छौं,’ उनले भने, ‘समितिलाई स्पष्ट रुपमा भन्न चाहन्छौं । धरहरा पुनर्निर्माण समयमा नै गर्नेछौं ।’

बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा बन्नेमा आंशका व्यक्त गरे। उनले भने, ‘धरहरा निर्माण गर्ने कम्पन्नी क्षतिपूर्ति लिने दाउमा छ । अहिलेको तालले १० वर्षमा पनि बन्दैन । धरहरा बन्दै बन्दैन । मेरो आपत्ति छ।’

श्रेष्ठले धरहरा पुनर्निर्माण समयमा होस् भनेर आफूले आशंका व्यक्त गरेको भन्दै सांसद श्रेष्ठले धरहरा पुनर्निर्माणलाई समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

‘केहीले धरहरा पुनर्निर्माणको विरोध गरेका छन, उनले भने, ‘धरहरा पुनर्निर्माणका लागि जनस्तरबाट पूर्ण सहयोग छ। जनताका कारण एक दिन पनि नरोकिने’ उनले बताए।   

निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले एक वर्षदेखि धरहराको पुनर्निर्माण गर्दै आएको छ । प्राधिकरणले धरहराको मुख्य संरचना आगामी एक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको छ ।

समिति सभापति शशी श्रेष्ठले समितिमा पेश गरेको समयअनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्ने पुनर्निर्माण प्राधिकरणबाट प्रतिबद्धता आउनु सह्रानीय भन्दै कार्य रुपमा परिणत गर्न निर्देशन दिए ।

उनले धरहरा पुनर्निर्माणलाई सम्पन्न गर्न अनुगमनलाई प्रभावकारी पार्न अनुरोध गर्दै समितिले पनि तीन–तीन महिनामा अनुगमन गर्नुपर्नेमा जोड दिए।

अहिलेसम्म धरहराको तीन तलाको ढलान भइसकेको छ ।

बैठकमा सांसदहरु दिलेन्द्रप्रसाद बडु, नवराज सिलवाल, झपट रावल लगायतले पुनर्निर्माण सन्तोषजनक रुपमा बढेको बताए । पुनर्निर्माणमा भएको प्रगतिले आशा बढाएको पनि धारणा  राखे।    

‘सुरुमा व्यवस्थापकीय समस्या देखिएको थियो’ उनले भने, ‘पछिल्लो समयमा पुनर्निर्माणले गति लिएको छ । यो सन्तोषजनक छ ।’  

यतिबेला रानीपोखरीको पिँधमा कालोमाटो राखेर इट्टा बिच्छाउने काम भइरहेको छ भने बालगोपालेश्वरको मन्दिर प्रताप मल्लकालीन शैलीमा काम भइरहेको छ ।

बैठकमा सांसदहरुले एकीकृत बस्ती, भूकम्प पीडितलाई उपलब्ध गराइने सहुलियतपूर्ण ऋण, सुकुम्बासी तथा भूमिहीनको व्यवस्थापन, शहरी पुनर्निर्माण, पुनर्निर्माण भएका घर भूकम्प प्रतिरोधी भए र नभएको, जीविकोपार्जन, प्राविधिकहरुको परिचालन लगायतका विषयमा चासो व्यक्त गरेका हुन् ।

बैठकमा सांसद अमरेश कुमार सिंह, प्रेम सुवाल, रेखा शर्मा, यशोधा सुवेदी, मिना पाण्डे लगायतले पुनर्निर्माण सम्बन्धी जिज्ञासा राखेका थिए ।


०००
 



प्रकाशित: २०७६ मंसिर १९
December 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार